Skip This
२५ ट्रक जलजले पुगे, राजमार्गमा मोड नपुग्दा ठूला ट्रक सडकमै अलपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 26 July, 2024
२o८o चैत २० मंगलबार १६:५९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

२५ ट्रक जलजले पुगे, राजमार्गमा मोड नपुग्दा ठूला ट्रक सडकमै अलपत्र

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १६:५९:oo

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तीका सामानसहित हिँडेका २५ ट्रकहरू दैलेखको जलजले पुगेका छन्। 

४१ फिटसम्म लामा पाँचवटा ठूला ट्रकहरू भने कर्णाली राजमार्ग सडक खण्डमा मोड नपुगेका कारण तीन दिनदेखि बाटोमै अलपत्र अवस्थामा छन्। रोकिएका ट्रकहरू पास गर्न सडकको मोड व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ। क्रेन र ठूलो डोजरको सहायतामा अन्वेषणस्थल जलजले ल्याउने तयारी भएको छ। 

यसअघि नै डिजाइन गरेर सडक चौडा गर्न सडक विभागलाई भनिएको भए पनि सडक विभागका प्राविधिकहरूको लापरबाही र निर्माणको जिम्मा लिएका कम्पनीको लापरबाहीका कारण समस्या उत्पन्न भएकोले तत्कालै सडक विस्तार गरेर सामग्री ल्याउन प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले निर्देशन दिएका छन्।

शिक्षा समितिका सभापतिसमेत रहेका थापासहितको टोलीले स्थलगत रूपमा अन्वेषणस्थलको अनुगमनसमेत गरेको छ। 

एक लेनको सडक निर्माण गरेर राष्ट्रिय राजमार्ग घोषणा गरेको भन्दै राष्ट्रिय सभा सदस्य सावित्री मल्लले सरकारले हेपेकै कारण कर्णालीको समग्र विकास हुन नसकेको र सुर्खेतदेखि ७ वटा जिल्ला जोड्ने सडकहरूमध्ये कर्णाली राजमार्ग, दैलेख महाबु जुम्ला हुँदै नाग्चेनाग्ला जोड्ने सडकलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै राष्ट्रिय सभामा समेत महत्वका साथ यो विषय उठान गर्ने बताएकी छिन्। 

रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रकहरू दैलेखका लागि हिँडिसकेका छन्। आएका सामानहरू अनलोड गर्दै धमाधम अन्य काम सुरु गरिएको छ। पहिलो लटका ठूला ट्रकहरू सहज पास गरिसकेपछि अरूको लागि समस्या नहुने खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिएका छन्। 

अन्तिम अन्वेषणपश्चात् दैलेखको भूभागमा कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुराको पत्ता लाग्ने र सोहीअनुसार अर्को प्रक्रिया सुरु गरिने नापितले जानकारी दिएका छन्। 

नेपाल सरकार र चीन सरकारसँग भएको जिटुजी सम्झौताअनुसार सुरु गरिएको अन्वेषणको कामले पूर्णता पाएमा नेपाल समृद्धिको नयाँ बाटो खुल्ने नापितको भनाइ छ।

आयोजनास्थल र अन्य सुरक्षाका लागि सशस्त्र प्रहरी बल काठमाडौंलाई दुई महिनाअघि नै लेखी पठाएको र अहिलेका लागि दैलेखमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट आयोजनास्थलको सुरक्षा गरिने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको भनाइ छ। 

पेट्रोल अन्वेषणले दैलेख मात्र नभएर सिंगो कर्णाली र देशकै आर्थिक अवस्था सुधारको महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने आशा आमनागरिकहरूले गरेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिएका छन्। 

४० मिटर उचाइमा मेसिन बसालिँदै 

अन्तिम ड्रिलिङको पोइन्टबाट करिब ४० मिटर उचाइसम्म मेसिन पुग्ने, मेसिन जडानको करिब ४० मिटरमाथि ड्रिलिङको लागि इन्जिनियर बस्ने गरी संरचना तयार गर्नुपर्ने भएकोले सोहीअनुसारका ठूला समानहरू ल्याउने र जडान गर्ने काम तीव्र पारिएको छ। अन्तिम अन्वेषणका लागि करिब ४ किलोमिटरमुनिसम्म ड्रिलिङ गरिनेछ।

११ जनालाई रोजगारी

जग्गा मुआब्जाका वेलादेखि नै स्थानीयहरूले राखेका मागहरू सम्बोधन गर्नुपर्ने विषयलाई मध्यनजर गर्दै आइतबारदेखि नै स्थानीय ११ जना युवाहरू काममा खटिएका छन्।

स्थानीय प्रभावित क्षेत्रका बासिन्दाहरू, पालिकाका र जिल्लाभरका योग्यता र क्षमताअनुसारका व्यक्तिहरूलाई रोजगारी दिने सहमति पहिले नै भएको र आफूले पनि त्यसको पहल गरेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जानकारी दिएका छन्। 

भैरवी–१ जलजलेका कुमार थापाले ११ जनाले आइतबारबाटै काम सुरु गरेको बताउँदै कामको खोजीमा विदेश नजाने गरी यस्तै ठूला संरचना बनिदिएको खण्डमा नेपालमै रोजगारीको बाटो खुल्ने र युवाहरू नेपालमै रोकिने बताएका छन्। 

प्रशोधन केन्द्र दैलेखमै हुनुपर्ने माग 

दैलेखकै भूभागमा पेट्रोलियम पदार्थ भेटिएपछि यसको प्रशोधन पनि दैलेखमै हुनुपर्ने माग दैलेखका आमनागरिकहरूले गरेका छन्। यहाँको स्रोतसाधनको यही स्थानमै प्रशोधनलगायतका कामहरू गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभाका सदस्य अमरबहादुर थापाको भनाइ छ। आमउद्योगी, व्यापारी र नागरिकहरूले समेत दैलेखमै प्रशोधन गर्ने गरी काम थाल्न सरकारलाई आग्रह गरेका दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर वि.क.ले जानकारी दिएका छन्।

दैलेखका राजनीतिक दल, नागरिक समाज, निर्वाचित जनप्रतिनिधि सबैले दैलेखको भूभागमा कच्चा पदार्थ भेटिएपछि अन्यत्र लिन नदिने र दैलेखमै प्रशोधन गर्नेमा ऐक्यबद्धता जनाएको विकको भनाइ छ।