१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागलुङमा ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o६:oo

जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ। आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो।

कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मिएका छोरीका नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिन सुरुवात गरिएको छ। नगरपालिकाभित्रका १४ वटा वडामा गत साउनदेखि जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता खोली नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले जम्मा गरेको रकम २० वर्ष उमेर नपुगेसम्म झिक्न पाइनेछैन।

‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘१३औँ नगरसभाद्वारा पारित नीति तथा कार्यक्रम र बजेटमा यसका लागि आवश्यक बजेटको पनि व्यवस्थापन गरेका छौँ। कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि पनि तयार गरेर कार्यान्वयनमा गएका हौँ। यसलाई आउँदा वर्षमा पनि निरन्तरता दिँदै जानेछौँ।’

गत साउनदेखि हालसम्म ३० जना छोरीहरूका नाममा नगरपालिकाले नगद पाँच हजार रुपैयाँका दरले बैंकमा रकम जम्मा गरिदिएको श्रेष्ठले जानकारी दिए।  

नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्था छ। जसअनुसार गत साउनयता जन्मिएका छोरीहरूको लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूको लागि एकपटक पाँच हजार रुपैयाँ जम्मा गर्ने प्रावधान छ। सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ।

अझै पनि नेपाली समाजमा छोरालाई भन्दा छोरीलाई गर्ने व्यवहार फरक भएको हुँदा दुवै समान हुन् भन्ने सन्देश दिनका निम्ति नगरपालिकाले यो अभियान सञ्चालन गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन्। 

‘नगरकी छोरी’को नाममा नगरपालिकाले प्रदान गर्ने रकम जम्मा गर्नका निम्ति वडा कार्यालयबाट वडावासी भएको खुल्ने सिफारिस, जन्मदर्ता र बाबुआमाको नागरिकता आवश्यक पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए। आवश्यक कागजात पेस गरेपछि नगरपालिकाले प्रभु बैंकमा निःशुल्क खाता सञ्चालन गरी छोरीको नाममा बैंकले प्रदान गर्ने उच्च ब्याजदर आउने गरी सो रकम जम्मा गरिदिनेछ। ‘बैंकसँग चक्रीय दरमा ब्याज प्रदान गर्ने सम्झौता गरेका छौँ, ब्याजदर बढ्दा बढ्छ भने घट्दा साबिककै हुनेछ,’ कँडेलले भने, ‘यसमा परिवारले आफूले इच्छाएको रकम थप गर्न पाउँछन्, तर परिवारले थपेको रकम पनि २० वर्ष नपुगेसम्म झिक्न पाइँदैन।’ कार्यक्रमले छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको कँडेलको भनाइ छ।

नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका- २ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र  मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको हो। अद्धिकासँगै नगरभित्रका ३० जना छोरीको नाममा खाता खोली पाँच हजारका दरले एक लाख ५० हजार रुपैयाँ बैंकमा जम्मा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिए।

ad
ad