१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘वेटिङ प्राइममिनिस्टर’ देउवालाई ‘पावर सक्ड’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२२:oo

आन्तरिक विवादमा फसेको कांग्रेस प्रधानमन्त्रीसँग समन्वयकारी भूमिकामा चुक्दा पुनः प्रतिपक्षमा पुगेको छ । गत वर्षको संघीय र प्रदेश निर्वाचनलगत्तै आफूअनुकूलको गठबन्धन बनाउन चुकेको कांग्रेस गत फागुनमा सत्ताराजनीतिमा फर्केको थियो । तर, गठबन्धनमा रहेको असन्तुष्टि व्यवस्थापनमा चुक्दा संसद्को ठूलो दल कांग्रेसलाई तत्कालका लागि ठूलो धक्का लागेको छ । 

गठबन्धन भत्किएको विषयमा कांग्रेस नेताहरू आत्ममन्थनमा छन् । आफ्नोतर्फबाट उचित समयमा उचित कदम नचाल्दा गठबन्धन भत्किएको कांग्रेसमा एकथरीको बुझाइ छ । सत्तागठबन्धन दल कांग्रेसप्रतिको माओवादी असन्तुष्टि सम्बोधन नगर्दा एमालेसँग नयाँ गठबन्धन बनेको ती नेताहरूको मत छ । अर्कोथरी मतचाहिँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनप्रति प्रतिबद्ध नहुँदा गठबन्धन टुटेको दाबी गर्छन् । 

पार्टी पदाधिकारी बैठकअघि सोमबार सभापति शेरबहादुर देउवा र उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरी माग सम्बोधनमा आफूहरू लचक रहेको र गठबन्धन बचाउन अन्तिम प्रयास गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘ढिला भइसकेको’ जवाफ दिएपछि देउवा र खड्का फर्केका थिए ।

गठबन्धन टुट्ने निश्चित भएपछि सोमबार बिहान कांग्रेसले पदाधिकारी बैठक राखेर कारणबारे छलफल गरेको थियो । सहभागी एक पदाधिकारीका अनुसार उपसभापति खड्काले आफूहरू सबै सर्त मान्न तयार रहँदा समेत प्रधानमन्त्री प्रचण्ड तयार नभएको र गठबन्धन टुटेको बैठकलाई जानकारी गराएका थिए । 

‘प्रधानमन्त्रीलाई हामीले राष्ट्रिय सभा अध्यक्ष माओवादीबाटै बनाउन पनि कांग्रेस तयार छ, कांग्रेसका सबै मन्त्री फेरबदल गर्न तयार रहेको जानकारी गराएका थियौँ । साथै प्रधानमन्त्रीको कार्यकाल बढाउनसमेत कांग्रेस तयार छ भन्यौँ, तर उहाँले त्यसका लागि ढिला भइसक्यो । अब कांग्रेससँगको गठबन्धनमा रहन सकिँदैन भन्नुभयो । उहाँहरू पहिलेदेखि नै यो योजनामा रहेको देखियो,’ प्रधानमन्त्रीलाई भनेको विषय खड्काले बैठकमा सुनाएका थिए । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कांग्रेस प्रतिबद्ध हुँदाहुँदै पनि प्रधानमन्त्रीले एमालेसँग गठबन्धन गरेको जिकिर गर्छन् । उनी कांग्रेसबाट अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी थिए । कोशी प्रकरण, सरकारमा कांग्रेसबाट असहयोग भएकोलगायतका विषय बहाना मात्रै रहेको उनको दाबी छ । 

‘हामी चुकेका होइनौँ, कांग्रेस गठबन्धनप्रति प्रतिबद्ध रहँदारहँदै पनि माओवादीबाट घात भयो । एमालेबाट पटकपटक ‘एप्रोच’ हुँदा पनि कांग्रेस नेतृत्वले गठबन्धन परिवर्तन गर्ने कुरा सोचेको थिएन । गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनुमा कांग्रेसको कमजोरीका रूपमा जे–जति कारण देखाइएका छन् ती सबै जस्टिफिकेसन गर्ने बहाना मात्रै हुन्,’ डा. महतले भने, ‘हामीले सरकारमा रहेर प्रधानमन्त्रीलाई असहयोग गरेका थिएनौँ । नहुने–नमिल्ने कुरा गर्न नमिल्ने नै हो । उहाँहरूबीच पूरा कार्यकाल सरकार चलाउने, वाम एकता गर्नेलगायतका विभिन्न विषयमा पहिलेदेखि छलफल चलिरहेको थियो ।’ 

अर्का नेता एनपी साउद असन्तुष्टि व्यवस्थापनमा कांग्रेसले समयमा चासो नदिँदा एमालेसँग नजिकिने वातावरण बनेको बताउँछन् । प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उनी कोशी प्रकरण, मन्त्रिमण्डल पुनर्गठन, महासमितिमा आएको गठबन्धनको विषयमा मतभेदलगायतका विषयमा असमझदारी रहेको, तर पछि कांग्रेस यसका लागि तयार हुँदा गठबन्धन टुट्ने वातावरण तयार भइसकेको बताउँछन् । 

‘कोशी प्रकरण, महासमिति बैठकका विषय र मन्त्रिमण्डल पुनर्गठनको विषयमा मतभेद भयो र त्यसलाई समयमा व्यवस्थापन गर्न नसक्दा समीकरण टुट्यो । रातारात भएको विषय होइन, यी विषय जम्मा हुँदै गएका थिए । गठबन्धनभित्र व्यवस्थापन गर्न सकिएन । तर, यी विषय व्यवस्थापन नै गरेर जान सकिँदैन भन्ने हामीलाई लागेको थिएन,’ उनले भने, ‘प्रधानमन्त्री हतारिनुभयो र अर्को समीकरणमा जानुभयो । हामीले गठबन्धनको निरन्तरताका लागि प्रस्ताव राखेका थियौँ । तर, अन्त्यमा उहाँले अगाडि बढो भन्नुभयो र गठबन्धन टुट्यो ।’ 

कांग्रेस–माओवादी सहकार्यमा दायरा पछिल्लो समय कोशी प्रकरणसँगै बढेको थियो । गठबन्धनको सहमतिविपरीत कांग्रेसको शेखर समूहले कोशीमा एमालेसँग मिलेर सरकार बनाएपछि माओवादी सशंकित थियोे । त्यसपछि राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादीको उम्मेदवारले पराजय व्यहोर्ने अवस्था आयो । यसले माओवादीले कांग्रेसप्रति शंकाको दायरा बढायो । साथै, प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. महतले असहयोग गरेको भन्दै परिवर्तनका लागि सभापति देउवालाई आग्रह गरेका थिए । 

तर, सभापति देउवा यसका लागि तत्काल तयार रहेनन् । विभिन्न बहानामा ढिलाइ हुँदा अविश्वास बढ्न पुगेको कांग्रेस नेताहरूको बुझाइ छ । ७ देखि १० फागुनमा चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाको निर्वाचनमा गठबन्धन नगर्ने प्रस्ताव र पूर्णबहादुर खड्काले नीति प्रस्तावमा जनयुद्धलाई अपव्याख्या गरेको भन्दै माओवादी चिढिएको थियो । 

कांग्रेस इतरसमूहका नेता डा. मीनेन्द्र रिजाल कम्युनिस्ट पार्टीहरू नजिकिने अवस्थाका कारण कांग्रेससँगको गठबन्धन टुटेको र यो अप्रत्याशित नरहेको बताउँछन् । उनी गठबन्धनमा रहेका असन्तुष्टि मिलाएर गठबन्धन कायम राख्ने अवस्था रहे पनि प्रधानमन्त्री यसका लागि तयार नरहेको तर्क गर्छन् । 

‘नयाँ समीकरण अचम्म हुनुपर्ने विषय थिएन । घटना घट्ने नै थियो, कहिले भन्ने मात्रै थियो । निर्वाचनमा गठबन्धनको औचित्य प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री बन्दै सकिएको थियो । मैले पटकपटक भनेको पनि हो,’ डा. रिजालले भने, ‘कम्युनिस्ट पार्टीका नेताहरूबीचमा पार्टी मिलाउनुपर्छ भन्ने असाध्यै ठूलो सकस छ । नयाँ गठबन्धनले भित्री रूपमा यसले दुई पार्टी मिलाउने आधार तयार गर्‍यो । त्यो एक दिनमा तयार भएको चाहना थिएन । भविष्यमा कसरी व्यवस्थापन हुन्छ भन्ने उहाँहरूको कार्यशैलीले देखाउला । जे–जति कारण देखाइए यी सबै बहाना मात्रै हुन् । प्रचण्डले मिलाउन चाहँदा सबै मिल्ने विषय थिए ।’ 

युवा नेता एवं सांसद प्रदीप पौडेल कांग्रेस नेतृत्व समयमै सजग नहुँदाको परिणामको रूपमा लिन्छन् । प्रधानमन्त्रीको योजना र कांग्रेसको ढिलाइ नयाँ समीकरणको आधार भएको उनको भनाइ छ । ‘निर्वाचनअगाडि मिलेर लडेको शक्ति सँगसँगै जाने कुरामा प्रधानमन्त्री पनि गम्भीर भएको देखिएन । जोसँग पनि मिल्न तयार हुने उहाँले चाहना राख्नुभयो, विकल्प प्रयोग गरेर गठबन्धन जोगाउन तयार रहनुभएन । उहाँले मिलाउन चाहेको भए विकल्प रहन्थे,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले पनि औपचारिक रूपमा कांग्रेसका यी कारणले गठबन्धनमा रहने अवस्था रहेन भन्नुभएको छैन । पछिल्लो समय प्रधानमन्त्रीको सर्त के हो भन्ने बुझ्ने प्रयास कांग्रेसले गरेकै हो । वेटिङ प्राइममिनिस्टरका रूपमा रहेका हाम्रा सभापति पनि गठबन्धन तोडिने संकेत पाउँदा उहाँ पनि यसमा चनाखो हुनुपर्थ्यो । त्यो सजगता पनि देखिएन ।’

ad
ad