मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २९ सोमबार ११:४९:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मस्तिष्क तेजिलो बनाउने उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार ११:४९:oo

मस्तिष्ककै इसारामा मानिसका गतिविधि र हरेक अंग चल्ने भएकाले यसलाई तेजिलो बनाउन खानपान, व्यायाम र जीवनशैलीमा ध्यान दिन जरुरी छ । तनावले मस्तिष्कमा असर गर्ने भएकाले यसलाई कम गर्नुपर्छ । लगातारको तनावका कारण मस्तिष्कले कार्टिसोल हर्मोन रिलिज गर्दै लैजान्छ । र, बिस्तारै शरीरभरि तनाव फैलिन थाल्छ । सामान्य अवस्थामा पनि तनावविना काम गर्न नसक्ने परिस्थिति आउन सक्छ । मेमोरी लस, मुड डिसअर्डर, सेन्स गुम्नेलगायतका समस्या देखिन सक्छ । तसर्थ, तनाव कम लिने गर्नुपर्छ । 

स्वस्थ खानपान : हाम्रो शरीरसँग खानाको सीधा सम्बन्ध हुन्छ । त्यसैले हामीले सधैँ अर्गानिक र स्वस्थ खानेकुरा खानुपर्छ । जंकफुडबाट टाढा रहनु राम्रो हुन्छ । सिजनल फलफूल, खानामा सलादको मात्रा बढाउने, नट्स, ओखर, बदाम, टुसा उम्रिएका गेडागुडीलगायत प्रोटिनयुक्त खानेकुराले मस्तिष्कलाई राम्रो गर्छ । असन्तुलित र अस्वस्थकर खानाले पाचन प्रणालीमा हानि पुर्‍याउने गर्छ । अत्यधिक विषादीयुक्त खानाले त शारीरिक साथै मानसिक असर पनि पर्न जान्छ । यस्ता खाद्यपदार्थले शरीरमा असर पार्छ र त्यस्ता असर रगतका माध्यमबाट मस्तिष्कमा पनि पुग्छ । यस्ता खानाले मानिसमा तनाव बढाउने पनि काम गर्छ । जसले गर्दा मस्तिष्कमा आघात पुग्छ ।

व्यायाम : दैनिक केही समय व्यायामका लागि छुट्याउनुपर्छ । पसिना निस्कने गरी व्यायाम गर्नुपर्छ । हिँड्ने, जिम जाने वा घरमै योगाभ्यास र ध्यान गर्न सकिन्छ । कुनै न कुनै शारीरिक गतिविधिमा संलग्न रहदाँ तनाव पनि कम भएर जान्छ र दिमागको सिर्जनात्मक क्षमता पनि बढ्छ । ध्यानले दिमागलाई स्थिर राख्ने, धैर्यता विकास गर्ने र सोच्ने क्षमता अभिवृद्धि गर्छ ।

मदिराबाट टाढा रहनुस् : मदिरा र लागुपदार्थले मस्तिष्कलाई अत्यधिक असर गर्छ । मदिराले मस्तिष्कको जटिल संरचनामा गहिरो प्रभाव पार्ने भएकाले यसबाट टाढा रहनुपर्छ । यसले मस्तिष्क कोषिकाहरू (न्युरोन्स)बीचको रासायनिक संकेतहरू रोक्छ, जसले आवेगपूर्ण व्यवहार, अस्पष्ट बोली, स्मरणशक्ति ह्रास बनाउँछ । मस्तिष्कको न्युरोट्रान्समिटरलाई असर पुर्‍याउँछ । धूम्रपानले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ ।

जसले मस्तिष्कलाई असर गर्छ
हर्न, कोलाहल : हर्न र अत्यधिक कोलाहलले मानिसमा स्ट्रेस बढाउने काम गर्छ । र, मानिस इरिटेड हुन थाल्छ । जसले दिमागमा पनि प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । यसले कानको जालीमा पनि उत्तिकै असर पार्छ । किनकि, कानको पनि आफ्नै सीमा हुन्छ । बढी चर्को र निकै सानो आवाजले पनि कानलाई असर पुर्‍याउँछ । जसका कारण मानिसमा रक्तचाप पनि बढ्न थाल्छ । 

मोबाइलको बढी प्रयोग : पछिल्लो समय प्रायः मानिस ले मोबाइलमा अत्यधिक समय बिताउने गर्छन् । यसबाट निस्कने रेडिएसनहरूले मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । राति सुत्ने वेला बढी मोबाइल चलाउँदा त अझ बढी असर गर्छ । सिरानी वा टाउकोको नजिकै मोबाइल राखेर सुत्ने बानी पनि गर्नुहुँदैन । सकेसम्म खाटमा मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू राख्नुहुँदैन । यसो गरेमा खाटमा जानेबित्तिकै निद्रा आउने बानीको विकास हुन्छ ।

एन्जाइटी, डिप्रेसन : एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याले पनि मस्तिष्कमा असर पुर्‍याइरहेको हुन्छ । ब्रेनका भागहरू असन्तुलित हुन थाल्छन् । समस्या लामो समयसम्म बढ्दै जाँदा कुनै कारणविना पनि डर लाग्ने, नकारात्मक विचार, अत्यधिक थकान हुनेलगायतका समस्या आउन सक्छ ।

दुर्घटना : शरीरका सबै भाग मस्तिष्कबाट स्वचालित हुन्छन् । दुर्घटना हुँदा चोटले दिमागमा पनि असर पुग्छ । खासगरी, शरीरका केही भागमा चोट लाग्दा पनि कुनै न कुनै मात्रामा त्यसको असर मस्तिष्कमा पर्न जान्छ ।