Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
एजेन्सी
२०७६ बैशाख २५ बुधबार ०९:५०:००
खेलकुद

गेल बने उपकप्तान

पाँचौँ एकदिवसीय विश्वकप खेल्ने क्रिस गेललाई वेस्टइन्डिज क्रिकेट बोर्डद्वारा उपकप्तानको जिम्मेवारी

एजेन्सी
२०७६ बैशाख २५ बुधबार ०९:५०:००

वेस्टइन्डिज क्रिकेट बोर्डले बायाँहाते ब्याट्सम्यान क्रिस गेललाई आसन्न एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि टोलीका उपकप्तान बनाएको छ । बोर्डले वेस्टइन्डिज टोलीको मुख्य जिम्मेवारी जासन होल्डरलाई सुम्पिएको छ । यसै महिनाको अन्त्यतिर वेल्स र बेलायतले संयुक्त रूपमा एकदिवसीय विश्वकप आयोजना गर्दै छन् । 

पाँचौँ विश्वकप सहभागिता
बायाँहाते विस्फोटक ब्याट्सम्यान गेलको यो पाँचौँ विश्वकप यात्रा हो । सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा उनले पहिलोपटक प्रतिस्पर्धा गरेका थिए । वेस्टइन्डिजका पूर्वकप्तानसमेत रहेका गेलले दुई सय ९८ एकदिवसीय खेल खेलेका छन् । गेलले इंग्ल्यान्डको भूमिमा अन्तिमपटक राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । आफ्नो अन्तिम विश्वकप तथा एकदिवसीय खेललाई स्मरणीय बनाउने उनको भनाइ छ । ‘मैले यस विश्वकपलाई विशेष रूपमा लिएको छु,’ गेलले भारतमा चलिरहेको १२औँ इन्डियन प्रिमियर लिग दौरान भनेका थिए, ‘म आफ्नो अन्तिम विश्वकपलाई यादगार बनाउनेछु ।’ 

१० हजार रन
सन् १९९९ मा डेब्यु गरेका गेलले एकदिवसीय खेलमा १० हजार रन पूरा गरिसकेका छन् । इंग्ल्यान्डविरुद्ध मार्चमा शतकीय इनिङ खेलेका गेलले १० हजार १ सय ५१ रन जोडेका छन् । उनले एकदिवसीय खेलमा २५ शतक तथा ५१ अर्धशतक बनाएका छन् । सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको एकदिवसीय विश्वकपमा गेलले व्यक्तिगत २ सय १५ रन बनाएका थिए । विश्वकपमा गेलले जोडेको रन व्यक्तिगत विश्व रेकर्ड हो । अलराउन्डर भूमिकामा समेत प्रस्तुत हुन सक्ने गेलले एकदिवसीय खेलमा एक सय ६५ विकेट लिएका छन् । उनले एकपटक पाँच विकेट पनि लिए । 

कप्तानलाई सहयोग गर्ने
वर्तमान समयमा वेस्टइन्डिजकै सबैभन्दा सिनियर खेलाडीमा गेल पर्छन् । गेलले एक सिनियर खेलाडीका रूपमा कप्तान जासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सिनियर खेलाडीका रूपमा म कप्तानलाई पूर्ण सहयोग र समर्थन गर्छु,’ उपकप्तानमा नियुक्त भएपछि गेलले भने, ‘म आफ्नो जिम्मेवारीबाट टाढा जान्नँ ।’ वेस्टइन्डिजले विश्वकपको पहिलो दु्ई संस्करण जितेको थियो । सन् १९७५ र १९७९ को संस्करण वेस्टइन्डिजको नाममा रह्यो । त्यसयता वेस्टइन्डिजले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन । वेस्टइन्डिजले ३१ मेमा पाकिस्तानविरुद्ध खेल्दै विश्वकपको यात्रा प्रारम्भ गर्नेछ ।