१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८o मङ्सिर २३ शनिबार ११:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विदेशीसँग ऋण लिएर तलब खुवाउने अवस्था आयो : शेखर कोइराला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार ११:५९:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको आर्थिक स्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्ताे चिन्ता व्यक्त गरेका हुन्।

कांग्रेसलाई जनतासँग जोड्न सके मात्र देशमा परिवर्तन हुने उनको भनाइ थियो। पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने उनले बताए। 'देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सके मात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ,' डा. कोइरालाले भने। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

'केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ। यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो। यसको नतिजा चितवनमा कांग्रेसको संगठन कमजोर हुँदै गएको छ। यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ,' कोइरालाले भने। यहाँका क्षेत्र, पालिका, वडा मात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी संगठन कमजोर हुँदै गएको उनको भनाइ थियो।  

कांग्रेस एक्लै चुनाव लडे मात्र बलियो हुन्छ

डा. कोइरालाले कांग्रेस एक्लै चुनाव लडे मात्र बलियो पार्टी बन्ने बताए। 'जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौँ तबसम्म पार्टी झन्झन् कमजोर बन्दै जान्छ,' उनले भने, 'देशको आर्थिक स्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेकोमा चिन्ता लाग्छ।'

उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्ष मात्र प्लस टू पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएको भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए। कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाको भनाइ थियो।    

भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास हुँदैन   
देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए। महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाको आरोप छ। चितवन–काठमाडौं प्रजातान्त्रिक संगमका पूर्वअध्यक्ष विष्णु पौडेलले चितवनबाट काठमाडौं आएर बसेका प्रजातन्त्रवादीहरू संगठित हुनका लागि उक्त संगम स्थापना गरिएको बताए।