१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ०६:२९:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनाको क्याम्पबाट भागेर स्वदेश आइपुगेका तीन नेपाली युवाको युद्ध वृत्तान्त

Read Time : > 5 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० मङ्सिर २७ बुधबार ०६:२९:००

दलाललाई ६ लाख ३० हजार रुपैयाँ बुझाएर सैनिक क्याम्पबाट भागेका उनीहरू चप्पलमै मस्को पुगे, त्यहाँबाट नेपाली विद्यार्थीले दिल्लीसम्मको टिकट काटेर पठाइदिए, शुक्रबार उनीहरू स्वदेश आइपुगे

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडेका तीन नेपाली युवा भागेर स्वदेश आइपुगेका छन् । एजेन्टलाई ६ लाख ३० हजार बुझाएर दोलखाका रामचन्द्र श्रेष्ठ र शिवहरि कार्की तथा चितवनका राम परियार गत शुक्रबार स्वदेश आइपुगेका हुन् । 

शिवहरि कार्की, दोलखा

मंगलबार नयाँ पत्रिकाको सम्पर्कमा आएका उनीहरूले १८ देखि ५० वर्ष उमेरका करिब १५ सय नेपाली रुसी सेनामा भएको बताउँदै युद्धमा ज्यान गुमाउने र घाइते हुने कैयौँको संख्यामा रहेको बताएका छन् । ३० घन्टासम्म लगातार युद्धमैदानमा होमिएर बाँच्न सफल श्रेष्ठ र परियार तथा आँखामा समस्या भएपछि युद्ध मैदानमा जानबाटै जोगिएका कार्की सैनिक क्याम्पबाट उम्किएर स्वदेश फर्किंदाको कहानी मार्मिक छ । युएईमै सेक्युरिटी गार्डको जागिर गर्ने कार्की साथी श्रेष्ठकै प्रस्तावमा रुस गएका थिए । 

युक्रेनको बम लागेर आफ्नै आँखाअगाडि नेपाली युवाहरू भकाभक ढलेको देखेका श्रेष्ठले पहिलो युद्धबाट फर्किएर रुसी सैनिक क्याम्प आएलगत्तै आफ्नो भाइलाई सम्पर्क गरे । बाँचेर फर्किएकालाई फेरि अर्को युद्धमा फर्काउने चिश्चित थियो, त्यसैले उनले उद्धार गर्न भाइलाई आग्रह गरे । श्रेष्ठका अनुसार भाइले रुसमै व्यवसाय गर्दै आएका आफन्तसँग सम्पर्क गरे । ती आफन्तले युक्रेनमा बस्ने भारतीय साथीलाई समस्या सुनाए । भारतीयले युक्रेनी आर्मीमा भएका एक एजेन्टसँग सम्पर्क गरे । तीनजनाको ६ लाख ३० हजार बुझाउने गरी उनीहरूलाई क्याम्पबाट भगाउने योजना बन्यो । रुसले कब्जा गरेको युक्रेनकै भूभाग नोभोपेट्रिभका भन्ने ठाउँमा रुसी सेनाको क्याम्पमा उनीहरू थिए । 

श्रेष्ठका अनुसार उनीहरूलाई उद्धार गर्न ४ डिसेम्बरमा स्वयंसेवक संस्थाको एक गाडी क्याम्पनजिकै पठाइएको थियो । योजनाअनुसार गाडी पुग्नुअघि नै तीनैजना क्याम्पबाहिर निस्किएका थिए । गाडी आएपछि उनीहरू चढेर भागेका थिए । युक्रेनी एजेन्टले अर्का रुसी एजेन्टसँगको समन्वयमा १२ घन्टा लामो यात्रापछि मस्को पुर्‍याइदिएको श्रेष्ठले बताए । 

‘मस्को आइपुग्दा हाम्रो खुट्टामा चप्पल मात्रै थियो । रुसी सेनाको आँखा छलेर भागेकाले जुत्ता लगाउने कुरै भएन । युद्ध क्षेत्रमा घुँडासम्म आउने हिउँ थियो । धेरै मुस्किलले मस्कोसम्म पुगियो,’ उनले भने । 

मस्कोमा नेपाली विद्यार्थीसँग सम्पर्क गरेको र उनीहरूकै सहयोगमा टिकट काटेर दिल्लीसम्म आइपुगेको बताए । दिल्लीबाट गत शुक्रबार उनीहरू काठमाडौं आइपुगेका हुन् । काठमाडौं झरेपछि सबैभन्दा पहिले माटोलाई ढोगेको रामचन्द्रले सुनाए । ‘आगोको भुमरीमा पसेर सकुशल फर्किन्छु भन्ने लागेकै थिएन,’ उनले भने, ‘स्वदेशको भूमिका टेकेपछि बल्ल बाँचेजस्तो भयो ।’ 

अहिलेको अवस्थामा रुसी आर्मीमा जानु सीधै मृत्युको मुखमा जानुसरह भएको अनुभव सुनाउँछन् राम परियार । ‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए यहीँ लेबर काम गरेर भए पनि बस्थेँ,’ उनले भने, ‘जानेवेलासम्म त्यस्तो हुन्छ भन्ने थाहा थिएन । आर्मीमा भर्ती भएपछि चार–पाँच महिना त तालिम दिन्छ होला, त्यसपछि युद्ध पनि मत्थर होला भन्ने ठानेर गएको हो ।’ 

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये त्यहाँ पढ्न गएका विद्यार्थी, सामान्य नागरिक, पूर्वप्रहरी र पूर्वसैनिक रहेको श्रेष्ठले बताए । उनका अनुसार करिब ५० नेपाली विद्यार्थी त्यहाँको सेनामा छन् । कतार, दुबईलगायत मुलुकबाट गएका नेपाली पनि उतैबाट रुसी आर्मीमा भर्ती भएको उनले बताए । दुबईबाट जाने धेरै छन् । रुसी आर्मीमा भर्ती हुन कुनै पनि योग्यता नचाहिने श्रेष्ठले बताए । होचा, पुड्का, कम तौल भएका, पाका उमेरदेखि हातका औँला नभएका नेपाली पनि रुसी आर्मीमा भेटिएको उनले सुनाए । 

‘म भने लामो समय तालिममा बस्न पाएँ, तर कतिपयलाई पाँच दिनमै युद्धमा पठाइएको छ,’ उनले भने । उनका अनुसार तालिममा बन्दुक चलाउन र प्राथमिक उपचारबारे मात्रै सिकाइन्थ्यो । युद्धमा पठाउँदा पनि बन्दुक, बारुद र एउटा मेडिकल सामग्री दिएर पठाउने गरेको उनले बताए । 

भर्ती हुँदा मासिक तीन लाख रुपैयाँसम्म पारिश्रमिक हुने बताए पनि पारिश्रमिक निश्चित रूपमा नपाउने गरेको पनि फर्किएकाले बताएका छन् । सेप्टेम्बरमा भर्ती भएपछि दुई महिनासम्म कुनै पारिश्रमिक नपाएको परियारले बताए । ‘त्यस अवधिमा दुईपटकसम्म घरबाट नै पैसा मगाएर खर्च गरेँ,’ उनले भने । तर, रामचन्द्रले भने युद्ध क्षेत्रमा गएपछि थप भत्ता पाएको बताए । ‘युद्धमा गएबापत थप भत्ता पनि दिइएको रहेछ । अहिले बैंक खाता हेरेको एक महिनाको ६ लाख रुपैयाँसम्म दिएछ,’ उनले भने । उनीहरूका अनुसार रुसी सेनामा नेपालीबाहेक इजिप्ट, केन्यालगायत मुलुकका नागरिक पनि छन् । 

चितवनका राम परियारले सुनाए : तीन नेपाली साथी आँखैअगाडि ढले

१० वर्ष नेपाल प्रहरीको जागिर खाएपछि उपदान लिएर निस्किएको थिएँ । रुसी आर्मीमा अवसर खुलेको खबर पाएपछि भिजिट भिसामा जाने निधो गरेँ । तर, रुसले सीधै भिजिट भिसा नदिन सक्ने ठानेर ट्राभल एजेन्सीको सल्लाहमा मलेसिया, सिंगापुर र बैंकक पनि गएँ ।

त्यसपछि रसियाको भिजिट भिसा लाग्यो । रसियासम्म पुग्न झन्डै पाँच लाख खर्च भयो । गत सेप्टेम्बरमा मस्को पुगेपछि आर्मीमा भर्ती भएँ । मसँगै अन्य पाँच नेपाली एकै ठाउँमा थियौँ । हाम्रो समूह सानो भएकाले युद्धमा पठाएको थिएन । २९ नोभेम्बरमा युद्धमा जाने टोलीमा भने हामीहरूको पनि नाम आयो ।

हामीभन्दा अगाडि भर्ती भएका १६ जना नेपालीसँग मिसाएर दुई समूह बनाई सबैलाई युद्धमा पठायो । एउटा समूहमा १२ र अर्कोमा १० जना थियौँ । दुई समूहलाई एक घन्टाको फरकमा  हिँडायो । 

युद्धमैदान भयावह थियो । युक्रेनले ड्रोनबाटै निगरानी गर्दै बम खसाल्थ्यो । युक्रेनी सेना भने बंकरमा सुरक्षित रहन्थे । हामी पूर्ण रूपमा असुरक्षित थियौँ । तर, पहिलो रातमा खासै क्षति भएन । भोलिपल्ट उज्यालो भएपछि बमबारी झन् व्यापक भयो । उज्यालो भएपछि फर्किने भनेर लगेका हामीलाई युद्धमैदानमै राखियो ।

युद्धका क्रममा मेरै सामुन्ने तीन नेपाली साथी ढले । उनीहरूबारे मलाई विस्तृत जानकारी भने भएन । ३० घन्टा लामो युद्धपछि आधा नेपाली युद्ध क्षेत्रमै छुटे । कोही घाइते भए, कोहीले मृत्युवरण गरे । बाँचेकाहरू छुट्टाछुट्टै फर्कियौँ । गाडी भएको ठाउँमा पुगेकाहरू पछि सँगै क्याम्प फर्कियौँ । 

दोलखाका रामचन्द्र श्रेष्ठको बयान : घाइते साथीलाई तान्दातान्दै बम खस्यो, भागेर जोगिएँ

३० नोभेम्बरको त्यो रात... 
युद्धमैदानमा एकसाथ गएका हामी २२ नेपालीमध्ये १० जना मात्रै फर्किन सफल भयौँ

युएईमा सेक्युरिटी गार्डको काम गरेको आठ वर्ष भइसकेको थियो । स्वदेश फर्किने योजनामा थिएँ । त्यसैवेला विदेशीलाई रुसी सेनामा भर्ती खुलेको सुनेँ । मैले पनि जाने सोच बनाएँ । पूर्वआर्मी पनि भएकाले युद्धकालमा लडाइँ लडेको अनुभवका कारण मलाई जान आँट आयो । युएईबाटै करिब तीन लाख रुपैयाँ खर्च गरेर भिजिट भिसामा मस्को पुगेँ ।

गत अगस्टको अन्तिममा मस्को पुगेपछि सीधै सेनामा भर्ती भएँ । सबैभन्दा पहिला एमन गार्ड भन्ने ठाउँमा लगियो, त्यहाँ तालिम दिइन्थ्यो । एमन गार्डमा ४० दिन बसेपछि रुस्तम सिटी भन्ने ठाउँमा लगियो । त्यहाँ अन्य नेपाली पनि थिए । नेपालीलाई रुसी सेनाको टिममा विभाजन गरिएको थियो । प्रत्येक टिममा दुई–दुई नेपालीलाई मिसाएर राखेको थियो ।

डिसेम्बरको सुरुवातमा रुसी समूहमा भएका सबै नेपालीलाई एकै ठाउँमा बोलाइयो । मलाई किन छुटाएको भनेर मैले मेरो रुसी नाइकेलाई प्रश्न गरेँ । उसले तिमीलाई थप तालिम दिन लगिँदै छ भन्यो । त्यसपछि ढुक्क भएँ । तर, २९ नोभेम्बरमा युद्धमा जाने सेनाको नामावली सार्वजनिक भयो, जसमा मसहित २२ नेपालीको नाम आयो ।

त्यसमा एकजना केन्याका नागरिक थिए भने सात रुसी अफिसर । अब मरिने भइयो भन्ने लाग्यो । युद्धमा जानुअघि हाम्रो साथमा भएका सबै सामान थुतियो । हातमा बन्दुक र फस्र्ट एड बक्स थमाइयो, शरीरभरि ग्रिनेड भिराइयो । रातिको ७ बजेपछि ट्रकमा राखेर २०० किलोमिटर पर पुर्‍याइयो । त्यहाँबाट एक घन्टा हिँडाएपछि ट्यांकरमा चढाइयो । ट्यांकर अगाडि बढ्दै जाँदा गोलीका आवाज सुनिन थाल्यो । आकाशमा आगोको ज्वाला देखियो । युद्धमैदानमा पुगेको थाहा भयो । 

आधा घन्टापछि रातको १२ बजे ट्यांकरबाट ओरालियो । युक्रेनी सेनाले देख्न सक्छ भनेर अँध्यारोमै हिँडायो । मोर्चामा नेपालीलाई अगाडि खटाएको थियो । साथमा पिउने पानी पनि थिएन । हिँड्दाहिँड्दै एक्कासि बमबारी भएपछि पछाडि रहेका रुसी अफिसरहरू सुरक्षित बंकरमा पसे । दुवैतर्फबाट बम प्रहार भयो । राति ३ बजेतिर ठूलो फायरिङ भयो । तर, हामी जोगियौँ ।

भोलिपल्ट बिहान भएपछि युद्धबाट फर्किने कुरा थियो । तर, समूहमा एकजना पनि घाइते नभएपछि फेरि लडाइँमै पठाइयो । यसपटक भने हाम्रा साथीहरू घाइते भए । कसैलाई गोलीका छर्रा लाग्यो, कोही बममा परे । तर, मैले भने जसरी पनि जीवित फर्किन्छु भन्ने सोच बनाएँ । भयानक अवस्था भयो भने आफैँलाई गोली हानेर घाइते बन्ने योजना बनाएँ । त्यसो गर्दा उद्धार गरेर सुरक्षित स्थानमा पठाउँछन् भन्ने आशा थियो । 

लड्दै गर्दा मसँगै रहेका पूर्णबहादुर गुरुङको हातमा गोली लाग्यो । ढलेका उनी चिच्याउँदै थिए । म उनलाई उठाउन अगाडि बढेँ । तर, फेरि युक्रेनी सेनाबाट आएको बम उनीमाथि खस्यो । पूर्णबहादुर ठाउँको ठाउँ सकिए । त्यसपछि म भागेँ । चाहेर पनि साथीलाई ल्याउन सकिनँ । लगातार ३० घन्टाको युद्धपछि हामी फेरि बंकरमा गयौँ । राति हामीलाई घाइते तथा मृत्यु भएका साथीहरूको शव लिन पठाइयो ।

तर, युक्रेनी सेना मृतक साथीहरूको शरीरमा लाइट तेस्र्याएर बसेका रहेछन् । शव लिन आए ठोकिहाल्ने योजना रहेछ । साथीहरूको शव उठाउन सकिएन । युद्धमैदानमा एकसाथ गएका २२ नेपालीमध्ये त्यो राति १० जना मात्रै फर्किन सफल भयौँ । फर्कँदा विभिन्न बाटो हुँदै छुट्टाछुट्टै आयौँ । युक्रेनले ट्र्याक गर्न सक्छ भनेर तितरबितर हुँदै गाडीसम्म आइपुग्यौँ । गाडीले १२ घन्टामा हामीलाई क्याम्पमा पुर्‍यायो । बाँचेकामा धन्य भइयो, पानीसम्म नखाँदा पनि भोक–प्यासको महसुस भएन ।