आइसिसी यू–१९ विश्वकप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार टेस्ट राष्ट्र अफगानिस्तानको टोलीलाई एक विकेटको सनसनीपूर्ण जित निकाली सुपर सिक्सको स्थान पक्का गरेको छ । यू–१९ विश्वकपमा नेपालले तेस्रोपटक समूह चरण पार गरेको हो । यसअघि नेपालले पाकिस्तान (२००२), दक्षिण अफ्रिका (२००४, २००६) र न्युजिल्यान्ड (२००६, २०१६) जस्ता टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो ।
दक्षिण अफ्रिकामा चलिरहेको विश्वकपमा नेपालले समूह ‘डी’मा तेस्रो स्थान रक्षा गर्दै सुपर सिक्सको स्थान सुरक्षित गरेको हो । यस समूहबाट तेस्रो हुने टोली पनि सुपर सिक्समा पुग्ने प्रावधान थियो । नेपाल र अफगानिस्तानले आफ्ना अघिल्ला दुवै खेल गुमाएका थिए । दुवै पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएका थिए । शुक्रबार इस्ट लन्डनमा नेपाल र अफगानिस्तानबीचको विजेता तेस्रो टोलीका रूपमा अघिल्लो चरण पुग्ने थियो । गर या मरको अवस्थामा नेपालले ३२ बलअघि नै अफगानिस्तानलाई एक विकेटले स्तब्ध पार्न सफल भयो । नेपालको जितमा फास्ट बलर आकाश चन्दले घातक बलिङ गर्दै ३४ रन खर्चेर पाँच विकेट लिए ।
अफगानिस्तानले पहिलो ब्याटिङ गरी ४०.१ ओभरमा सबै विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । नेपालले अफगानिस्तानलाई सर्वाधिक २१ अतिरिक्त रन दियो । प्रत्युत्तरमा नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रन जोड्यो । अफगानिस्तानले नेपाललाई १६ अतिरिक्त रन दियो । नेपालका लागि सुवास भण्डारीले चौका विजयी प्रहार गरेका थिए । नेपाल ४३.६ ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रनमा थियो । अफागनिस्तानलाई जितका लागि एक विकेट आवश्यक थियो ।
कप्तान देवको अर्धशतक
अफगानिस्तानविरुद्ध नेपालका शीर्ष, मध्य तथा पुछारका खेलाडीले खराब प्रदर्शन गरेका थिए । इनिङ्सको ८.१ ओभरमा नेपाल २४–३ को अवस्थामा थियो । त्यसपछि कप्तान देव खनाल र आकाश त्रिपाठीबीच चौथो विकेटका लागि ४९ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई २३.१ ओभरमा ७३ रनको स्थितिमा राखे । कप्तान देवले आफ्नो विकेट २७.४ ओभरमा गुमाए । उनले ८९ बलमा सात चौकाको सहयोगमा ५८ रन बनाए । आकाशले ३९ रनमा १६ रनको महत्वपूर्ण योगदान दिए । त्यसपछि दीपक बोहराले ४२ बलमा चार चौकाको सहयोगमा २७ रन बनाए । सुवास भण्डारीले अन्तिमसम्म आउट नभई २९ बलमा नौ रन जोडे ।
५५ रनको साझेदारी
नेपालका बलर आकाश चन्दको घातक बलिङ सामना गर्न नसक्दा अफगानिस्तान एक समय ८८–८ को कमजोर अवस्थामा थियो । कप्तान नासेर खान र घजाफारबीच नवौँ विकेटका लागि ५५ रनको साझेदारी भयो । यसै साझेदारीका कारण अफगानिस्तानले ३७.४ ओभरमा १४३–९ को सुदृढ अवस्थामा आफूलाई पायो । नासेरले ८३ बलमा तीन चौका प्रहार गरी ३१ रन बनाए । घजाफारले २१ बलमा ३७ रन जोडे । हसनले २० रन बनाए । अफगानिस्तानको ब्याटिङमा पाँच खेलाडीले शून्य रन बनाएका थिए ।
आकाशले लिए पाँच विकेट
नेपाललाई सुपर सिक्समा पुर्याउन सबैभन्दा ठूलो योगदान बलर आकाश चन्दले गरेका थिए । उनले यू–१९ विश्वकपमा पहिलोपटक पाँच विकेटको प्रदर्शन गरे । यसक्रममा उनले ८ ओभरमा ३४ रन खर्चेर पाँच विकेट लिए । इनिङ्सको आफ्नो पहिलो ओभरमै उनले विकेट लिन सफल भए । इनिङ्सको १.३ ओभरमा उनले खालिदको विकेट लिए । त्यसपछि उनले ५.५ ओभरमा जमसिद जार्दानलाई आउट पारे ।
७.६ ओभरमा उनले साहिल खानलाई क्याच आउट गराए । ९.१ ओभरमा उनले अलि अहमेद एलबिडब्लूको धरापमा राखे । ११.३ ओभरमा आकाशले हसनलाई क्याच आउट गरे । यसअघि उनले न्युजिल्यान्डविरुद्ध पाँच रन मात्र दिएका थिए । ब्याटिङका क्रममा उनले तीन खेलमा ३१ रन बनाएका छन् । पाकिस्तानसँगको प्रतिस्पर्धामा उनले ३४ रन खर्चेर तीन विकेट लिएका थिए । अफगानिस्तानविरुद्धको खेलमा महत्वपूर्ण योगदान गरेका कारण उनी म्यान अफ दी म्याच भए ।
एकपटक क्वार्टरफाइनलमा
सन् २००० देखि नेपालले यू–१९ विश्वकपमा सहभागिता जनाएको हो । यसअघि १९८८ र १९९८ मा नेपाल छनोट नै हुन सकेन । नेपाल लगातार २००२ देखि ०८ सम्म विश्वकपमा छनोट भएको थियो । सन् २०१०, २०१४, २०१८, २०२० र २०२२ को संस्करणमा नेपालले विश्वकपमा स्थान बनाउन सकेन । २४ वर्षको यू–१९ विश्वकप इतिहासमा नेपालले आठपटक विश्वकप खेलेको छ । यसक्रममा नेपाल एकपटक क्वार्टरफाइनल र एकपटक दोस्रो चरणमा पुगेको थियो । सन् २०१६ को बंगलादेशमा भएको विश्वकपमा नेपालले इतिहास रच्दै क्वार्टरफाइनल स्थान पक्का गरेको थियो ।
आठ वर्षअघिको संस्करणमा नेपाल समूह ‘डी’मा रहेको थियो । यस समूहमा भारत, न्युजिल्यान्ड र आयरल्यान्ड थिए । नेपालले समूहमा दुई जित र एक हारका साथ चार अंकसहित क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले क्वार्टरफाइनलमा ५ फेब्रुअरी २०१६ मा सेमिफाइनल प्रवेशका लागि बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । बंगलादेशले नेपाललाई ६ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा दुई सय ११ रन बनाएको थियो । बंगलादेशले ४८.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय १५ रन जोड्यो । सन् २००० मा पहिलोपटक सहभागिता जनाउँदा नेपाल दोस्रो चरणमा पुगेको थियो ।
नेपालको सुपर सिक्स प्रतिद्वन्द्वी को ?
अफगानिस्तान हराएको नेपालको सुपर सिक्स चरणको प्रतिद्वन्द्वी छिनोफानो भएको छैन । नेपालले सुपर सिक्समा समूह ‘ए’ विजेता र उपविजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस समूहमा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेका छन् । यी तीनमध्ये शीर्ष दुईसँग नेपालले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फम्र्याटअनुसार समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्ये सुपर सिक्समा हरेक टोलीबाट समान तीन टोली पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा समूह ‘ए’ र ‘डी’का टोली एक–अर्काबीच भिड्नेछन् । समूह ‘बी’ र ‘सी’का टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ ।
समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रोसँग खेल्नेछ । उपविजेताले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्नेछ । नेपालले ३१ जनवरीमा समूह ‘ए’को उपविजेता तथा ३ फेब्रुअरीमा समूह ‘ए’को विजेतासँग खेल्नेछ । यस समूहको विजेता र उपविजेता छिनोफानो भएको छैन । सुपर सिक्समा समूहको अंक पनि जोडिनेछ । नेपालले यू–१९ विश्वकपमा पहिलोपटक सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘डी’ चौथो स्थानको अफगानिस्तानले अब समूह ‘ए’को चौथो टोलीसँग खेल्नेछ ।
सुपर सिक्समा पुग्ने सपना पूरा भयो : देव खनाल, कप्तान, नेपाल
हामीले सुरुदेखि नै सुपर सिक्समा पुग्ने लक्ष्य राखेका थियौँ । यो सपना अब पूरा भएको छ । पछिल्लो संस्करणमा नेपाल क्वार्टरफाइनलमा पुगेको थियो । यो आठ वर्षमा हामी यू–१९ विश्वकपमा छनोट भएनौँ । पछिल्लो समय नेपाली क्रिकेट राम्रो छ । हामीले एसिया कप र विश्वकप छनोट खेल्यौँ । युवादेखि सिनियर खेलाडीहरूले राम्रो गरिरहेका छन् । यतिवेला देश क्रिकेटमय भएको छ । हामी घर गएपछि झनै राम्रो गर्न सक्छौँ । हामीले देश र समर्थकका लागि खेल्न सफल भयौँ । अफगानिस्तानविरुद्ध आकाश चन्दले धेरै राम्रो बलिङ गरे । हामीले पाकिस्तानविरुद्ध पनि राम्रो खेलेका थियौँ । यस प्रतियोगितापछि हामी फिटनेस र बलिङमा ध्यान दिन्छौँ ।
हामीमाथि अन्तिमसम्म दबाब थियो : आकाश चन्द, बलर, नेपाल
अफगानिस्तानसँगको खेल रोमाञ्चक नै भयो । इनिङ्सको अन्तिमसम्म हामीमाथि धेरै दबाब रह्यो । फेरि नेपालको निरन्तर विकेट गइरहेको थियो । कुनै पनि वेला जे पनि हुन सक्ने अवस्था थियो । वास्तवमा अन्तिमतिरको नेपालको ब्याटिङ मैले हेर्नै सकिनँ । सुपर सिक्समा पुग्नु हाम्रा लागि यो ठूलो अवसर हो । हामी सबै खुसी छौँ । बलिङका क्रममा म फोकसमा थिएँ । निरन्तर रूपमा मैले एक लाइनमा बलिङ गरिरहेँ । मेरो योजना सुरुबाटै विकेट लिने थियो । त्यसमा सफल भयौँ र अफगानिस्तानमाथि दबाब राख्यौँ ।