Skip This
जलवायु परिवर्तनको दोहोरो मारमा युएईका श्रमिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Friday, 26 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o मङ्सिर २० बुधबार o६:२४:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

जलवायु परिवर्तनको दोहोरो मारमा युएईका श्रमिक

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o६:२४:oo

युनाइटेड अरब इमिरेट्स (युएई)मा काम गर्ने आप्रवासी श्रमिकहरू जलवायु परिवर्तनको दोहोरो मारमा परेको पाइएको छ । अन्तर्राष्ट्रिय अध्ययन संस्था इक्विडियम रिसर्च सेन्टरले गत साता सार्वजनिक गरेको एक अध्ययनका अनुसार जलवायु परिवर्तनको असरकै कारण आप्रवासी श्रमिक वैदेशिक रोजगारीका लागि युएई पुग्ने गरेको पाइएको छ । तर, युएईमा पनि उनीहरू जलवायुको प्रकोपबाट नै प्रताडित भएको अध्ययनले देखाएको हो । 

इक्विडियमले २०२३ फेब्रुअरीदेखि अक्टोबरमा गरेको अध्ययनले दुबई एक्स्पो आयोजना भएको स्थानमा कार्यरत, नवीकरण ऊर्जा क्षेत्रमा कार्यरत र डेलिभरी सेक्टरमा कार्यरत दुई सय ४८ आप्रवासी श्रमिक समेटेको थियो । नवीकरणीय ऊर्जा कम्पनीमध्ये मोहम्मद विन रासिद अल मकतुम सोलार पार्क, अल धाफ्रा सोलार पावर परियोजना, नुर आबुधाबी सोलार, सर बानी यास विन्ड फार्म परियोजनामा कार्यरत आप्रवासी श्रमिकसँग कुराकानी गरिएको थियो ।  

इक्विडियमका अनुसार अध्ययनमा नेपाल, पाकिस्तान, फिलिपिन्स, बंगलादेश र मोजाम्बिकबाट रोजगारीका लागि युएई पुगेका श्रमिकसँग कुराकानी गरिएको थियो । अध्ययनमा समेटिएका श्रमिकमध्ये ५७ प्रतिशतले जलवायु परिवर्तनका लागि आफ्नो मुलुक छाडेर युएई पुगेको बताएको इक्विडियम नेपालका निर्देशक रामेश्वर नेपालले बताए । उनका अनुसार यस्ता श्रमिकमा नेपाली श्रमिक पनि थिए ।  

अध्ययनका अनुसार जलवायु परिवर्तनका असर जस्तै, बाढीपहिरो, अत्यधिक वर्षा, अत्यधिक सुक्खा, उब्जाउ कम, अत्यधिक चिसो, अत्यधिक गर्मी, भूकम्पलगायतका कारण विस्थापित भएर रोजगारीका लागि युएईमा पुग्ने गरेको पाइयो । तर, युएईको जलवायुकै क्षेत्रमा नै कार्यरत आप्रवासी श्रमिकले झनै शोषणमा परेको अध्ययनले देखाएको छ । 

४३ प्रतिशत श्रमिकले खाना नै खाँदैनन्
इक्विडियमको अध्ययनले युएईमा कार्यरत आप्रवासी श्रमिकमध्ये ४३ प्रतिशतले खाना नै खान छाडेको बताएका छन् । कम्पनीले समयमा नै पारिश्रमिक नदिने, पारिश्रमिक दिनेले खानाको सुविधा नदिने, पारिश्रमिक थोरै दिनेलगायतका कारणले खाना खाने अवस्था नरहेको बताएका छन् । वेस्ट अफ्रिकाका एक श्रमिकले कैयौँ दिन खाना नखाई बिताएको बताए । कम्पनीले खानाका लागि दिने रकम बजारको मूल्यभन्दा धेरै भएको र त्यसले महिनाभरि खान नपुग्ने उनले बताएका छन् । यस्तो अवस्थामा पनि कम्पनीले बाहिरबाट सामान ल्याएर खाना पकाएर खान नदिने गरेको उनले बताए । 

त्यस्तै, युएईमा कार्यरत आप्रवासी श्रमिकमध्ये ८३ प्रतिशतले पोषणयुक्त खाना नपाएको पाइएको छ । अध्ययनमा समेटिएका अफ्रिकन र एसियन मुलुकका आप्रवासी श्रमिकले पौष्टिक र स्वास्थ्यवद्र्धक खाना नपाउने बताएका छन् । दुबईको एक कम्पनीमा वेटर्सका रूपमा कार्यरत एक आप्रवासी महिला श्रमिकले स्वास्थ्यवद्र्धक खाना किनेर खान नसक्ने बताइन् । उनले ग्राहकबाट पाएको टिप्सबाट नै खाना किनेर खाने गरेको बताइन् । सामान्य खानाबाहेक अन्य खानाका लागि आफू असमर्थ नभएको उनले बताइन् । 

त्यस्तै, ७७ प्रतिशत आप्रवासी श्रमिकले बस्ने सुविधा नभएको बताएका छन् । कम्पनीले एउटा कोठामा २० जनाभन्दा बढी श्रमिकलाई राख्दा आरामदायी रूपमा बस्न नपाउने, बस्ने ठाउँमा बढी होहल्ला हुने बताएका छन् । ४१ प्रतिशत श्रमिकले भने कम्पनीहरूले राष्ट्रियताका आधारमा विभेद गर्ने गरेको बताएका छन् । एक अफ्रिकन श्रमिकले उनीसहित १९ जना श्रमिक एउटै कोठामा बस्ने गरेको बताए । जबकि उनको सम्झौतापत्रमा पाँचजना मात्रै बस्ने उल्लेख थियो । त्यस्तै, साउथ एसियाका अर्का एक श्रमिकका अनुसार उनी बस्ने सानो कोठामा १५ जना छन् । उनीहरू पालैपालो गरी सुत्ने गर्छन् ।  

अध्ययनमा सहभागी श्रमिकहरूले चर्को तापक्रममा काम गर्नुपर्ने बताएका छन् । मध्यपूर्वको ५० भन्दा बढी तापक्रममा काम गर्नुपर्दा छालाको क्यान्सरलगायतका स्वास्थ्य समस्याको जोखिम हुने गरेको उनीहरूले गुनासो गरेका छन् । त्यस्तै, कार्यस्थलामा मौखिम तथा भौतिक हिंसा हुने गरेको उनीहरूले बताएका छन् । राष्ट्रियताका आधारमा विभेद, पदन्नोति पाउने अवसरको अभाव, शोषणयुक्त श्रमिक भर्ना प्रक्रिया, क्षमताभन्दा बढी कम गर्नुपर्ने समयमा नै पारिश्रमिक नपाउने, कार्यस्थलमा हिंसा, क्षमताभन्दा बढी व्यक्ति एउटै कोठामा बस्नुपर्ने, अन्य सेवा–सुविधामा पनि समस्या भएको बताएका छन् । 

इक्विडियम रिसर्च सेन्टरले युएई सरकारलाई आप्रवासी श्रमिकलाई स्थायी बसोवास र नागरिकताको अवसर प्रदान गर्न पनि आग्रह गरेको छ । अध्ययनपछि इक्विडियमले युएई सरकारलाई यस्तो सुझाव सिफारिस गरेको हो । आप्रवासी श्रमिकलाई मानवीय र श्रम अधिकारको सम्मान गर्न सुझाव दिएको छ । सबै श्रमिकको अधिकारको सुरक्षा गर्न पनि आग्रह गरेको छ । त्यस्तै, राष्ट्रियताका आधारमा विभेद नगर्न पनि इक्विडियमले सुझाव दिएको छ । क्षमताअनुसार सबै खालको सुविधा प्रदान गर्न सुझाव दिएको छ ।