Skip This
विद्यालयका लागि पुस्तक जुटाउँदै युवाहरू, छाब्दीबाराहीले अरनिको माविलाई दियो तीन सय बढी पुस्तक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १२ शनिबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालयका लागि पुस्तक जुटाउँदै युवाहरू, छाब्दीबाराहीले अरनिको माविलाई दियो तीन सय बढी पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार १८:o७:oo

लायन्स लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीले काभ्रेको अरनिको माध्यमिक विद्यालयलाई तीन सय बढी पुस्तक उपलब्ध गराएको छ।

क्लबमा आबद्ध युवाहरूले ‘हाम्रो लाइब्रेरी हामी बनाउँछौँ,’ अभियानअन्तर्गत आफ्नो व्यक्तिगत लगानी तथा दाताहरूबाट पुस्तक संकलन गरी चौरीदेउरालीको हरेडाँडामा अवस्थित अरनिको माविलाई पुस्तक उपलब्ध गराएका हुन्।

छाब्दीबाराही क्लबकी अध्यक्ष मन्जिता परियारका अनुसार विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञानसम्बन्धित, स्वास्थ्यसम्बन्धी, पाठ्यक्रमहरू, नोबेलहरू गरेर सबैखाले पुस्तक उपलब्ध गराइएको हो। आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबले जनाएको छ।

अरनिको माविका प्राधानाध्यापक बलराम चौलागाईंका अनुसार विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तकहरू थिएनन्। ‘अहिलेसम्म लाइब्रेरीमा के छ र जाने भन्ने थियो । युवा साथीहरूबाट विभिन्न खाले पुस्तकहरू प्राप्त भएपछि अब विद्यार्थी मात्रै होइन शिक्षकलाई पनि लाइब्रेरी छिर्न सजिलो हुनेछ,’ उनले भने, ‘यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ।’

‘पढ्ने र सिक्ने हरेक युवाको हक हो’ भन्ने मान्यताका आधारमा क्लबका युवाहरूले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । यसैक्रममा छाब्दीबाराही लियो क्लबले विद्यालयलाई सहयोग गरेको अध्यक्ष परियारले बताइन्।

‘पुस्तकालय स्थापनामार्फत युवाहरूले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। काठमाडौंनजिक भएर पनि दूरमा रहेको अरनिको माविलाई हामीले हाम्रो लाइब्रेरी हामी बनाउँछौँ भन्ने उद्देश्यले बुक सहयोग गरेका छौँ। यसले विद्यालयको पुस्तकालय चलायमान हुनेछ । शिक्षा र ज्ञानको केन्द्र बन्ने विश्वास छ,’ उनले भनिन् । 

लियो क्लब छाब्दीबाराहीको ११ सदस्यीय टोली विद्यालयमा पुगेर पुस्तकका साथै ८० जना विद्यार्थीलाई स्टेसनरी सामग्री पनि सहयोग गरेको छ।

टोलीसँग म्युजिक ब्यान्ड गोर्खाली तक्मा नेपालका प्रतिनिधि पनि पुगेका थिए। विद्यार्थीहरूलाई संगीतमार्फत पढाइदेखि मित्रतासम्मका ज्ञानहरू सिकाउँदै आएको ब्यान्डले विद्यालयमा प्रस्तुति दिएको थियो।