१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:१७:oo

मच्छिन्द्र फुटबल क्लबले सोमबार छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । मच्छिन्द्रले गत साता मकवानपुर गोल्डकपको उपविजेता टोली न्युरोड टिम (एनआरटी) माथि ५–१ को फराकिलो जित निकाली अन्तिम दुई स्थान पक्का गरेको हो ।

जनता मावि खेल मैदानमा एनआरटीका खेलाडीबीच तालमेल नमिल्दा मच्छिन्द्रले दुवै हाफमा फाइदा लिएको थियो । एनआरटीले प्राप्त मौका गोल गर्न सकेन । मच्छिन्द्रका हिसुब थपलिया र विदेशी खेलाडी स्टेफेन समिरले समान दुई गोल गरेका थिए । विमल घर्तीमगरले एक गोल गरे । उत्कृष्ट लयमा देखिएको मच्छिन्द्रले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । 

क्वार्टरफाइनलमा एनआरटीले सिमराको नव जनजागृति युवा क्लबलाई हराएको थियो । मच्छिन्द्रले जावलाखेल युथ क्बललाई निराश पारेको थियो । मच्छिन्द्रले एनआरटीमाथि दबाब राखेको थियो । खेलको नवौँ मिनेटमा हिसुबले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । खेलको १३औँ मिनेटमा स्टेफेनले मच्छिन्द्रलाई २–० को स्थितिमा राखे । चार मिनेटको अन्तरमा दुई गोल व्यहोरेपछि एनआरटी सम्हालिन सकेन । स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दा मच्छिन्द्र ३–० को बलियो स्थितिमा पुग्यो ।

 एनआरटीको एक गोल
दोस्रो हाफमा मच्छिन्द्रले खेलमा थप सुधार गरेको थियो । एनआरटीले पनि बिस्तारै खेलमा सुधार गर्दै मच्छिन्द्रको पोस्टमा चार्ज गरेको थियो । तर, फिनिसिङ लाइन बलियो भएको मच्छिन्द्रले गोल अवसर चुकाएन । खेलको ५९औँ मिनेटमा हिसुबले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ४–० को अग्रता दिलाए । खेलको ६०औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी सेबेले एक गोल फर्काए । सेबेको गोलसँगै एनआरटी खेलमा फर्कने सम्भावना देखाएको थियो । तर, यसबाहेक अन्य समयमा एनआरटीका खेलाडीले मच्छिन्द्रको डिफेन्स तोड्न सकेन । खेलको ९१औँ मिनेटमा विमलले मच्छिन्द्रको जित ५–१ ले पक्का पारे । 

ad
ad