मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १२ शनिबार
  • Thursday, 26 December, 2024
रमेश सुवेदी काठमाडाैं
२o८o फाल्गुण १२ शनिबार o९:१८:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युवराज दीपेन्द्रलाई खेलकुदको तालिम गराउँदा...

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १२ शनिबार o९:१८:oo

खड्ग रानाभाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहिलो पुस्ताका प्रशिक्षक हुन् । उनको समयमा अहिलेजस्तो सबै खेलका प्रशिक्षक फरक–फरक थिएनन् । एकजना प्रशिक्षकले धेरै खेल हेर्नुपर्ने हुन्थ्यो । उनकै प्रशिक्षणमा नेपाली एथलेटिक्समा सदाबहार धावक वैकुण्ठ मानन्धर, हरि रोकाया, अमेरी यादव, नारायण यादवजस्ता खेलाडी हुर्किए । ०४३ मा बुढानीलकण्ठ स्कुलमा खेलकुद प्रशिक्षक बनेर जाँदा उनले राजपरिवारका सदस्यलाई प्रशिक्षण गराउने अवसर पाएका थिए । उनले प्रशिक्षण गराउने टोलीमा युवराज दीपेन्द्र र अधिराजकुमार नीराजनसमेत थिए । राजपरिवारका सदस्यलाई प्रशिक्षण गराएको क्षणलाई रानाभाटले गृहनगर पोखरामा नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए : 

स्कुल पुगेपछि मात्रै राजपरिवार भन्ने थाहा पाएँ
०४३ सालमा म राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रशिक्षकमा कार्यरत थिएँ । त्यो जमानामा अहिलेजस्तो एक खेलका लागि एक प्रशिक्षक भन्ने थिएन । रमाइलो पक्ष के भने त्यस समयमा परिषद्मा आबद्ध सबै खेलका खेलाडीलाई प्रशिक्षण गराएँ । राखेपमा सदस्यसचिव शरदचन्द्र शाह हुनुहुन्थ्यो । उहाँले मलाई अचानक आज बुढानीलकण्ठ स्कुलमा प्रशिक्षण गराउनुपर्‍यो भन्नुभयो । सदस्यसचिवको निर्देशनअनुरूप म बुढानीलकण्ठ स्कुलमा प्रशिक्षण तयार भएँ । प्रशिक्षण गराउन कुनै प्रक्रिया थिएन । केवल मुखको आदेश हुन्थ्यो । परिषद्का हाकिमले जहाँ भन्नुहुन्थ्यो, म त्यहीँ गएर प्रशिक्षण गराउँथेँ । बुढानीलकण्ठ स्कुल पुग्दा बल्ल थाहा पाएँ, त्यस दिन मैले राजपरिवारका सदस्यलाई प्रशिक्षण गराउनुपर्ने थियो । राजतन्त्रको शासनकालमा दरबारका सदस्यलाई प्रशिक्षण गराउनुपर्ने भनेपछि थप उत्साहित भएँ । 

राजपरिवारका सदस्य खेलकुद भनेपछि हुरुक्कै हुन्थे । अझ तत्कालीन युवराज दीपेन्द्रलाई खेलकुद एकदमै मनपर्ने । विशेष गरी उहाँ फुटबलमा असाध्यै रुचि राख्नुहुन्थ्यो । युवराज भए पनि दीपेन्द्र एकदम अनुशासित विद्यार्थी र खेलाडीमा पर्नुहुन्थ्यो । मैले त्यसवेला उहाँमा भएको राम्रो गुण खुबै मन परेको थियो । दीपेन्द्रले म राजपरिवारको मान्छे हुँ भन्ने भाव कहिल्यै पनि प्रस्तुत गर्नुभएन । एक सामान्य खेलाडी र अरू विद्यार्थीकै जस्तो व्यवहार उहाँले देखाउनुभयो । हुन त स्कुलको वातावरण नै त्यस्तै थियो । बुढानीलकण्ठमा पढ्न आउने अन्य विद्यार्थीजस्तै दीपेन्द्रले पनि त्यस्तै व्यवहार देखाउनुभएको थियो । 

सबैले उहाँलाई पनि ‘तिमी’ नै भनी सम्बोधन गर्थे । विद्यालयभित्र दीपेन्द्रलाई तपाईं, हजुर र सरकार भनी कसैले पनि बोलाएको मैले पाइनँ । उहाँलाई सबै विद्यार्थीले एक सामान्य साथी नै मान्थे । युवराज दीपेन्द्रलाई प्रशिक्षण गराउँदा म ४५ वर्षको थिएँ होला । १० कक्षामा अध्ययनरत दीपेन्द्र १५–१६ वर्षको जस्तो हुनुपर्छ । दीपेन्द्रलाई मैले विभिन्न खेलकुदको प्रशिक्षण गराएको थिएँ । प्रत्येक दिन मैले भनेको निर्देशन उहाँले मान्नुहुन्थ्यो । हामीबीच एक गुरु र चेलाकै सम्बन्ध थियो । प्रशिक्षणका क्रममा मलाई गुरु‘बा’ भनी बोलाउनुहुन्थ्यो । राजपरिवारका सदस्य, त्यसमाथि पनि युवराजले गुरु‘बा’ भन्दा कस्तो–कस्तो अनुभव हुन्थ्यो । 

तर, मैले यसलाई सामान्य रूपमै लिएँ । प्रशिक्षणका क्रममा गल्ती हुँदा एक प्रशिक्षक रिसाउनुपर्ने अवस्था आउँछ । यस्तो परिस्थितिमा प्रशिक्षणमा सहभागी सबै खेलाडीलाई सुझाउने एक प्रशिक्षकको कर्तव्य नै हो । बुढानीलकण्ठमा मैले धेरैपटक यस्तो क्षणको सामना गरेको थिएँ । तर, दीपेन्द्रले आफ्नो गल्ती स्वीकार गर्दै एक राम्रो विद्यार्थी र खेलाडीको उदाहरण दिनुभएको थियो । बुढानीलकण्ठमा तीन वर्ष शिक्षकका रूपमा कार्यरत भएको थिएँ । दीपेन्द्रसँगै अधिराजकुमार नीराजन पनि खेलकुदमा रुचि राख्नुहुन्थ्यो । त्यसवेला अधिराजकुमार धीरेन्द्र शाह पनि खेलकुदलाई असाध्यै माया गर्ने राजपरिवारमा पर्नुहुन्थ्यो । हुन त त्यसवेला खेलकुदको कार्यक्रममा राजपरिवारका सदस्यहरूको बाँक्लै उपस्थिति हुने गथ्र्यो । 

घाइते हुँदा ओलम्पिक खेल्न पाइनँ
१९७२ को तत्काल पश्चिम जर्मनीको म्युनिख सहरमा ओलम्पिक खेल आयोजना भएको थियो । नेपालबाट ओलम्पिक खेल्ने टोलीमा मेरो नाम पनि समावेश थियो । ओलम्पिकको तयारी क्रममा म घाइते भएँ । चोट गम्भीर भएका कारण मैले ओलम्पिकको प्रशिक्षण बीचमै छाडेँ । त्यसपछि म्युनिख ओलम्पिक खेल्ने टोलीको लिस्टबाट मेरो नाम फिर्ता भयो । जितबहादुर केसीलगायतका खेलाडीले म्युनिख ओलम्पिकको अवसर पाएका थिए । ओलम्पिक खेल्ने सपना अधुरै भए पनि जीवनमा यो कस्तो किसिमको खेल भन्ने जान्ने अवसर पाएँ । सन् १९८४ को अमेरिकाको लस एन्जलसमा भएको ओलम्पिकमा सहभागी हुने अवसर पाएँ ।

त्यसवेला म एक खेलाडीका रूपमा नभएर प्रतिनिधित्वका रूपमा ओलम्पिक आयोजना भएको सहरमा पुगेको थिएँ । त्यसताका म सेती अञ्चलको सचिव थिएँ । राजपरिवारसँग सम्बन्ध र प्रशिक्षकसमेत भएकाले ओलम्पिक हेर्ने अवसर पाएँ । त्यो ओलम्पिकमा एउटा घतलाग्दो घटना मेरो जीवनमा भयो । एक पदाधिकारीका रूपमा लस एन्जलस ओलम्पिक पुगेको व्यक्तिले उद्घाटनको दिन मार्च पासमा नेपालको झन्डा बोक्ने अवसर पाएँ । यहाँबाट नै ओलम्पिक बोक्दा झन्डा बोक्ने नाममा मलाई सिफारिस गरेको रहेछ । यो पछि मात्र थाहा पाएँ । सन् १९८८ को दक्षिण कोरियाको सोलमा आयोजित ओलम्पिकमा सहभागी भएँ । ओलम्पिकमा पदक जित्न तालिम मात्रै हुँदैन । त्यसअनुसारै वातावरण र राम्रो प्रशिक्षण चाहिने बुझेँ । 

अमेरिका बस्छु भन्दा सदस्यसचिवले खुबै झपारे 
त्यसवेला परिषद्का सदस्यसचिव शरदचन्द्र शाह हुनुहुन्थ्यो । उहाँकै अनुरोधमा म अमेरिकामा प्रशिक्षण गर्न पुगेको थिएँ । अमेरिकामा एक खेलाडीका रूपमा मैले विश्वस्तरीय प्रशिक्षण गर्ने अवसर पाएँ । त्यहाँको भौतिक पूर्वाधार र प्रशिक्षण हेर्दै म दंग परेको थिएँ । मनमनै सोच्ने गर्थेँ, ‘ओ हो ! नेपालमा पनि यस्तै सुविधा भएको भए हाम्रो खेलकुद कहाँ पुग्थ्यो होला ?’ अमेरिकामा मेरो प्रशिक्षण गरेको देखेर अमेरिकनहरू निकै प्रभावित भइसकेका थिए । जुन कुरा मलाई थाहा नै थिएन । एक दिन अमेरिकन अधिकारीले मलाई नेपाल नफर्क र अमेरिकामा बस्दा सबै राम्रो प्रबन्ध मिलाइदिने प्रस्ताव राखे । अमेरिकाको प्रस्ताव आउँदा भित्री मनबाट मलाई उतै बस्न मन लागेको थियो । त्यसवेला मलाइ टिमका साथीहरूले बस्नुपर्छ । नेपालमा फर्केर के गर्छौ ? त्यहाँ के भन्नेजस्ता कुरा भए । तर, म अमेरिकामा नेपालको प्रतिनिधि भएर गएको थिएँ । देशलाई धोका दिनुहुन्न । देशप्रति इमानदार हुनुपर्छ भन्ने मनमा थियो । मैले हाम्रो टिम लिडर (शरदचन्द्र)लाई सबै कुरा बताएँ । 

उहाँ मेरो कुरा सुनेर धेरै रिसाउनुभयो । मलाई यति गाली गर्नुभयो कि अहिले पनि उहाँको रिसाएको अनुहार झलझली याद आउँछ । उहाँले मलाई खुबै झपार्नुभयो । कुरै नगरौँ । ‘तिमीलाई देशले ठूलो धनराशि लगानी गरिसकेको छ । जर्मन, अमेरिका, रसिया, जापान र भारतमा पढ्ने अवसर पायौ । तिमी बाहिर गएर बस्यौ भने यो देश कसले सम्हाल्छ ?’ शाहले भन्नुभयो, ‘कस्तो तुच्छ कुरा गरेको तिमीले ?’ त्यसपछि मैले माफी मागेँ । मनमा लागेको कुरा मात्र बताएको भनेपछि उहाँको रिस शान्त भयो । त्यसपछि शदरचन्द्र शाहले मलाई देशका लागि अझै केही गर्नुपर्छ भन्ने भावना दर्साउनुभयो । तत्कालको परिस्थितिअनुसार अमेरिका बस्ने मन भए पनि नेपाल फर्किएँ । 

मसँगै यो जर्सी पनि जलाइदिनू 
०२६ सालमा त्रिकोणात्मक एथलेटिक्सपछि हामीलाई पोखराबाट काठमाडौं लगिएको थियो । यसपछि म टोलीमा परेको थिएँ । सन् १९७० मा भएको एसियन गेम्सका लागि मसँगै योगेन्द्र बस्नेत र सोमनाथ भुर्तेल काठमाडौं पुगेका थियौँ । काठमाडौंमा गंगाबहादुर, जितबहादुर र भक्तबहादुर थिए । तीन महिनापछि स्ट्रेपल चेजमा म छनोट भएँ । भारतका विद्यासागरले अभ्यास गराए । म तीन हजारमा दौडिएँ । बैंककमा भएको छैटौँ एसियन गेम्स खेलेर फर्किएपछि सबैबाट सम्मान पाएँ । त्यसवेलाको जर्सी अहिलेसम्म पनि मसँगै छ । त्यो जर्सी मैले घरमै राखेको छु । मेरो परिवारलाई भनेको छु, ‘खेलकुदमा दिएको योगदानस्वरूप मेरो देहान्तपछि झन्डा ओढ्ने हक पाएको छु । मैले ओलम्पिकमा झन्डा बोकेर मार्च पास गरेको थिएँ । मेरो पार्थिव शरीरमा झन्डासँगै यो जर्सी पनि राख्नु भनेको छु । यो मेरा लागि सधैँ प्रेरणा हो ।’ मैले नेपालका लागि लगाएको पहिलो जर्सी हो । नेपालका सानका लागि सन् १९७० मा पहिलोपटक लगाएको हो ।

दुर्गम क्षेत्रमा प्रशिक्षणको जिम्मेवारी 
राखेपले सधैँ मलाई दुर्गम जिल्लामा पठाउने गरेको थियो । पटियालामा सन् १९७३ मा पढेर फर्किएको थिएँ । शरदचन्द्र शाहले मलाई अवसर दिएपछि हरिबहादुर रोकायाजस्ता खेलाडीलाई प्रशिक्षण गराएको छु । जुम्ला, हुम्ला, कालिकोट, बर्दिया, बाँके पुगेर प्रशिक्षण गराएको छु । अहिलेका र त्यतिवेलाका धेरैलाई मैले नै प्रशिक्षण गराएको हो । हरि रोकाया चार वर्षको हुँदा मैले नै ल्याएको हुँ । वैकुण्ठलाई अमेरिका नै प्रशिक्षण गर्न लगेको थिएँ । कृष्ण बस्नेत, अमेरी यादव, नारायण यादव, पुष्पा भट्टलाई पनि प्रशिक्षण गराएको छु ।

तेस्रो साग गेम्समा वैकुण्ठले कीर्तिमान राखे । त्यो दुई घण्टा १५ मिनेट अझै पनि याद छ । मलाई यतिकै गौरव लाग्छ । दुःख गरेपछि सुख मिल्छ । अहिले खुसी लाग्छ । खेलाडीले जित्दा सधैँ खुसी लाग्छ । विधान लामाले पदक ल्याउँदा शरदचन्द्रसँगै हामी सबै खुसी थियौँ । सबै भावुक थिए । मैले ४६ सालतिर प्रशिक्षण छाडेको हुँ । 

सात घण्टा ६ मिनेटमा म्याराथन पूरा
अहिले म ७५ वर्षको भएँ होला । गत साता सफल पोखरा म्याराथनमा सहभागी भएँ । यो उमेरमा पनि मलाई एथलेटिक्स खेल्न मन पर्छ । पोखरामै भएको म्याराथन किन नखेल्नु भनेर खेलेको हुँ । सात घण्टा ६ मिनेटमा म्याराथन पूरा गरेँ । दौड कुनै पनि हालतमा सकाउने विश्वास थियो । अहिले म कमजोर छैनँ । खेलकुदमा शारीरिक, प्राविधिक र मनोगत रूपमा सधैँ तयार हुनुपर्छ । सधैँ यसलाई नै फलो गर्नुपर्छ । म्याराथन दौडन्छु भने अन्य खेलाडीलाई झनै प्रेरित गर्छ भनेर कुदेको थिएँ । अबको जिन्दगी पनि खेलकुदमा नै बिताउनुपर्छ भन्ने सोचेको छु ।