१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३१ सोमबार o७:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिसले जित्यो प्रो क्लब च्याम्पियनसिप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:१९:oo

नेपाल पुलिस क्लबले पहिलो संस्करणको प्रो क्लब टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नारायणी रंगशालामा शनिबार भएको फाइनलमा पुलिसले पर्सा क्लब ११ लाई सय रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको हो । पहिलो ब्याटिङ गरेको पुलिसले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा फाइनलमा कमजोर ब्याटिङ गरेको पर्सा ११ ओभरमा ४५ रनमै अलआउट भयो । 

पुलिसलाई च्याम्पियन बनाउने क्रममा सागर ढकालले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा २२ रन खर्चेर सर्वाधिक चार विकेट लिए । ब्याटिङमा पुलिसका लागि करण केसीले विस्फोटक ब्याटिङ गरी १७ बलमा पाँच छक्काको सहयोगमा ४० रनको योगदान दिएका थिए । 

पुलिसको मध्यक्रम बलियो
पहिलो ब्याटिङ गरेको पुलिसका लागि शीर्ष तीन ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । पुलिसले तीन विकेट गुमाउँदा ७.४ ओभरमा ४७ रन जोडेको थियो । मध्यक्रममा शंकर राना, अर्जुन साउद, आरिफ सेख तथा करणले उत्कृष्ट योगदानसँग साझेदारी गरेपछि पुलिसले पर्सालाई चुनौतीपूर्ण योगफल खडा गरेको हो । शंकरले १२ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रनको योगदान दिए । अर्जुनले २६ बलमा समान एक चौका र छक्काको सहयोगमा २६ रन बटुले । आरिफले १९ बलमा १६ रन बटुले । 

पुलिसका लागि पाँचौँ किेटका लागि अर्जुन र आरिफबीच ३९ रनको साझेदारी भएको थियो । यसैगरी, सातौँ विकेटका लागि करण र सागर ढकालबीच ३८ रनको साझेदारी भएको थियो । बलिङमा पर्साका लागि सैफुला अन्सारीले १६ रन खर्चेर दुई विकेट लिए । पवन सराफले ४१ रनमा दुई विकेट हात पारे । 

पर्साको कमजोर ब्याटिङ
लक्ष्य पछ्याएको पर्साले प्रतियोगिताकै कमजोर ब्याटिङ गरेको थियो । पर्साका नियमित कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहरिएपछि फाइनल खेल खेलेनन् । यद्यपि, उनलाई टोलीले खेलाउने योनजा बनाएको थियो । फाइनलमा सुरज पटेलले कप्तानी गरेका थिए । १४६ रन लक्ष्य पछ्याएको इनिङ्समा पर्सा पहिलो बलमै आउट भयो । इनिङ्सको पहिलो बलमै ढकालले इमरान सेखलाई बोल्ड गरे । दोस्रो ओपनर अनिल साहले सर्वाधिक १३ रनको योगदान दिन १२ बलमा समान एक चौका र छक्का प्रहार गरे । 

अनिलबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । पर्साको ब्याटिङमा १० खेलाडीले दोहोरो रन बनाउन सकेनन् । तीन ब्याट्सम्यान डकआउट भए । रञ्जित कुमार, इमरान, अफजाज मन्सुरी शून्य रनमा आउट भए । 

नाम चलेका खेलाडी पवनले सात रन, हसिम अन्सारीले नौ रन र सुरजले ६ रनको योदगान दिए । पुलिसको बलिङमा ललित राजवंशीले दुई र रसिद खाने दुई विकेट लिए । ललितले पाँच रन र रसिदले चार खर्चेका थिए । 

ad
ad