१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
प्रधानमन्त्री प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार भएको द्विपक्षीय वार्ता । तस्बिर : रासस
२o८१ बैशाख २२ शनिबार o६:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल–कतार सहकार्यको नयाँ अध्याय 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:३o:oo

प्रधानमन्त्री प्रचण्ड र कतारका राजा थानीबीच दुईपटक एक्लाएक्लै वार्ता, औपचारिक वार्तामा लगानीका क्षेत्र पहिचान र सहकार्यबारे अध्ययन गर्न संयुक्त टोली गठन गर्ने सहमति

मध्यपूर्वको प्रभावशाली र धनी मुलुक कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानीको भ्रमणमा भएका उच्चस्तरीय भेटवार्ता र सम्झौताले नेपाल–कतारबीच सहकार्यको नयाँ अध्याय सुरु भएको छ । श्रमबाट अन्य क्षेत्रमा पनि सहकार्य विस्तारका लागि ढोका खुलेको छ । 

भ्रमणका क्रममा द्विपक्षीय हितका सात नयाँ सम्झौता र एक सम्झौता नवीकरण भएका छन् । विज्ञहरूले कतारी राजाको भ्रमणका उपलब्धि उपयोग गर्नमा नेपालले शिथिलता देखाउन नहुने बताएका छन् ।

नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइमा राजा थानीले लगानी तथा आर्थिक सहकार्यको क्षेत्र विस्तारमा कतार तयार रहेको बताएका छन् । लगानी र सहकार्यको सम्भाव्यता अध्ययनका लागि उनले संयुक्त टिम निर्माणको प्रस्ताव नै गरेका छन् । औपचारिक वार्तामा आएको यो प्रस्तावलाई प्रधानमन्त्रीले स्वागत गर्दै सहमति जनाएका थिए ।

‘नेपालमा लगानी र सहकार्यका विषयहरूमा अघि बढ्न कतारका राजाले संयुक्त टिम निर्माणको प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्रीले यो प्रस्तावलाई हार्दिक रूपमा लिनुभएको छ र सहमति जनाउनुभएको छ,’ वार्तामा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले नयाँ पत्रिकासँग भने, ‘कतारसँग सम्बन्धको नयाँ ढोका खुलेको छ ।’ 

प्रधानमन्त्री प्रचण्ड र कतारका राजा थानीबीच मंगलबार र बुधबार दुईपटक एक्लाएक्लै वार्ता भएको छ । उनी मंगलबार अपराह्न काठमाडौं ओर्लिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डले अनिर्धारित छलफल गरेका थिए । जसले, राजा थानीलाई शीतलनिवास र बुधबार प्रधानमन्त्रीसँग औपचारिक वार्ताका लागि आधार तयार गरेको थियो । 

प्रधानमन्त्री प्रचण्डले बुधबार औपचारिक वार्ताअघि पनि राजा थानीसँग एक्लै छलफल गरेका थिए । सल्लाहकार डा. सापकोटाले एक्लाएक्लै भेटवार्तामा प्रधानमन्त्रीले नेपालका ठूला परियोजनामा लगानीलगायतका विषयमा छलफल गरेको आफूले बुझेको बताए । नेपालमा लगानीका लागि वातावरण बनेको र सरकारले लगानी सम्मेलनमार्फत पहलकदमी पनि लिएको भन्दै प्रधानमन्त्री प्रचण्डले कृषि, शिक्षा, भौतिक पूर्वाधार, ऊर्जाका क्षेत्रमा नेपालले कतारको लगानी चाहेको बताएका थिए । 

कतारी राजाले त्यसका लागि कतार सकारात्मक रहेको बताए । उनले दुई देशबीच हवाई कनेक्टिभिटी बढाउनेलगायत लगानी र सहकार्यमा अघि बढ्न सकारात्मक रहेको पनि सुनाए । लगानीको सम्भाव्यता पहिचान गर्न र थप छलफल गर्न राजाले टिम बनाउने प्रस्ताव गरेको र प्रधानमन्त्री प्रचण्ड सहमत भएको उनका सल्लाहकार डा. सापकोटाले बताए । 

प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करिब चार लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्वपूर्ण सूत्र भएको बताए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरू पठाउन नेपालमा व्यावसायिक तालिम र सीप विकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरेका थिए । ‘दुई देशबीचको श्रम सहकार्यबाट नेपाल र कतारको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । नयाँ सापेक्षतामा श्रम सहकार्य सुदृढ गरौँ,’ कतारी राजाको भनाइ थियो, ‘नेपाली श्रमिकहरूको सीप अभिवृद्धिका लागि कतार सरकार सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री प्रचण्डले विश्वका युद्ध र द्वन्द्वहरूलाई शान्तिपूर्ण समाधानका लागि कतारले सहजीकरण र मध्यस्थता गरेको भन्दै प्रशंसा गरे । उनले हमास समूहको कब्जामा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको सकुशल स्वदेश फिर्ताका लागि उच्चस्तरीय प्रयास गर्न राजाको ध्यानाकर्षण गराए । कतारी राजाले जवाफ दिए, ‘यसबारेमा म जानकार छु, यसमा हामी प्रयासरत छौँ ।’ 

प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटकीय राजधानी पोखरा र बुद्ध जन्मभूमि लुम्बिनीमा पनि कतार एयरलाइन्सको उडान हुनुपर्ने बताएका थिए । जवाफमा राजाले समग्र सहकार्यका विषयमा संयुक्त टिम बनाएर गृहकार्य गर्न सुझाव दिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको बताएका थिए । नेपालबाट बोतलबन्द स्वच्छ पिउने पानी आपूर्ति हुन सक्ने सम्भावनाबारे पनि छलफल गरेका थिए । नेपाल र कतारबीच सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राजाको भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

आगामी साता हुने लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे । उनले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षाहरू पूरा गर्न सहयोगको अपेक्षा राखेको बताए । यसका लागि जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्थाहरू वा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रगशालाजस्ता ठूला पूर्वाधार परियोजनाहरूको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने पनि प्रधानमन्त्रीको विश्वास थियो । 

प्रधानमन्त्री र कतारका राजाबीच भेटपछि कतारसँग नेपालको सहकार्यको क्षेत्र विस्तार भएको परराष्ट्र सल्लाहकार सापकोटाले बताए । ‘नेपाल र कतारबीच सहकार्यका लागि नयाँ क्षितिज खुलेको छ । नेपालमा लगानीको वातावरण तयार छ,’ उनले भने, ‘सरकारको यो पहलकदमीले कतारबाट मात्र नभएर अरबबाट नेपालमा लगानी र सहकार्यका लागि ढोका खुलेको छ ।’

०६१ सालमा कतारसँग भएको श्रम सम्झौताका हस्ताक्षरकर्ता पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजाको नेपाल भ्रमण दीर्घकालीन रूपमा फलदायी भएको बताए । ‘कतारका राजाले दक्षिण एसियामा बंगलादेशसँगै नेपाललाई पहिलो भ्रमणका रूपमा रोज्नुको कूटनीतिक अर्थ र सामरिक मनसाय दीर्घकालीन महत्वको थियो,’ पाण्डेले भने, ‘प्रधानमन्त्री प्रचण्डसँग अमिरले गर्नुभएको अनिर्धारित र पूर्वनिर्धारित एकान्त छलफलले भ्रमण दीर्घकालीन रूपमा फलदायी भएको हुनुपर्छ । नेपालले मध्यपूर्वको ठूलो शक्ति तथा भूमण्डलीय शक्ति राजनीतिमा दबाब बढाउँदै लगेका राजाको भ्रमणका उपलब्धिलाई भविष्यमा उपयोग गर्नमा शिथिलता देखाउनुहुँदैन ।’

दक्षिण एसियाका बंगलादेश र नेपालको राजकीय भ्रमण सकेर कतारका राजा थानी बुधबार अपराह्न स्वदेश फर्केका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्डलगायत उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । राजाको सम्मानमा प्रधानमन्त्री प्रचण्डले दिवाभोज आयोजना गरेका थिए ।

नेपाल आएलगत्तै कतारी राजाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । उनले स्वदेश फर्किनुअघि सामाजिक सञ्जाल एक्समा न्यानो आतिथ्यका लागि नेपालप्रति प्रसन्नता व्यक्त गरेका छन् । दुई देशबीच आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई वाञ्छित स्तरमा पु¥याउने विभिन्न साझेदारहरूसँग सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको भन्दै उनले आतिथ्यका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । 

नेपाल–कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीचको आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्छन् । 
 

ad
ad