एकपटक एउटी गौपालक युवती दूध बेचिरहेकी थिइन् । उनले सबैलाई दूध नापी, तौली दिइरहेकी थिइन् । सोही समय एउटा युवा दूध लिन आउँछ । उनले सो युवाको भाँडामा दूध ननापी नै भरेर दिइन् । सोही स्थाननजिकै एकजना साधु हातमा माला लिएर जप गर्दै बसेका थिए ।
उनले यो कुरा देखेरे आफू नजिकै बसेका अर्का व्यक्तिलाई सबै विवरण बताउँछन् र त्यसको कारण के होला भनेर जान्न खोज्छन् । जुन युवालाई ती गौपालक युवतीले ननापी नै दूध दिइन् । उनी सो युवासँग प्रेम गर्छिन् भनेर ती व्यक्तिले भन्छन् ।
यो कुराले साधुको मनभित्र छोयो । उनले सोचे कि एउटा दूध बेच्ने युवती प्रेमको हिसाब राख्दिनन्, तर म ईश्वरसँग प्रेम गर्ने व्यक्तिचाहिँ बिहानदेखि साँझसम्म गनी–गनी माला जप्छु ।
उनले मभन्दा त ती युवती नै उत्तम छिन् भन्ने सोचेर जपमाला चुँडालेर फ्यालिदिए । जहाँ प्रेम हुन्छ, त्यहाँ हिसाब–किताब हुँदैन । र, जहाँ हिसाब–किताब हुन्छ, त्यहाँ प्रेम हुँदैन, केवल व्यापार हुन्छ ।