
प्रदेश युवा परिषद्, बागमतीले युवाका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ। बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै रोक्ने उद्देश्यले परिषद्ले कक्षा सुरु गरेको हो।
परिषद्ले खरिदार पदको तयारीका लागि निःशुल्क डेढमहिने कक्षा सञ्चालन गरेको युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए।
युवाहरूमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मिहिनेती, प्रतिस्पर्धी र इमानदार युवाका रूपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सञ्चालन गरेको उनको भनाइ छ।
निःशुल्क तयारी कक्षाको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले समाज परिवर्तनका लागि युवाहरूको भूमिका महत्वपूर्ण भएको जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताइन्। हाम्रो देशमा केही भएन भन्नुभन्दा पनि हामीले देशका लागि केही गर्ने कोसिस गर्यौँ कि गरेनौँ भन्ने वेला आएको मन्त्री मोक्तानको भनाइ छ।
उनले देशका युवा सबै बिदेसिने मात्रै हो भने अरू देशका आएर हाम्रो समाज र देश परिवर्तन नहुने उल्लेख गर्दै यहीँका युवाहरूले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने दाबी गरिन्।
परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईंले लोकसेवा आयोगमा यस क्षेत्रका युवाहरूको पहुँच र सहभागिता निकै कम रहेकाले परिषद्ले लोकसेवामा यहाँका युवाहरूको सहभागिता वृद्धिका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताए।
तयारी कक्षामा द्वन्द्वपीडित, घाइते, दलित, जनजाति, अपांगता भएका ५० भन्दा बढी महिलाको सहभागिता रहेको पनि उपाध्यक्ष चौलागाईंले जानकारी दिए।