मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Wednesday, 05 February, 2025
२o८o चैत ३० शुक्रबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बागलुङको अध्यक्षमा हिरा केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १८:o७:oo

नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन्। दशौँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता गरेसँगै केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

यसअघि जिल्ला अध्यक्षका लागि पूर्वअध्यक्ष जनकराज पौडेल, सचिव विष्णु भुसालसँगै गौतम र केसीको चर्चा चले पनि उम्मेदवारी दर्ता गौतम र केसीले मात्रै गरेका थिए। अन्त्यमा गौतमले पनि दाबी छाडेका हुन्।

उपाध्यक्षमा विष्णु भुसालको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध चयन भएका निर्वाचन कमिटीले जनाएको छ। भुसाल यसअघि जिल्ला सचिव थिए। उपसचिवमा पनि सर्वसम्मत धनबहादुर परियार र करमती पुन चयन भएका छन्। उनीहरू दुईजनाको मात्रै उम्मेदवारी परेको थियो।

सचिवमा गणेश थापा, चन्द्र गणेश, कुमार खड्कालगायतको उम्मेदवारी परेको छ। जिल्ला नेतृत्वलाई सर्वसम्मत टुंग्याउने प्रयास भएको हुँदा सचिवमा पनि सर्वसम्मत गराउने प्रयास भइरहेको एमालेका एक जिल्ला नेताले जानकारी दिए।

सबै पदमा सर्वसम्मतको प्रयास भएको हुँदा निर्वाचन समितिले निर्वाचित हुनेको आधिकारिक रूपमा घोषणा भने गरिसकेको छैन।