गत अगस्टमा अर्जेन्टिनामा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा पहिलोपटक चुनाव लडेका हाभियर मिलेईले देशका दुई प्रमुख दलका उम्मेदवारभन्दा बढी मत ल्याएर सबैलाई स्तब्ध बनाइदिए । हालै सम्पन्न अन्तिम चरणको निर्वाचनमा उनले संस्थापन पक्षधर वामपन्थी नेता सर्गियो मासालाई हराएर देशका राष्ट्रपति चुनिएका छन् । उनले कुल खसेको मतमध्ये ५५ प्रतिशत मत पाए । उनको समर्थनको प्रमुख आधार आश्चर्यजनक रूपमा युवा मतदाता, अझ स्पष्ट रूपमा युवा पुरुष देखिएका छन् ।
अक्टोबरमा भएको अघिल्लो चरणको निर्वाचनअघि मतसर्वेक्षणले २९ वर्ष र सोभन्दा कम उमेरका झन्डै ५० प्रतिशत मतदाताको समर्थन मिलेईलाई रहेको देखाएको थियो । सबै जिङ्ग्रिङ्ग कपालमा देखिने मिलेई आफूलाई ‘अराजक–पुँजीवादी’ बताउँछन् । उनले चुनावमा आफूलाई परम्परागत राजनीतिज्ञको विरोधी उम्मेदवारका रूपमा प्रचार गरेका थिए र ‘ती सबैलाई पाखा लगाऔँ’ भन्ने नारा लगाएका थिए । मिलेईको जितलाई अमेरिकी महादेश तथा विश्वभर उग्र–दक्षिणपन्थीको उदयको अर्को संकेतको रूपमा हेरिएको छ ।
तर, मिलेई र अन्य क्षेत्रका उग्र दक्षिणपन्थी नेताबाट भिन्न देखाउने एक पक्ष छ, त्यो हो उनीप्रतिको व्यापक युवा समर्थन । मिलेईलाई तुलना गरेर हेरिने अमेरिकाका ट्रम्प र ब्राजिलका बोल्सोनारो युवामाझ अलोकप्रिय छन्, उनीहरूको मुख्य मतआधार तिनका देशका धार्मिक रूपमा कठोर वयस्क र वयोवृद्ध जनसंख्या हुन् । तर, शतप्रतिशतभन्दा उच्च दरको महँगीबाट पीडित अर्जेन्टिनीहरूलाई राहत दिने वाचाका साथ मिलेईले युवाहरूको साथ पाए । उनले यो वाचा पूरा गर्न आवश्यक परे, देशको केन्द्रीय बैंक खारेज गर्ने बताइएछन् ।
मिलेईले कतिपय दक्षिणपन्थी मुद्दाहरूलाई पनि समर्थन गरेका छन्, जसमा बन्दुक राख्न पाउने खुकुलो व्यवस्था गर्नेदेखि व्यक्तिलाई तिनको अंगदान गर्ने स्वतन्त्रता दिनेसम्म व्यवस्था छन् । उनी जलवायु परिवर्तन मानवसिर्जित भएको मान्न अस्वीकार गर्छन् । गर्भपतन खुला गर्न नहुने बताउँछन् । कतिपय चुनावी र्यालीमा उनी चेनस बोकेर आएको देखिन्थ्यो, जसलाई उनी देशको सार्वजनिक खर्च कटौती तथा उदार समाजिक खर्च फिर्तीको प्रतीक बताउने गर्थे । मिलेईको विचारमा राज्य मुख्यतः आन्तरिक सुरक्षामा सीमित हुनुपर्छ । उनले आफू राष्ट्रपति भएपछि शिक्षा मन्त्रालय, वातावरण मन्त्रालय, महिला तथा लैंगिक समानता मन्त्रालयजस्ता ‘अनावश्यक’ निकाय खारेज गर्ने वाचा गर्ने बताएका थिए ।
मिलेईले लिएका मुद्दाका कारण उनका चुनावी र्यालीमा उग्र–दक्षिणपन्थीहरूको उपस्थित अनौठो थिएन । अनौठो थियो त युवाहरूको उनीप्रतिको आकर्षण । अर्जेन्टिनाको इतिहासमा युवाहरू सामान्यतया दक्षिणपन्थी शक्तिसँग तानिएको पाइँदैन । २१औँ शताब्दीको अधिकांश समय, युवाहरूको समर्थन देशको वामपन्थी ‘पेरोनवादी’ गठबन्धनमा रहँदै आएको थियो । सन् २०१९ सम्म पनि युवा मतदातालाई वामपन्थी उम्मेदवारको पक्षमा थिए । तिनकै समर्थनमा सो वर्षको राष्ट्रपति निर्वाचनमा वामपन्थी उम्मेदवार विजयी भए ।
विद्यार्थी र युवाहरू सन् १९७० र ८० को दशकमा देशको सैन्य शासन प्रमुख प्रतिरोधी शक्ति थिए । (तर मिलेई र उनले चुनेको उपराष्ट्रपतिले भने सो अवधिमा भएको मानव अधिकार हननका घटनालाई न्यूनीकरण गर्दै आएका छन् ।) यस ऐतिहासिक परिपे्रक्ष्यमा मिलेईप्रतिको युवा मतदाताको समर्थन ‘प्याराडाइम सिफ्ट (आमूल परिवर्तन)’का रूपमा हेरिएको छ । विज्ञहरू युवाहरूको बदलिएको समर्थनपछाडि धेरै कारण रहेको बताउँछन्, जसमा मुख्य कारण देशको बिग्रिँदो आर्थिक संकट र त्यसले निम्त्याएको लामो पीडा हो ।
शतप्रतिशत मुद्रास्फीतिको राजनीति
अहिले अर्जेन्टिनाको अर्थतन्त्रको जुनसुकै परिसूचक हेरियो भने पनि एउटै निष्कर्ष निस्किन्छ, देशको आर्थिक स्थिति निकै भयावह छ । सेप्टेम्बरमा वार्षिक मुद्रास्फिर्ती १३८ प्रतिशतसम्म पुग्यो, जुन विश्वकै सबैभन्दा उच्चदर हो । उच्च मुद्रास्फीतिको कारण गरिबी बढिरहेको छ । हाल ४० प्रतिशतभन्दा बढी अर्जेन्टिनी नागरिक गरिबीको रेखामुनि पुगेका छन्, जुन सन् २०१७ मा २५ प्रतिशत थियो । देशमा आर्थिक संकटबाट प्रभावित नहुने कोही छैन, तर युवाहरू उच्च बेरोजगारीका कारण थप बढी पीडा भोग्न विवश छन् । केन्द्रीय बैंकको मुद्रा सञ्चिति झन्डै रित्तिँदै छ, जसले मुद्रा अवमूल्यन र अर्को टाट पल्टिने अवस्थाको घोषणा हुने अवस्थामा पुगेको छ ।
‘आज बजारमा गएर सामान किन्नुस् एउटा मूल्य हुन्छ । केही दिनपछि जाँदा त्यो सामानको भाउ अर्कै भइसकेको हुन्छ । हरेक दिन स्थिति खराब हुँदै गएको छ । महँगी यति अनियन्त्रित अवस्थामा छ कि मानिसहरूले अघिल्लोपटक किन्दाको सामानको भाउ ख्याल गर्नुको कुनै मतलब हुन छाडेको छ,’ १९ वर्षीय कलेजकी विद्यार्थी क्यारोलिना रामोसले भनिन् । रामोसको पुस्ताका अर्जेन्टिनीहरूले तिनको जीवनको अधिकांश समय आर्थिक संकटबाहेक अरू अवस्था देख्न पाएका छैनन् । सन् २०१२ देखि अर्जेन्टिनाको अर्थतन्त्र मन्दीमा छ । अन्तर्राष्ट्रिय मुद्राकोषले यो वर्ष अर्को आर्थिक संकुचनको पूर्वानुमान गरेको छ ।
‘मलाई त देश दिनदिनै बर्बाद हुँदै गएकोबाहेक अरू सम्झना छैन । यस्तोमा यस स्थितिको लागि यस अवधिमा सत्तामा रहेका सबै राजनीतिक दललाई दोषी देख्नु स्वाभाविक हो । र आतुरताका साथ विकल्प खोज्नु पनि त्यत्तिकै स्वाभाविक हो,’ देशको राजधानी ब्युनस आयर्स निवासी १९ वर्षीय एड्रियल सेगुराले आक्रो भने । महिला राजनीतिशास्त्रीहरूको समूह ‘रेड डे पोलिटोलोगस’की सदस्य भ्यालेरिया ब्रुस्कोका अनुसार यस निर्वाचनमा मध्य–वामपन्थी तथा मध्य–दक्षिणपन्थी दलका उम्मेदवारहरू देशको आर्थिक कुव्यवस्थानका कारकका रूपमा बदनाम थिए । यसले सत्तामा नपुगेका र सबै नेताहरूलाई गाली गर्ने शाह्य उम्मेदवार मिलेईको आकर्षण बढायो । ‘मतदाताहरूमा वर्तमान अवस्थाप्रति जति बढी आक्रोश देखिन्थ्यो, उसले मिलेईलाई मतदान गर्ने सम्भावना त्यति बढी देखिन्थ्यो,’ युनिभर्सिटी अफ ब्युनोस आयर्सका इतिहासकार तथा समाजशास्त्री पाब्लो भोम्मारोले चुनावअघि भनेका थिए ।
लकडाउनको विरोधबाट उदय
पेसाले अर्थशास्त्री मिलेईले महामारीको समयबाट उनको सार्वजनिक व्यक्तित्व निर्माण गरेका थिए । त्यही समय युवाहरूले आयोजना गरेको लकडाउन विरोध प्रदर्शनमा सहभागी हुन थालेका थिए । लकडाउनको विरोधमा टेलिभिजन बहसमा सहभागी हुन्थे । ती बहसमा उनले ‘सरकारले लागू गरेका नियन्त्रणात्मक कदमले कोभिडले भन्दा बढी मानिसको ज्यान लिने’ तर्क गर्थे ।
अर्जेन्टिनाको अनौपचारिक क्षेत्रका झन्डै ४५ प्रतिशत श्रमिकहरू १८ देखि २९ वर्ष उमेर समूहका छन् । तिनका लागि लकडाउनको समयमा घरमा बसेर गरिने ‘रिमोट वर्क’ व्यावहारिक थिएन । तिनका लागि लकडाउन भनेको बेरोजगारीसरह थियो । त्यसकारण अर्जेन्टिनी युवाहरूमाझ लकडाउन निकै अलोकप्रिय बनेको थियो । र, लकडाउनको विरोध गर्ने युवाहरूले मिलेईलाई तिनको पक्षमा बोलिदिने नेताका रूपमा पाएका थिए ।
लकडाउनकै समयमा युवाहरूमाझ टिकटक र युट्युबको प्रयोग व्यापक थियो । मिलेईले टिभीमा बोलेका क्लिपहरू ती प्ल्याटफर्ममार्फत थप धेरैको पहुँचमा पुग्न थाले । त्यो वेला तयार भएको मिलेईको सामाजिक सञ्जाल आधार यस निर्वाचनमा निकै प्रभावकारी बन्न पुग्यो । मिलेईको आधिकारिक टिकटक एकाउन्टको फलोअर्सको संख्या मध्य–वामपन्थी र मध्य–दक्षिणपन्थी उम्मेदवारको फलोअर्स जोडेरभन्दा चार गुणा बढी थियो । ‘सामाजिक सञ्जाललाई मिलेईले राम्ररी उपभोग गर्न सके । मैले कुराकानी गरेका धेरै युवाहरूले लकडाउनको समयमा मिलेईको भिडियो हेर्न सुरु गरेको बताउँछन्,’ युनिभसिडाड नेसिओनल डे सान मार्टिनका समाजशास्त्री इजेकुयल सफेरस्टिनले भने ।
आगामी जटिलता
राष्ट्रपतिका रूपमा मिलेईलाई शासन गर्न सजिलो हुनेछैन । विशेषतः उनका मुद्दा कानुन बन्न संसद्बाट पास हुनुपर्छ । तर, संसद्मा उनको पक्षमा थोरै मात्र विधायक छन् । देशका कुनै पनि प्रान्तीय गभर्नर वा प्रमुख सहरका मेयरले उनलाई समर्थन गरेका छैनन् । यस्तोमा मुद्दा परित गराउन कठिन र लामो छलफल र लेनदेनको बानी पार्नुपर्ने हुन्छ । तर, नयाँ भएकाले मिलेईका लागि यो कार्य निकै थकाउने र चिड्याउने हुनेछ । यस्तोमा संसद्मा कमजोर उपस्थिति भएको एकल राष्ट्रपतिले कसरी स्थितिलाई चुनावी वाचाअनुरूप उलटपुलट पार्नेछन् भन्ने हेर्न बाँकी छ ।
कसैगरी उनले आफ्ना मुद्दा लागू गरे भने नै भने पनि अर्थतन्त्र थप खराब हुँदै जान सक्ने विज्ञहरूको आकलन छ । मिलेईले मुद्रास्फिर्ती कटौती गर्न डलर अवलम्बन गर्ने प्रस्ताव गरेका छन्, जुन प्रभावकारी हुनेमा विज्ञहरूले आशंका व्यक्त गरेका छन् । विशेषतः देशको केन्द्रीय बैंकको सञ्चितिमा डलर अत्यन्त न्यून रहेकाले ‘पेसो’ थप अवमूल्यन हुने तिनको चिन्ता छ । यसले थप खराब स्थिति निम्त्याउन सक्छ । सन् १९९० को दशकमा पनि आर्थिक संकट समाधान गर्न भन्दै डलर–पेसो पेगको चर्चा लोकप्रिय थियो । तर, कार्यान्वयनमा जाँदा यसले पेसोको भारी अवमूल्यन गरायो । फलस्वरूप गरिबी दर आकासियो । देशभर हिंसात्मक दंगाहरू भड्किएका थिए ।
‘युवाहरूले हाल सामना गरिरहेका समस्या थप भयावह हुनेछ र त्यसले आक्रोश निम्त्याउने निश्चित छ,’ समाजशास्त्री भोम्मारोले भने । उनका अनुसार युवाहरू मिलेईले अर्जेन्टिनाका समस्या ठीक गर्न सक्छन् भन्ने भ्रममा छन् । केही मतदाता भने वर्तमान पीडालाई लम्बाइरहनुभन्दा सबै कुरा बिथोलेर थप भयावह हुनुलाई स्विकार्न सकिने धारणा राख्ने गरेको पाइएको छ । जे होस, वर्तमान आर्थिक संकटको बाबजुद अर्जेन्टिना पछिल्लो समय स्थिर देखिन्थ्यो । मिलेईको शासनमा स्थिति थप खराब भएर हिंसात्मक आन्दोलन भड्किनेप्रति केहीले चिन्ता व्यक्त गरेका छन् ।
– भिओएक्सबाट