१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार १२:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हाइड्रोजन गाडी दर्ता गर्न कानुनी बाधा

केन्द्र र प्रदेशका सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनमा हाइड्रोजन गाडी दर्ता गर्ने व्यवस्था नै गरिएको छैन । काठमाडौं विश्वविद्यालयले दुई महिनाअघि आयात गरेको हाइड्रोजन कार दर्ता नहुँदा प्रांगणमा थन्किएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १२:१o:oo

शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् हाइड्रोजनबाट चल्ने गाडी नेपालमा दर्ता गर्न कानुनी बाधा देखिएको छ । यसअघि स्वदेशमै उत्पादन भएका मोटरसाइकल (यात्री) दर्ता गर्न र दुईपांग्रेमै १०० लटमाथिको नम्बर प्लेट राख्न कानुन नै बाधक बनेको थियो । केन्द्र र प्रदेशका सवारी तथा यातायात व्यवस्था ऐनमा हाइड्रोजन गाडी दर्ता गर्ने सम्बन्धमा कुनै पनि व्यवस्था गरिएको छैन । फलस्वरूप हाइड्रोजन गाडी दर्ता नहुने अवस्था सिर्जना भएको छ ।

काठमाडौं विश्वविद्यालयले अध्ययनका लागि दुई महिनाअघि कोरियाबाट हाइड्रोजनबाट चल्ने हुन्डाई कम्पनीको कार ल्याएको थियो । तर, कानुनी व्यवस्था नहुँदा उक्त गाडीले नम्बर प्लेट, ब्लु बुक र रुट परमिट पाउन सकेको छैन । विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले कानुनी व्यवस्था नहुँदा उक्त गाडी दर्ता गर्न नसकिएको बताए । ‘हामीले विशुद्ध प्राज्ञिक अध्ययनकै लागि यो गाडी ल्याएको हो । जुन प्रयोजनका लागि भए पनि गाडी दर्ता त गर्नुपर्ने हुन्छ होला । तर, कानुनी व्यवस्था नहुँदा दर्ता हुन सकेको छैन,’ उनले भने, ‘गाडीको ब्लु बुक, नम्बर प्लेट, रुट परमिट केही पनि छैन । अहिले विश्वविद्यालय हाताभित्रै उक्त गाडी प्रयोग गरिरहेका छौँ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले नयाँ ऐनमार्फत यसलाई सम्बोधन गर्ने बताए । ‘यो नयाँ प्रविधि हो, प्रचलित ऐनले यसलाई समेट्दैन । हामी अहिले यातायातसम्बन्धी प्रचलित ऐनलाई संशोधन गरेर नयाँ ऐन ल्याउने तयारीमा छौँ, त्यसमार्फत यसलाई सम्बोधन गर्नेछौँ,’ उनले भने, ‘अहिले सवारी दर्तासम्बन्धी काम प्रदेशले नै गर्छ । तर, यसबारे एउटा एकीकृत मापदण्ड भने केन्द्रबाटै बनाउनेछौँ ।’ 

यातायात क्षेत्रमा हाइड्रोजनबाट चल्ने गाडी नयाँ प्रविधि हो । नेपालमा यसको व्यावसायिक आयात तथा सञ्चालन सुरु भइसकेको छैन । बढ्दो जलवायु परिवर्तनका कारण विश्वभर नै हाइड्रोजन गाडीको महत्व बढ्दै गएको छ । छिमेकी मुलुक भारतलगायत देशमा हाइड्रोजन गाडी सञ्चालनमा आइसकेका छन् । टोयटा, बिएमडब्लू, हुन्डाई, होन्डाजस्ता ठूला कम्पनीहरूले हाइड्रोजन गाडी उत्पादन सुरु गरिसकेका छन् ।

जेसिइबीजस्ता कम्पनीले पनि हाइड्रोजनबाट सञ्चालन गर्न सकिने ह्याभी इक्विपमेन्ट उत्पादनमा जोड दिँदै छन् । त्यो अवस्थामा नेपालमा हाइड्रोजन गाडी भित्रिने सम्भावना उच्च छ । ३ माघको मन्त्रिपरिषद्ले ग्रिन हाइड्रोजन नीति–२०८० स्वीकृत गरेको छ, त्यसमा ग्रिन हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गर्ने परिकल्पना छ । त्यसअनुसार अबका दिनमा नेपालमा हाइड्रोजन उत्पादन र हाइड्रोजन गाडीको प्रयोग हुने सम्भावना उच्च छ ।

काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख थापाले हाइड्रोजन गाडी दर्ता गर्न मिल्ने कानुनी व्यवस्था यथाशीघ्र गर्नुपर्ने बताए । ‘सरकारले हाइड्रोजन नीति ल्याएर एउटा जग त बनाएको छ । अब आवश्यक कानुन, कार्यविधि तथा निर्देशिका ल्याएर हाइड्रोजन गाडीको दर्ता गर्न बाटो खुला गर्नुपर्छ,’ उनले भने, ‘यसमा ढिलाइ गर्नुहुँदैन ।’

सरकारले पेट्रोलियम पदार्थ र विद्युत्बाट चल्ने गाडीका लागि भन्सार तथा कर तोकेको छ । तर, यस्ता गाडीको आयात गर्दा के–कति कर उठाउने भन्ने विषयमा पनि अन्योल छ । काठमाडौं विश्वविद्यालयले अध्ययन प्रयोजनका लागि भनेर भन्सार छुटमा उक्त गाडी आयात गरेको थियो । व्यावसायिक रूपमा आयात गर्दा भने कर तिर्नुपर्छ, त्यस सम्बन्धमा प्रचलित कानुनमा कुनै पनि व्यवस्था छैन । 

बढ्दो जलवायु परिवर्तनका कारण विश्वले नै पेट्रोलियम गाडीको प्रयोगलाई निरुत्साहन गरेको छ । नेपालले पनि सन् ०४५ सम्म शून्य कार्बनमा जाने लक्ष्य लिएको छ, त्यसका लागि पेट्रोलियम गाडी विस्थापित गर्नुपर्छ । त्यसको विकल्पमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गरिएको छ । तर, विद्युतीय गाडीको प्रयोग भने झन्झटिलो छ । बारम्बार चार्ज गर्नुपर्ने कारण लामो दूरीमा यस्तो गाडी प्रयोग गर्न कठिन छ । त्यसमाथि ठूला–ठूला मालवाहक ट्रकहरू पनि ब्याट्री (विद्युत्)बाट सञ्चालन गर्न गाह्रो हुन्छ ।  

 पाँच डलरमा दुई सय किलोमिटर 
साथै, यस्ता गाडी पेट्रोलियमभन्दा सस्तो पनि हुने देखिन्छ । १६७.५ रुपैयाँको एक लिटर पेट्रोलले औसत १५ किलोमिटरसम्म कार गुडाउन सकिन्छ । तर, पाँच डलरमा पाइने ग्रिन हाइड्रोजनले एउटा कार दुई सय किमिसम्म कुदाउन सकिनेछ । त्यसमाथि सन् ०३० सम्म एक किलो हाइड्रोजनको मूल्य एक डलरमा झार्ने लक्ष्य लिइएको छ ।

त्यसअनुसार निकट भविष्यमा एक डलरमा (१३३ रुपैयाँ) एउटा कारलाई दुई सय किमिसम्म कुदाउन सकिनेछ । अहिले विद्युतीय कारहरूमा औसत ७० पैसा, एसयुभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ । अहिले काठमाडौं विश्वविद्यालयले प्रयोग गरेको हाइड्रोजन कारको कम्पनी मूल्य ३३ हजार डलर रहेको छ । गाडीलाई चाहिने हाइड्रोजन विश्वविद्यालय आफैँले उत्पादन गरेको छ ।

 नेपालमा हाइड्रोजन उत्पादन कति सम्भव छ ?
बिजुलीले पानीलाई टुक्र्याएर हाइड्रोजन उत्पादन गर्न सकिन्छ । इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन टुक्र्याइन्छ । नेपालमा प्रशस्त मात्रामा पानी उपलब्ध छ । साथै, विद्युत् उत्पादन पनि बढ्दै गएको छ । त्यो अवस्थामा नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन सम्भव देखिएको छ । यद्यपि, कति हाइड्रोजन उत्पादन गर्न सकिन्छ भनेर औपचारिक अध्ययन भने भएको छैन ।

नेपालमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र अपि पावरले ग्रिन हाइड्रोजनमा लगानी गर्ने घोषणा गरिसकेका छन् । हाइड्रोजनबाट सवारीसाधन र उद्योग सञ्चालन तथा रासायनिक मल उत्पादन गर्न सकिन्छ । यो पेट्रोलभन्दा प्रदूषणरहित हुन्छ । अहिले प्रयोग भइरहेको पेट्रोल, डिजेल तथा कोइलाबाट उत्पादन हुने ऊर्जाले वातावरण नमज्जाले प्रभावित भएको छ । विभिन्न अध्ययनहरूले ठूला पानीजहाज, लक्जरी ट्रकहरू हाइड्रोजनमार्पmत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने देखिएको छ ।  

ad
ad