१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा : तीनपटक सर्किट ब्रेकपछि कारोबार बन्द

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:२७:oo

सत्ता राजनीतिमा आएको फेरबदलसँगै सेयर बजारले नाटकीय रूप लिएको छ । अर्थमन्त्री परिवर्तन हुने हल्लासँगै सोमबार नेप्से परिसूचक तीनपटक सर्किट ब्रेक लागेर कारोबार बन्द भएको हो । सोमबार तीनपटक सेयरमा सर्किट ब्रेक लागेर एक सय १७ दशमलव ७० अंकले बढेर दुई हजार ७८ विन्दुमा बन्द भएको छ । 

अघिल्लो दिन आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर एक हजार नौ सय ६० विन्दुमा आइपुगेको थियो । उक्त विन्दु चार महिनायताकै न्यून विन्दु हो । तर, सोमबार राजनीतिक समीकरणको प्रभावले सेयर कारोबार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि बन्द भयो । सेयर बजार खुलेको एक घण्टाभित्र नेप्से परिसूचक ७९ दशमलव २९ अंक अर्थात् ४ दशमलव ०४ प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० विन्दुमा पुगेको थियो । एकैपटक ४ प्रतिशतले नेप्से वृद्धि भएमा २० मिनेटका लागि कारोबार बन्द हुने गर्छ ।

पहिलो सर्किटपछि सेयर बजार ११ बजेर २३ मिनेटमा खुलेको थियो । बजार खुलेको एक मिनेट अर्थात् ११ बजेर २४ मिनेटमै पुनः ५ प्रतिशतले नेप्से सूचक बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो सकारात्मक सर्किटपछि नेप्से दुई हजार ५९ अंकमा पुगेर बन्द भयो । सेयर बजार खुलेको तीन घण्टासम्म नेप्से परिसूचक ५ प्रतिशतले वृद्धि भएमा कारोबार ४० मिनेटका लागि बन्द हुने गर्छ । दोस्रो सर्किट ११ बजेर २६ मिनेट लाग्दासम्म ६ लाख ४१ हजार ६ सय ८२ कित्ता सेयरको खरिद–बिक्री भई २६ करोड ३७ लाख एक हजार रुपैयाँको कारोबार भएको थियो ।

सेयर बजार खुलेको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटका लागि कारोबार बन्द हुने र दोस्रो घण्टामा ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि कारोबार बन्द हुन्छ । ४० मिनेटपछि खुलेको सेयर बजारमा फेरि तेस्रो सर्किट ब्रेक पनि लाग्यो । पुनः ६ प्रतिशतले नेप्से परिसूचक बढेमा दिनभरिको कारोबार नै बन्द हुने गर्छ । 

दोस्रो सर्किट ब्रेक खुलेको एक मिनेट नहुँदै तेस्रो सर्किट ब्रेक लागेको हो । तेस्रो सर्किटमा नेप्से परिसूचक एक सय १७ दशमलव ७० अंकले बढेर  दुई हजार ७८ विन्दुमा बन्द भएको हो । जसमा नौ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबारको बजारलाई सत्ता राजनीतिसँग मात्र नभई लगानीकर्ताको लामो समयदेखिको फ्रस्टेसन पनि झल्किएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘यसमा सत्ता राजनीतिको परिवर्तन एउटा कारण हो, यसमा लगानीकर्ताको निराशालाई पनि उजागर गरेको छ ।’

अर्का लगानीकर्ता तुलसीराम ढकालले सेयर बजार अहिलेको अवस्थालाई केन्द्रमा राखेर अघि बढ्ने बताए । उनले भने, ‘सेयर बजारले पछिल्लो समय कुनै एउटा बहाना खोजेको थियो, त्यो बहाना सत्ता राजनीतिक परिवर्तन भएको छ ।’

पाँच कम्पनीको सेयर मूल्य १०% ले बढ्यो 
सोमबार सेयर खरिद–बिक्रीका क्रममा पाँच कम्पनीको सेयर मूूल्य भने १० प्रतिशतले नै बढेको छ । सेयर खरिद–बिक्रीका क्रममा कुनै पनि कम्पनीको सेयर मूल्य अधिकतम १० प्रतिशतसम्मले बढ्न वा घट्न सक्छ । सोमबार रिडी पावर कम्पनी, शिवश्री हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, मेन्छियाम हाइड्रोपावर र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य अधिकतम सीमामा अर्थात् १० प्रतिशतले बढेको छ । यीबाहेक ३६ कम्पनीको सेयर मूल्य पनि नौदेखि ९.९९ प्रतिशतसम्मका दरले बढेका छन् । नेप्सेका अनुसार सोमबार दुई सय ३० कम्पनीको सेयर मूल्य बढेको छ ।

सत्ता हेरफेरसँगै हुन्छ सेयर बजारमा हलचल  
 यसअघि गत १० पुस ०७९ मा माओवादी–एमालेसहितको सत्ता समीकरण बन्दा सेयर बजार ५६ दशमलव ८८ अंकले बढेर एक हजार नौ सय २४ दशमलव ०९ विन्दुमा बन्द भएको थियो । त्यसअघि कांग्रेस र माओवादी गठबन्धन हुँदा ९ पुसमा नेप्से सूचक १८ सयको हाराहारीमा रहेको थियो । तत्कालीन गठबन्धनले अर्थमन्त्रीमा एमालेका तर्फबाट विष्णु पौडेल अर्थमन्त्री हुने निश्चित भएको थियो ।

अहिले पनि समीकरणमा आएको परिवर्तनले निराश लगानीकर्तालाई थप उत्साहित बनाएको छ । त्यतिवेला नेप्से सूचक उच्चतम विन्दु दुई हजार एक सय ९० विन्दुसम्म पुगेको थियो । तर, दुई महिनापछि पुनः परिवर्तन भई कांग्रेस र माओवादीसहितको सरकार बनेको थियो । १२ फागुन ०७९ मा विष्णु पौडेल अर्थ मन्त्रालयबाट बाहिरिनुअघिदेखि नै नेप्से ओरालो लागेर २०७८ विन्दुमा आइपुगेको थियो । जेठ ०८० मा नेप्से सूचक घटेर एक हजार आठ सय १५ विन्दुसम्म आइपुगेको थियो ।

गत २४ मंसिरमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजारमा सर्किट ब्रेक लागेको थियो । उक्त समयमा नेप्से सूचक एक सय ११ अंकले बढेर सर्किट ब्रेक लागेर बन्द भएको थियो । उक्त समयमा पनि नेप्से सूचक एक हजार आठ सयको विन्दुबाट बढेर एक हजार नौ सयको विन्दुमा प्रवेश गरेको थियो ।
 

ad
ad