Skip This
‘माता’को सल्लाह पछ्याउँदा शिशु चोरीसम्म 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण १३ आइतबार o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘माता’को सल्लाह पछ्याउँदा शिशु चोरीसम्म 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार o८:oo:oo

‘माता’ले उनलाई डाक्टरकहाँ नजान भन्दै विभिन्न जडीबुटी मिलाइएको औषधि दिने गर्थिन् । सोही औषधिको प्रभावले महिनावारी गडबडी भइरहेको थियो । सात महिनादेखि महिनावारी भएको थिएन । मनकुमारीले श्रीमान् र परिवारको सदस्यहरूलाई समेत गर्भवती भएको बताएकी थिइन् ।

तथाकथित ‘माता’को सल्लाह पछ्याउँदा दैलेख नौमुले गापा–१ की २४ वर्षीया मनकुमारी सिंह अस्पतालबाट शिशु चोरी गर्ने चरणसम्म पुगेको खुलेको छ । काठमाडौंको काँडाघारी बस्दै आएकी सिंहले थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालबाट काभ्रे चौरी देउराली गापा–३ की २२ वर्षीया सबिना श्रेष्ठको २६ दिनको शिशु चोरी गरेकी थिइन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । चोरी भएको शिशु श्रेष्ठ परिवारलाई जिम्मा लगाई सकिएको छ । मनकुमारी तीन वर्षदेखि बौद्धस्थित ‘माता’ कहाँ जाने–आउने गर्दै आएकी थिइन् । उनकै प्रभावमा शिशु चोरी गर्ने चरणसम्म पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले शिशु चोरीमा संलग्न महिला हिरासतमा रहेको र उनी केही वर्षदेखि ‘माता’को सम्पर्कमा रहेको देखिएको बताए । उनले भने, ‘शिशु चोरीमा संलग्न महिला पक्राउ परेकी छिन् । उनलाई प्रहरी हिरासतमा राखिएको छ । उनी केही वर्षयता धार्मिक माताको सम्पर्कमा रहेको देखिन्छ । बाँकी विषयमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार सिंहको श्रीमान् नेपाली सेनामा कार्यरत छन् । उनको पाँच वर्षअघि विवाह भएको थियो । यसबीचमा उनको सात महिनाको शिशु खेर गएको थियो । उनी मानसिक रूपमा विक्षिप्त थिइन् । त्यसपछि उनी बौद्धस्थित एक धार्मिक माताको सम्पर्कमा पुगेकी थिइन् । माताले उनलाई डाक्टर कहाँ नजान भन्दै विभिन्न जडीबुटी मिलाइएको औषधि दिने गर्थिन् । सोही औषधिको प्रभावले उनको महिनावारीमा गडबडी भइरहेको थियो । पछिल्लो सात महिनायता पनि उनको महिनावारी भएको थिएन । उनले श्रीमान् र परिवारको सदस्यलाई गर्भवती भएको बताएकी थिइन् । उनले शारीरिक चालढाल पनि सोहीअनुसार बनाएकी थिइन् । श्रीमान् र परिवारका सदस्यले पनि उनी गर्भवती नै भएको ठानेका थिए । सुत्केरी हुने महिना पुग्दै आएपछि उनी तनावमा थिइन् । उनले घटनाको गुत्थी आफ्नी दिदीसँग भने फुकाएकी थिइन् । सोही क्रममा उनलाई थापाथलीस्थित प्रसूतिगृह जाने र बच्चा चोरी गर्ने जुक्ति फुरेको थियो । 

शिशु चोरी गर्ने योजनासहित उनी शुक्रबार बिहानै थापाथलीस्थित प्रसूतिगृह पुगेकी थिइन् । परिवारका सदस्यलाई भने सुत्केरी हुन अस्पताल गएको बताएकी थिइन् । सोही क्रममा उनी २२ वर्षीया श्रेष्ठनजिक पुगेकी थिइन् र ‘नानी मलाई देऊ म बोकी दिन्छु’ भन्दै मागेकी थिइन् । त्यसपछि भने उनी अस्पतालबाट एकाएक बेपत्ता भएकी थिइन् ।  शिशु काँडाघारीस्थित डेरा पुर्‍याएलगत्तै उनले आफू सुत्केरी भएको खबर श्रीमान्सहित परिवारका सदस्यलाई खबर गरेकी थिइन् । उनका श्रीमान् पनि खुसी हुँदै डेरा पुगेका थिए । शिशु चोरी गरी ल्याइएको खुलेपछि उनका श्रीमान् छाँगाबाट खसेझैँ भए । सिंहको मानसिक स्वास्थमा पनि समस्या देखिएको प्रहरीको भनाइ छ । परिसरका प्रवक्ता एसपी अधिकारीले भने, ‘सिंह प्रहरी हिरासतमा छिन् । उनको स्वास्थ अवस्था अहिले ठीकै छ ।’