![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/kp-oli2024-02-20-01-45-22.jpeg)
कांग्रेसले लोकतान्त्रिक शक्तिहरू समेटेर नयाँ समीकरणको गृहकार्य गरिरहेका वेला नयाँ गठबन्धनको प्रमुख घटक एमालेले बाह्य शक्तिहरू नयाँ समीकरण भत्काउन सक्रिय भएको दाबी गरेको छ । पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमाले–माओवादीसहितको नयाँ गठबन्धन देख्न नचाहने कतिपय बाह्य शक्ति अझै भत्काउन सक्रिय रहेको ब्रिफिङ गरेका हुन् । तर, त्यो बाह्य शक्तिबारे ओलीले स्पष्ट पारेनन् ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालयको शुक्रबारको बैठकमा अध्यक्ष ओलीले अहिलेको गठबन्धन धेरै मिहिनेत र प्रयासबाट बनेको बताए । साथै उनले अहिलेको गठबन्धन पूर्ण कार्यकाल टिकाएर जनताले महसुस गर्ने गरी सरकार परिणाममुखी काममा केन्द्रित हुनुपर्ने निष्कर्ष पनि सुनाए ।
‘एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बन्न नदिने र बनेको देख्न नचाहने कतिपय बाह्य शक्ति अहिले पनि भत्काउन सकिन्छ कि भनेर सक्रिय छन्,’ ओलीको ब्रिफिङ उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘तर, धेरै प्रयासबाट बनाएको यो गठबन्धनलाई मजबुत बनाएर पूर्ण कार्यकाल टिकाउनुपर्छ । सरकार जनताले महसुस हुने गरी काममा केन्द्रित हुन्छ ।’
ओलीले जनतामा देखिएको निराशा र प्रतिगामीको चलखेल चिरेर नयाँ गठबन्धन बनाउने पार्टीको प्रयास सफल भएको बताएका थिए । उनले कांग्रेससहितको गठबन्धनका कारण देशले धेरै नोक्सानी व्यहोरेको र आर्थिक मन्दीतर्फ देश अगाडि बढेको दाबी बताए । ‘कांग्रेससहितको गठबन्धनका कारण देशले धेरै नोक्सानी व्यहोरिरहेकाले हामीले भत्काउने उद्देश्य राखेका थियौँ, त्यसका लागि धेरै लामो समयदेखि प्रयास गर्दै आएका थियौँ,’ ओलीको भनाइ थियो, ‘लामो प्रयास सफल भएकाले यो पार्टीका लागि सफलता हो, त्यसैले हामी यो गठबन्धनलाई जोगाएर परिणाम दिने गरी सरकारले गर्ने काममा सहयोग पुर्याउनुपर्छ ।’
बैठकपछि महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा आएको परिवर्तनलाई सचिवालयले सकारात्मक रूपमा ग्रहण गरेको बताए । उनले जनतामा आशा र विश्वास जगाउने काममा सकारात्मक योगदान गर्नुपर्ने निष्कर्ष निकालिएको बताए । ‘मुलुकको सत्तासमीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ, त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेको तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा हामी रहेका छौँ,’ पोखरेलले भने, ‘अहिलेको अवस्थामा जनताको निराशालाई आशामा बदल्ने, मुलुकको हित र राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ, अनुकूलता सिर्जना गरेको छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।’
बैठकमा ओलीले न्यूनतम साझा कार्यक्रममार्फत सबै क्षेत्रमा देखिएका समस्या र जनअसन्तुष्टि सम्बोधन गर्ने गरी सरकार केन्द्रित हुने बताएका थिए । ‘देशमा देखिएको आर्थिक मन्दी, सहकारी क्षेत्रको समस्या, मिटरब्याजपीडितको समस्या, किसानले पाउनुपर्ने दुधको उचित मूल्यलगायत सबै क्षेत्रको समस्या समाधान गरेर जनअसन्तुष्टि सम्बोधन गर्ने गरी न्यूनतम साझा कार्यक्रम ल्याएर सरकार परिणाममुखी काममा केन्द्रित हुनेछ, त्यसका लागि पार्टीले पनि सहयोग गर्नेछ,’ ओलीको भनाइ थियो । उनले प्रधानमन्त्रीलाई सहयोग पुग्ने गरी मन्त्रालय बाँडफाँट र मन्त्री छनोट गरिएको पनि अवगत गराएका थिए ।
८ र ९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद्
एमालेले पार्टी स्थापना ७५ वर्ष प्रवेश गरेको दिन १० वैशाखलाई विशेष समारोहका रूपमा मनाउन ८ र ९ वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाएको छ । काठमाडौंमा आयोजना हुने परिषद् बैठकमा देशभरबाट करिब दुई हजार पाँच सय प्रतिनिधि परिषद् सदस्य सहभागी हुनेछन् ।
स्थापना दिवसमा सार्वजनिक गर्ने गरी एमालेले पार्टीको इतिहाससम्बन्धी पुस्तक, मुलुकको राजनीतिक परिवर्तन र विभिन्न आन्दोलनमा पार्टीले खेलेको भूमिकाबारे बेग्लाबेग्लै दुई पुस्तक प्रकाशनको तयारी गरिरहेको छ । त्यसका लागि पदाधिकारी तहका नेताहरूको नेतृत्वमा अलगअलग टिम सक्रिय छ ।
त्यस्तै, पहिलो महाधिवेशनदेखि दशौँ महाधिवेशनसम्मका झलक आउने गरी वृत्तचित्र निर्माण, भूमिगतकालका सहयोगीहरूको सम्मान गर्नेलगायतको कार्यक्रम पनि राखेको छ । समारोहमा एमालेले विभिन्न विदेशी पाहुनालाई समेत निम्त्याउने गरी तयारी गरिरहेको छ ।
कांग्रेस सहमहामन्त्री जीवन परियार भन्छन्– को कसको इसारामा चल्छ जनतालाई थाहा छपहिलो, कांग्रेस लोकतन्त्र, संविधानवादमा विश्वास गर्छ । भइरहेका राजनीतिक दलमध्ये जोसँग सहकार्य गर्न हामीलाई अनुकूल हुन्छ, ती दलसँग सहकार्य गर्नु हाम्रो जिम्मेवारी हो । दोस्रो, कांग्रेसले सरकारविरुद्ध छुट्टै लोकतान्त्रिक गठबन्धन बनाइरहेको छैन, यो स्पष्ट हुनुपर्यो । अब यो कसको इसारामा, को–को चलेको छ भन्ने कुरा कांग्रेसले भनिरहनुपर्दैन । आमजनताले बुझेका छन् । यसको जवाफ एमाले नेताले आफैँ दिइरहनुभएको छ । जो इसारामा चल्छ, उसलाई मात्र थाहा हुन्छ । कांग्रेस नेपाली जनताको इसारामा चल्छ ।
सोमबार विश्वासको मत लिने सरकारको तयारी
बहुमत : १३८, सरकारको शक्ति : १५२
सत्तागठबन्धनमा आबद्ध दल एमालेका ७७,
माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र
एकीकृत समाजवादीका १० सांसद
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेससँगको सहकार्य तोडेर २१ फागुनमा एमालेसहितको गठबन्धन बनाएका प्रधानमन्त्रीले २८ फागुनमा विश्वासको मत लिने तयारी गरेका हुन् । सहयात्री दल एमालेका अध्यक्ष केपी ओलीले चाँडै विश्वासको मत लिन प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेका छन् । थप छलफल गर्न प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् । ‘एमाले अध्यक्ष कमरेड केपी ओलीले २८ गते नै विश्वासको मत लिन प्रस्ताव गर्नुभएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यू पनि छिट्टै विश्वासको मत परीक्षण गर्ने गृहकार्यमा हुनुहुन्छ । संसदीय दलबाट निर्णय हुन्छ ।’ विश्वासको मत चाँडै टुंग्याउन खोजेको एमालेले शनिबार बोलाइएको संसदीय दलको बैठक २९ फागुनमा सारेको छ ।