मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १२ सोमबार
  • Thursday, 26 December, 2024
रासस कञ्चनपुर
२o८o चैत १२ सोमबार १४:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

परम्परागत रूपमा होली मनाउँदै कञ्चनपुरका थारू समुदाय

Read Time : > 1 मिनेट
रासस, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत १२ सोमबार १४:o४:oo

शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आए। होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा  (देवस्थान)मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए।

होलिका जलाउने कार्यलाई थारू भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ। वर्षौँ पुरानो यो चलन थारू समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए। होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रूपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारू समुदायमा रहेको उनले जानकारी दिए।

आइतबार साँझ मनिरामलगायत गाउँका थारू समुदायले देउथानमा होलिका जलाउने कार्य गरेका थिए। जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए।

‘हिजो बिहानै बरघरको घरमा जम्मा भयौँ,’ उनले भने, ‘तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एकजनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ। बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ।’

नयाँ आगो घरमा ल्याएपछि कुलदेवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुलाेमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए। उनका अनुसार देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारू समुदायमा छ। होलीका वेला भित्र्याइएको आगो तापेमा घरमा सुखशान्ति हुने र रोगव्याध हटेर जाने जनविश्वास रहेको उनले बताए।

‘सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारू गाउँका गुरुवा, बरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन्। यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्,’ स्थानीय गहनु चौधरीले बताइन्।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताइन्। आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रूपमा बाँड्ने चलन रहेको उनले जानकारी दिइन्।

घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ। आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताइन्। होलिका जलाएको ठाउँमा आज गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु)ले निभाएर र उक्त ठाउँ सफा गरेका छन्।

घरपरिवारमा खरानीको टीका लगाइसकेपछि होलीको रङ लगाएर एक–आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए। ‘यतिवेला एक–अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ,’ उनले भने, ‘रमाइलोका लागि विगतको जस्तो हिलो छयाप्ने कामलाई निरुत्साहित गर्दै आएका छौँ।’ 

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसियाली साटासाट गर्ने प्रक्रिया भाेलिसम्म जारी रहने चौधरीले बताए। होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टीका लगाउने र आशीर्वाद लिने चलन पनि थारू समुदायमा रहेको उनको भनाइ छ।