
रोल्पामा बालविवाहको अवस्था जर्जर रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। बालविवाह अन्त्यका लागि स्थानीय तहहरूले गरेका प्रयासका परिणाम उपलब्धिमूलक भए पनि उल्लेख्य परिणाम भने आउन नसकेको सरोकारवालाको भनाइ छ।
रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)ले बालविवाह अन्त्यका लागि नगरपालिकाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण गरेर काम गरिरहेको भए पनि अन्त्य गर्न नसकिएको बताए।
‘कानुन र सामाजिक संरचनाबीचको अन्तर्विरोधका कारण पनि बालविवाह न्यूनीकरण हुन कठिनाइ भएको छ,’ नगरप्रमुख घर्तीले भने, ‘बालविवाह न्यूनीकरणमा देखिएका समस्याहरूलाई मसिनो गरी अध्ययन गरेर कानुनी प्रावधान र सामाजिक संरचनाको समायोजन गरेर मात्र सम्भव छ।’
लुंग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले कतिपय ठाउँमा बालविवाह रोक्न खोज्दा केटाकेटीले नै आत्महत्या प्रयास गरेको बताउँदै अभिभावकलाई भन्दा पनि बालबालिकालाई नै यसबारे प्रशिक्षित गर्नुपर्ने औँल्याए।
माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले टोलविकास समिति र विद्यालयमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिएको र त्यसले उल्लेख्य रूपमा नभए पनि केही उपलब्धि देखिएको बताए।
सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनले अभिभावक सचेत हुँदाहुँदै पनि बालबालिकाको अटेरीका कारण बालविवाह चुनौतीपूर्ण बनेको उल्लेख गरे। सुनीलस्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले बालविवाह हुन नदिन सामाजिक सचेतनाको विकल्प नरहेको र त्यसका लागि विद्यालयलाई मुख्य प्राथमिकता दिनुपर्ने बताए। कानुनी प्रक्रियाले मात्र समाज सचेत नहुने भन्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले सम्बन्धित बालबालिकालाई नै बालविवाहका बहुआयामिक असरबारे स्पष्ट पार्नुपर्ने स्पष्ट पारिन्।
गंगादेव गाउँपालिकामा सबैभन्दा धेरै बालविवाह
रोल्पामा रहेका १० स्थानीय तहमध्ये १८ देखि २० वर्षसम्मको तथ्यांक मात्रलाई हेर्दा पनि सबैभन्दा धेरै बालविवाह गंगादेव गाउँपालिकामा देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई आधार बनाउने हो भने ५२.४ प्रतिशत बालबालिकाले उमेर नपुग्दै विवाह गरेको देखिन्छ।
२१ हजार ५०३ जनसंख्या रहेको गंगादेवमा २० वर्षमुनिको जम्मा बालविवाहको तथ्यांक झन् धेरै हुनसक्ने जिल्ला समन्वय समिति रोल्पाका अधिकृत तुलप्रसाद कवरले बताए। दशवटै स्थानीय तहको तथ्यांक प्रस्तुत गर्दै कवरले सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा ३९.६ प्रतिशतले बालविवाह भएको बताए।
तथ्यांकअनुसार परिवर्तन गाउँपालिकामा ४२.९ प्रतिशत, लुंग्रीमा ४४ प्रतिशत, माडीमा ४४ प्रतिशत, रुन्टीगढीमा ४१ प्रतिशत, सुनछहरीमा ४१.५ प्रतिशत, सुनीलस्मृतिमा ४६.६ प्रतिशत र थवाङ गाउँपालिकामा ४०.७ प्रतिशतले १८ देखि २० वर्षको बीचमा बालविवाह गरेको देखिएको छ। रोल्पा नगरपालिकामा भने ४२.३ प्रतिशतले बालविवाह गरेका छन्।
समग्र रोल्पाको अवस्थालाई विश्लेषण गर्दा ४२.२ प्रतिशतले बालविवाह गरेको देखिन्छ। दुई लाख ३४ हजार ७ सय ९३ जनसंख्या रहेको रोल्पामा ५६ हजार ७ सय ३९ जना किशोरकिशोरी छन्। जम्मा जनसंख्यामा १ लाख २४ हजार ७ सय ८१ जना महिला रहे पनि साक्षर महिलाको संख्या भने कम देखिन्छ। पुरुष साक्षरता ८३.६ प्रतिशत रहेको जिल्लामा महिलाको साक्षरता दर ६९.४ प्रतिशत मात्र रहेको छ।
प्रदेशको १० वर्षे रणनीति योजनाबारे छलफल
बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशले निर्माण गरेको १० वर्षे रणनीति योजनाबारे रोल्पामा छलफल भएको छ। बालविवाह अन्त्यका लागि प्रदेशले रणनीति निर्माण गरेर काम गरिरहेको बताउँदै कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी अधिकृत कमला पौडेलले तीन तहकै सरकार, प्रहरी र सबै सरोकारवाला निकायहरूको साझा प्रयासबाट यो अभियान सफल हुने विश्वास व्यक्त गरिन्।
रोल्पाको लिवाङमा जिल्लास्तरीय सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्दै पौडेलले प्रदेश सरकारले निर्माण गरेको १० वर्षे रणनीतिलाई कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताइन्। सरकारको दिगो विकास लक्ष्यलाई अनुकरण गर्दै लुम्बिनी प्रदेशले आर्थिक वर्ष ०७८-७९ देखि ०८८-८९ सम्म बालविवाहलाई अन्त्य गर्ने लक्ष्य लिएको छ।
जिल्ला समन्वय समिति रोल्पाको आयोजना, युएनएफपिएको आर्थिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वयमा आयोजित कार्यक्रममा पोपनारायण पौडेल र तुलप्रसाद कवरले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रमकै सन्दर्भमा जिल्लास्तरीय बालअधिकार निर्देशन र सुपरीवेक्षण समिति गठन गरिएको छ। जिल्ला समन्वय समिति प्रमुख सीता आचार्यको संयोजकत्वमा गठित समितिमा १० वटै स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको छ।