सफलताको कथा : बिहारका गाई मरे  मरेन सपना

काठमाडौंको गोकर्णेश्वर–२ शनिश्चरेमा ‘सबल व्यावसायिक पशुपालन तथा कृषि फार्म’ छ । यो फार्म भोला नेपाल नेतृत्वको समूहले सञ्चालन गरेको हो । पहिलो चरणमा बिहारबाट ल्याएका गाई मरे । तर, भोलाले हिम्मत हारेनन् । उनको समूहले पाएको सफलताको कथा नयाँ पत्रिकाकर्मी टेकराज थामीलाई सुनाएका छन्:

बिहारमा चर्को धूप थियो । हामी पसिना पुस्दै गाईबारे सोधिरहेका थियौँ । फार्मिङका लागि भारतीय गाई उपयुक्त हुने विभिन्न पुस्तक र इन्टरनेटमा पढेपछि त्यहाँ पुगेका थियौँ । दुई लाख ८० हजार रुपैयाँमा होलिस्टिन जातका दुईवटा गाई किन्यौँ । 

तर, गाईका लागि हामीले गोकर्णेश्वरमा खोलेको फार्म हाउसको वातावरण अनुकूल भएन । गाई बिरामी भए । चिकित्सकसँग सल्लाह माग्यौँ । औषधि खुवायौँ । गोठको तापक्रम बढाउन लगायौँ । घाम ताप्ने ठाउँ बनायौँ । केही सीप चलेन । करिब ६ महिनापछि जब एउटा गाई ढल्यो, हामीले हात उठायौँ । त्यस वेलासम्म उपचारका लागि मात्रै १० लाख रुपैयाँ रित्तिसकेको थियो । तर, हामीले हिम्मत हारेनौँ ।

हाम्रो संघर्ष अझ कठिन थियो । त्योभन्दा अघि हामी कसरी गाईपालनमा आइपुग्यौँ, बताउँछु । समाजशास्त्रमा स्नातकोत्तर सकेको थिएँ । न विदेश जान मन लाग्यो, न जागिरे बन्न नै । अब गर्ने के त ? 

मेरो घर बौद्ध महांकालस्थित संगमटोल । टोलमा सबल बहुउद्देश्यीय नामको सहकारी छ । साथीहरूसँग मिलेर केही वर्षअघि आफैँले खोलेको । प्रबन्धक म आफैँ । तर, आत्मसन्तुष्टि मिलिरहेको थिएन । 

एक दिन ‘सहकारीको उद्देश्य’ उल्लेखित चिनारी हात पर्‍यो । त्यसको कृषि व्यवसायसम्बन्धी बुँदाले मन छोयो । सोचेँ, सहकारीमा जम्मा भएको रकम कृषिमा किन लगानी नगर्ने ? तर, मेरो मात्रै निर्णयले हुनेवाला केही थिएन । 

भूगोलमा स्नातकोत्तर गरेका कृष्ण ढकाल छिमेकी हुन् । मेरा अग्रज पनि । उनलाई योजना सुनाएँ । पहिलो चरणमै उत्साहित भए । गोकर्णेश्वर–२ शनिश्चरेस्थित ‘सबल व्यावसायिक पशुपालन तथा कृषि फार्म’को गर्भधान त्यही वेला भयो । 

लगानी ठूलै गर्नुपर्ने देखियो । त्यसो हुँदा अन्य साथी पनि जुटाउनुपर्ने भयो । टोलका आफ्नै दवालीलाई मिसायौँ । लगानी जसोतसो जुट्यो ।  व्यावसायिक गाई फार्म गर्न पर्याप्त जमिन चाहिन्छ । घाँस आफैँ उत्पादन गर्नुपर्छ । यसकोे आइडिया हामीले इन्टरनेट तथा पुस्तक अध्ययनबाट लियौँ । पशुवैज्ञानिकसँग पनि पटक–पटक छलफल गर्‍यौँ । कम्तीमा पनि १० रोपनी जग्गा आवश्यक पर्ने भयो । 

काठमाडौं, भक्तपुर र ललितपुरका सबै खाली क्षेत्र डुल्यौँ । तर, चित्तबुझ्दो भेटिएन । हामी घोत्लिरहेका थियौँ । यस्तैमा गोकर्णेश्वर–२ शनिश्चरेबाट फोन आयो । गाई फार्म बिक्रीमा भएको थाहा पायौँ । जग्गा १० रोपनी नै रहेछ । तर, फार्ममा गाई जम्मा दुईवटा । खाली जग्गामा भने गोलभेँडा खेती । ती कृषकको व्यवसाय असफल भएको थियो ।

उत्साहका साथ पुगेका हामी ओइलाउने अवस्थामा पुग्यौँ । लुरुलुरु घर फर्कियौँ । तर, पटक–पटकको छलफलपछि त्यही फार्म किन्ने निर्णयमा पुग्यौँ । होलिस्टिन जातका दुईवटा गाई र गोलभेँडाको ६ वटा टनेललाई एकमुष्ट ११ लाख  रुपैयाँ बुझायौँ । 

इन्टरनेटमा खोजेर र पुस्तक पढेर फार्म सुरु गरेका हामी तब संकटमा पर्‍यौँ, जब गाई थारो बस्यो । १५ पटकसम्म कृत्रिम गर्भाधान गरायौँ । औषधि खुवायौँ । चिकित्सकसँग पटक–पटक सल्लाह गर्‍यौँ । तर, केही सीप चलेन । अन्तमा गाईको ठाउँ परिवर्तन गरेपछि बल्ल गर्भाधान भयो । गाई थप्नुपर्ने बाध्यता हामीसँग थियो । किनकि, दुईवटा गाईले मात्रै लगानी उठ्नेवाला थिएन । 

अनि त गाई खोज्दै बिहार पुगेका थियौँ । तर, बिहारबाट ल्याएका गाई मरे । फार्मिङ गर्न पढेको र सुनेकोजस्तो सजिलो छैन भन्ने बुझियो । अनुभवले धेरै सिकायो । अब हामी नेपाली हावापानीमै हुर्किएका गाईको खोजीमा जुट्यौँ ।

भक्तपुरस्थित नगरकोट जाने बाटोमा एउटा फार्म भेटियो । फार्ममा १७ गाई थिए । तर, सबै हड्डी र छाला मात्रै । साहुले घाटा व्यहोर्दाको नियति यिनीहरूले भोगेका । १७ गाई किन्न १० लाख रुपैयाँ तिर्‍यौँ । उपचारमा थप पाँच लाख खर्च भयो । गार्ई अब पुष्ट हुन थाले । दुहुना भएकाले दूध बढाए । थारो बसेका ब्याउने भए । अहिले हामीसँग ४० भन्दा धेरै गाई छन् । फार्म हाउसका लागि थप पाँच रोपनी जग्गा भाडामा लिएका छौँ । १५ जनाभन्दा धेरैले प्रत्यक्ष रोजगार पाएका छन् । केही दिनभित्रै २० गाई थप्दै छौँ । 

सरकारले काठमाडौंका किसान चिन्दैन 

खाली जग्गाको अझ सदुपयोग गर्नुपर्ने देखियो । जग्गा जोत्न ट्र्याक्टरको आवश्यकता पर्ने भयो । खोजीमा बजार पुग्यौँ । ठीकैको ट्र्याक्टर हेरियो । मूल्य ४० हजार रुपैयाँ । त्यहीवेला कसैले ट्र्याक्टर किन्न सरकारले अनुदान दिएको सुनाए । सस्तोमा पाइने आसमा त्यतै पुग्यौँ । केही दिन त हामी त्यतिकै अल्मलियौँ । बल्लतल्ल हाकिम भेट्यौँ । उनले बडो सहज कुरा गरे । हामी पनि फुरंगै । तर, अनुदानको ट्र्याक्टर लिने ठाउँमा बजारमा किन्न भनेर ठीक परेकै मोडेलको ट्र्याक्टर देखियो । अवश्यकता पनि त्यत्रै ट्र्याक्टरको थियो । मूल्य तिर्न कार्यालय पुग्दा पो थाहा भयो, ४० हजार रुपैयाँको ट्र्याक्टरलाई अनुदानपछि ६० हजार रुपैयाँ पो चुकाउनुपर्ने रहेछ । 

त्यसपछि सरकारी अनुदानप्रति नै वितृष्णा पैदा भयो । सरकारको नीति नियाल्यौँ । सरकारी अड्डा धायौँ । कृषि प्रबर्द्धनका लागि सरकारको घोषणापत्र हेर्‍यौँ । विनियोजित बजेटको अंक पटक–पटक पढ्यौँ । ती कुनैले पनि कृषिलाई चिनेको भेटेनौँ । अझ काठमाडौंका कृषकको हकमा त सरकारी नीति तथा योजना ‘सौतेनी’ नै देखियो । यसले हामीजस्ता कृषि पेसामै भविष्य खोजिरहेका युवापंक्तिलाई उत्साहित होइन, घोर निराश तुल्याउँछ ।

दूध बिक्रीको मौलिक मोडेल 

गाई बलिया भएपछि दूध उत्पादन हुन थाल्यो तर, बेच्ने कहाँ ? चुनौतीका चाङ हामीमाथि थिए । पुनः हामी टोलमा फर्कियौँ । बजारमा स्थापित हुन परम्परागत रणनीतिलाई भत्काउन जरुरी थियो । हामीले त्यही गर्‍यौँ, जुन बजारको माग थियो । अहिले समीक्षा गर्दा त्यो रणनीति वास्तवमै ठीक थियो ।

हामीकहाँ अहिले दैनिक दुई सय ५० लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । उत्पादित दूध डेरीलाई बेच्दैनौँ । दूध उपभोक्तालाई हामीले सदस्य बनाएका छौँ । उनीहरूकै मागअनुसार आफैँ दूधको प्याकिङ गर्छौं । हामीसँग केही मोटरसाइकल छन् । मोटरसाइकलबाट दूध उपभोक्तासम्म लग्छौँ । हामीसँग अहिले झन्डै तीन सयको हाराहारीमा उपभोक्ता छन् । यो निरन्तर बढ्ने क्रममा छ । माग भएअनुसारको दूध हामीले पूर्ति नै गर्न सकिरहेका छैनौँ । 

अहिले हामी कुल मागको ७५ प्रतिशत मात्रै आपूर्ति गर्न सकिरहेका छौँ । २५ प्रतिशत माग पूरा नै गर्न सकेका छैनौँ । शुद्ध दूधको हकमा मात्रै हो, यो । दूधबाट बन्ने अन्य परिकार जस्तै– चिज, बटर, घ्यू, मोही, दहीलगायतका उत्पादनतर्फ त हामीले सोच्नै भ्याएका छैनौँ । यसका लागि दूध मौज्दात हुनुपर्छ । तर, वितरण गर्नै पुग्दैन । त्यसो हुँदा हामी २० गाई थप्ने योजनामा पुगेका हौँ । तर, यसले पनि बजार नधान्ने निश्चित छ । हाम्रो कोसिस भने रहनेछ । 

औषधिमा माफिया 

गाई जब सुत्केरी हुन्छ, ऊसँग रोगसँग लड्ने प्रतिरक्षा प्रणाली निकै कमजोर हुन्छ । रोगले आक्रमण गर्ने त्यही वेला हो । यस्तो वेला यति कमजोर हुन्छ कि उभिन र उभिएपछि बस्नसमेत मुस्किल हुन्छ । यो वेला ‘थेकल’ नामको औषधि गाईका लागि सञ्जीवनी हो । तर, माफियाले यसैलाई हतियार बनाएका छन् । औषधिमा माफियाको एकाधिकार छ । बजारमा अरूलाई प्रवेश गर्नै दिँदैनन् । भारतीय बजारबाट तीन सय रुपैयाँ किनेर ल्याउँछन् र नेपाली बजारमा आठ सयमा बेच्छन् । किसानले जब विरोध गर्न थाल्छन्, औषधि बिक्री नै बन्द गर्छन् । औषधि नपाएपछि गाई मर्न थाल्छन् । अनि, कृषक महँगो मूल्यमै माफियासँग औषधि किन्न बाध्य बन्छन् । औषधिको माफियाकरण नियन्त्रण गर्न सके मात्रै पनि हजारौँ कृषकको उद्धार हुन्छ ।

 फार्म: एकेडेमिक प्रयोगशालाको योजना

यो पेसामा हामीलाई हत्तोत्साहित तुल्याउने प्रश्न हो, ‘पढेलेखेका मान्छे पनि गाई पाल्न लाग्ने ?’ सामान्य व्यक्तिले यस्ता प्रश्न गरे त केही फरक पर्दैनथ्यो । जब बुज्रुक भनाउँदाबाटै यस्ता प्रश्न आउँछ, यसले कताकता घोच्छ । कहिले त बेकारको लफडामा फसिए छ झैँ लाग्छ । तर, गहिरिएर अध्ययन गर्दा समस्या उनीहरूमा होइन, यहाँको शैक्षिक प्रणालीमा छ । यहाँको शैक्षिक प्रणालीले नेपालको माटो चिन्दैन । अनि कृषि कर्ममा आत्मसम्मान भेटिन्छ कसरी ? यहाँका युवा बरु साउदी, मलेसियामा भारी बोक्न गर्वानुभूति गर्छन् । तर, गोबरको गन्धप्रति उनीहरू घृणा गर्छन् । यो उनीहरूको नभई यहाँको शैक्षिक प्रणालीको दोष हो । फार्ममा काम गर्ने मजदुर पाइँदैन । साइकलमा दूध बेच्न कोही तयार हुन्नन् । समस्या यसैको हो । 

परिवर्तन आवश्यक छ । त्यसैले हामीले हाम्रो फार्म हाउसलाई कृषि एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएका छौँ । यसका पूर्वाधार तयार हुँदै छन् । कृषि पेसामा लाग्ने जनशक्ति यहीँ तयार गर्ने हाम्रो लक्ष्य छ । अभ्यासस्वरूप कृषि अध्ययन गर्ने कलेजसँग सहकार्य गर्दै छौँ । सयभन्दा धेरै विद्यार्थी हामीकहाँ आइसकेका छन् । आउने क्रम जारी छ ।