१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : इन्जुरी समयमा सम्हालिन नसक्दा चितवन रोकियो

बुटवल–लुम्बिनीसँग १–१ को बराबरी नतिजा व्यहोरेको चितवनले प्ले अफमा स्थान बनाउन बाँकी चार खेल जित्नैपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o८:oo

विदेशी खेलाडी स्टेफन समिर विनोङले अन्तिम पाँच मिनेट इन्जुरी समयकै पहिलो मिनेटमा गोल गरेपछि दशरथ रंगशालामा एफसी चितवन दोस्रो जित निकाल्न वञ्चित भएको छ । नेपाल सुपर लिगको आफ्नो चौथो खेलमा बुधबार बुटबल लुम्बिनी र चितवनले १–१ गोलको बराबरी खेलेका हुन् । बराबरी नतिजाबाट दुवै टोली खुसी देखिएन् । स्पष्ट ३ अंकले प्ले अफको सम्भावना बलियो हुने थियो । यसकारण पनि यी दुवै टोली प्ले अफमा स्थान बनाउन चर्को दबाबमा देखिएका हुन् । अब लिगमा चार खेल बाँकी छ । चारै खेलमा जित निकाल्दा मात्र प्ले अफको सम्भावना हुनेछ । तीन खेलमा हार वा बराबरीले नतिजाले प्ले अफबाट टाढिने अवस्था छ । 

बुटबल लुम्बिनीसँगको बराबरी नतिजा निकाल्दा चितवनले अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चितवनले चार खेलबाट ५ अंक बटुल्दा एक जित र हार सामना गरेको छ । यसैगरी चितवन दुई खेलमा बराबरीमा रोकियो । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बटुल्यो । चितवनले तेस्रो खेलमा वीरगन्जविरुद्ध २–१ को रोमाञ्जक जित निकालेको थियो । एनएसएलमा चितवनले पहिलो जित नै वीरगन्जमाथि निकालेको थियो । 

‘दिनदिनै मिहिनेत गरिरहेका छौँ । प्रदर्शनमा सुधार आएको छ । प्रत्येक खेलमा अवसर धेरै बनाएका छौँ,’ चितवनका लागि भारतीय प्रशिक्षक मेहराजुद्दिन वाडुले भने, ‘प्ले अफ पुग्न कठिन छ, तर प्रदर्शन हेर्ने हो भने सम्भावना बलियो छ ।’ अन्तिम समयमा गोलरक्षक तथा मार्की विशाल श्रेष्ठसँगै दुई विदेशी खेलाडीबीच तालमेल नमिल्दा चितवन स्पष्ट जितबाट टाढियो । बुटवलले निरन्तर रूपमा गोल प्रयास जारी राखेको थियो । खेलको अन्तिम इन्जुरी समयसम्म गोल गर्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको बुटवलले १ अंक हात पार्‍यो । बराबरीसँगै बुटवलले एक स्थान सुधार पनि गर्‍यो । चार खेलबाट ४ अंक जोडेको बुटवल छैटौँ स्थानमा उक्लेको छ ।

बुटवल पहिलो खेलमा ललितपुर सिटीसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग १–० ले नै हार्न पुग्यो । मार्की खेलाडी एरिक विष्टको विश्वस्तरीय गोलसँगै तेस्रो खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराएको थियो । बुटवलका प्रशिक्षक विजय महर्जनले बाँकी खेल जित्नै पर्ने दबाब रहेको प्रस्ट पारे । ‘बाँकी खेलमा निकै दबाब हुनेछ । हामीले जसरी पनि जित्नैपर्छ । तर, यो दबाब स्वीकार गर्छु,’ महर्जनले भने ।

चितवनविरुद्ध जित्नुपर्ने खेलेमा एक सामान्य गल्ती गोलका कारण दबाबमा परेको उनले जनाए । ‘आज जसरी हुन्छ ३ अंक नगुमाउने लक्ष्यका साथ आएका थियौँ । तर, खेलमा एक सिल्ली गोल भयो । जसकारण अंक बाँड्नुप¥यो,’ महर्जनले भने । प्रतियोगितामा ४० मध्ये १६ खेल सम्पन्न हुँदा ८ अंकसहित पोखरा शीर्ष स्थानमा छ ।  

स्टेफनले टारे संकट
हारतर्फ अग्रसर भइसकेको बुटवलका लागि विदेशी खेलाडी स्टेफनले संकट टारेका थिए । ९० मिनेटको खेलसम्म चितवन १–० ले जिततर्फ अग्रसर थियो । फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलमा पाँच मिनेट इन्जुरी समय थप गरे । इन्जुरी समयको पहिलो मिनेटमै स्टेफनले गोल गर्दै बुटबललाई १–१ को बराबरीमा ल्याए । मोन्टेनेग्रोका रक्षक इभानोभिक र घानाका रक्षक अब्मुबारिक युसिफसँगै चितवनका गोलरक्षक विशालबीच डिबक्सभित्र तालमेल मिलेन । विपक्षी खेलाडीको गल्तीमा स्टेफनले भरपुर फाइदा लिँदै गोल गरे ।