रुकुम पूर्वको तकसेरा मैकोट– ६ का विशाल रोकामगर २३ वर्षका भए । पढ्ने–लेख्ने उमेरमा खच्चर व्यवसाय गर्दै आएका उनी व्यवसायकै सिलसिलामा रुकुमबाट हुम्ला पुगेका छन्। खच्चर व्यवसायबाटै परिवारको खर्च जोहो गर्दै आएको ६–७ वर्ष भइसकेको उनले सुनाए।
रुकुममा गाडी चल्न थालेपछि खच्चर विस्थापित भएकाले विशाल हुम्ला आएका हुन्। पढ्ने–लेख्ने मन हुँदाहुँदै घरपरिवार ठूलो भएकाले खर्च जुटाउन उनी केही वर्ष भारत पनि बसे। अहिले खच्चर व्यवसायबाट उनले मासिक ५० देखि ६० हजारसम्म कमाइ गर्दै आएको बताए।
मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ नखजीका रमेश कार्कीले पनि खच्चर व्यवसाय अँगालेको ६ वर्ष भयो। ‘१५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएँ। गिटी, बालुवा बोकेर सात–आठ हजार कमाएर घरपरिवारको खर्चको जोहो गर्थेँ,’ उनले भने, ‘अहिले आफ्नै ६ वटा खच्चरबाट महिनामा ६० हजारसम्म आम्दानी गर्छु। धेरै खच्चर हुनेहरूले बढी नै कमाउँछन्।’
उनका अनुसार चारवटा खच्चर भएका व्यक्तिले मासिक न्यूनतम २० हजार र नाैवटा खच्चर भएकाले एक लाख ३० हजारसम्म कमाउँछन्। मुगु र बाजुरामा गाडी पुगेपछि उनी पनि हुम्लातिर आएका हुन्। चंखेली गाउँपालिकाको सल्लीसल्ला हुँदै सदरमुकाम सिमकोटसम्म दैनिक चार–पाँच सय खच्चर ओहोरदोहोर गर्दै आएका कार्कीले बताए।
मुगु जिल्लाकै खत्याड गाउँपालिका– ९ जामिरेका १८ वर्षका नवीन भण्डारी पनि एसइईको परीक्षापछि खच्चर व्यवसाय गर्दै आएका छन्। सल्लीसल्लादेखि सदरमुकाम सिमकोटसम्म प्रतिकेजी ४०–४५ रुपैयाँमा खच्चरबाट सामान ढुवानी गर्दै आएको भण्डारीले बताए।
‘महिनामा सात–आठपटक आवतजावत गर्नुपर्छ। कहिले खच्चर बिरामी हुन्छ, कहिले गोठाला बिरामी हुन्छन्,’ उनले भने, ‘एकपटक तीन–चार क्विन्टलसम्म खच्चरबाट सामान ढुवानी गर्नुपर्छ। बाटो अफ्ठ्यारो छ।’ सदरमुकाम सिमकोट मात्रै नभई हुम्ला जिल्लाका विकट गाउँबस्तीसम्म खच्चरबाटै सामान ढुवानी हुँदै आएको छ।