Skip This
विवादमा हनुमानढोका प्रहरी कार्यालयको पुरानो भवन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 26 July, 2024
हनुमानढोकास्थित तत्कालीन प्रहरी परिसर काठमाडौंको भवन । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२o८o मङ्सिर १९ मंगलबार o८:o४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विवादमा हनुमानढोका प्रहरी कार्यालयको पुरानो भवन

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o८:o४:oo

म्युजियम बनाउनुपर्ने प्रहरीको भनाइ, पुरातत्व विभाग भन्छ– भत्काएर खाली गर्नुपर्छ

हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर खाली गर्नुपर्ने माग स्थानीय र पुरातत्व विभागले गरे पनि नेपाल प्रहरीले असहमति जनाउँदै आएको छ । विश्व सम्पदा क्षेत्रभित्र पुरानो र जीर्ण प्रहरी भवन राख्दा सम्पदा क्षेत्र कुरूप तथा जोखिमपूर्ण देखिएको भन्दै स्थानीयले हटाउन माग गरेका हुन् । उनीहरूले पुरातत्व विभागसँग उक्त भवन हटाउन आग्रह गरेका हुन् । तर, प्रहरीले साढे दुई रोपनी क्षेत्रफलमा रहेको उक्त भवनमा वसन्तपुरको ऐतिहासिकतासँग मिल्ने गरी प्रहरीकै म्युजियम बनाउने योजना अघि सार्ने तयारी गरेको छ । साथै, उक्त भवन भएको जग्गा नेपाल प्रहरीकै नाममा रहेकाले त्यसलाई प्रहरीकै प्रयोजनमा ल्याउन नेपाल प्रहरीको अडान छ । यसबारे जिल्ला प्रहरी परिसर टेकुमा छलफल भइरहेको प्रहरीको भनाइ छ । 

हाल जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा सरिसकेको छ । ०१२ देखि ०७२ सम्म परिसरको कार्यालय हनुमानढोकामै थियो । ०७२ सालको भूकम्पका कारण हनुमानढोकास्थित कार्यालयमा क्षति पुगेपछि टेकुमा सरेको थियो । भूकम्पले चर्किएको यस भवनमा अहिले भने सुरक्षार्थ केही प्रहरी मात्रै बस्दै आएका छन् । 

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका पालामा उक्त भवन भत्काएर खुला गर्न टिप्पणी उठाइएको थियो । त्यसमा काठमाडौं महानगर, स्थानीयवासी, पुरातत्व विभागले हस्ताक्षर गरेका थिए । तर, सम्पदा क्षेत्रको प्रहरी भवन हटाउनेबारे हालसम्म कुनै तयारी भने नगरेको सम्पदाप्रेमी यादवलाल कायस्थले जानकारी दिए । उनका अनुसार टिप्पणी पर्यटन मन्त्रालयमै अड्किएको छ । ‘विश्वसम्पदा क्षेत्रलाई खुला गर्नुपर्छ, यो पुरानो प्रहरी भवन भत्काएर खुला राख्नुपर्छ,’ कायस्थले भने, ‘अहिले प्रहरी कार्यालय भएको क्षेत्र कुरूप देखिएको छ, यो हटाउँदा सम्पदा क्षेत्र व्यवस्थित र सुन्दर देखिन्छ ।’ वसन्तपुरका स्थानीय गौतम शाक्यले पनि उक्त प्रहरी भवन हटाएर त्यस ठाउँलाई खाली राख्नुपर्ने वा म्युजियम बनाउनुपर्ने बताए । 

भवन जीर्ण तथा जोखिमपूर्ण भए पनि यहाँ आठ–नौ जना प्रहरी बस्छन् । काठमाडौं महानगरपालिकाले नगर प्रहरी खटाए पनि प्रभावकारी नदेखिएपछि दिउँसोको समयमा पनि वसन्तपुरवरिपरि नेपाल प्रहरीले नै सुरक्षा दिँदै आइरहेको छ । वसन्तपुरनजिकै जुद्ध सालिकसँगै जनसेवा प्रहरी वृत्त छ । नजिकै प्रहरी वृत्त रहेकाले यस क्षेत्रको सुरक्षाका लागि पुरानो भवनमा प्रहरी बस्नुनपर्ने स्थानीयको दाबी छ । तर, स्थानीयको मागप्रति नेपाल प्रहरी सहमत छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले तत्कालीन जिल्ला प्रहरी परिसर रहेको हनुमानढोका स्थानीयका लागि खुला गर्न नसकिने जानकारी दिए । ‘हनुमानढोका प्रहरी भवन रहेको जग्गाको लालपुर्जा हाम्रो नाममा छ, यसलाई प्रहरी म्युजियम बनाउने कुरा उठिरहेको छ,’ उनले भने, ‘प्रहरीसँग सम्बन्धित सामग्री राख्नलाई यो ठाउँ उपयुक्त हुन्छ, हाल प्रहरी हेडक्वार्टरमा रहेको प्रहरी म्युजियम सबैका लागि सहज छैन, तर वसन्तपुरमा म्युजियम सारियो भने विश्वभरका मानिसले अवलोकन गर्न सक्छन् ।’ उनका अनुसार यो ठाउँमा प्रहरी म्युजियम बनाएर नेपाल प्रहरीको उत्पति, इतिहासबारेका दस्ताबेज र हतियारबारे प्रदर्शनीहरू राख्न सकिन्छ । ‘यो ठाउँमा प्रहरी बसेन भने लुटपाटका घटना पनि हुन्छन्, त्यसैले हामीले त्यो जग्गा प्रहरीकै हुनुपर्छ भनेका छौँ,’ डिएसपी अधिकारीले भने, ‘अहिले पनि रातितिर घुम्न गयो भने अव्यवस्थित देखिन्छ, यो क्षेत्रमा हुने घटना रोक्न यहीँको प्रहरी परिचालन गर्न सहज हुन्छ ।’ तर, प्रहरी भवन भत्काउन स्थानीयले जबर्जस्ती गर्न खोजेको उनको आरोप छ । यसअघि काष्ठमण्डप पुनर्निर्माण गर्दा यहीँभित्र बसेर पुनर्निर्माणसम्बन्धी काम गरिएको थियो । 

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानांगले पुरातत्व विभाग पनि उक्त भवन हटाउनुपर्ने पक्षमा रहेको बताइन् । ‘यो भवन पुरातात्विक होइन, यसलाई हामीले पनि भत्काउनुपर्छ भन्ने धारणा राख्दै आएका छौँ,’ उनले भनिन्, ‘यसअघि पनि भत्काउनुपर्छ भन्ने निर्णय भएको रहेछ ।’ 

हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले यो भवन पुरातत्वको मातहतमा ल्याउन यसअघि जीवनराम श्रेष्ठ पर्यटनमन्त्री हुँदादेखि नै प्रयासहरू भइरहेको बताए । ‘यो भवन आफैँमा बस्नयोग्य छैन, तर केही प्रहरी जोखिम मोलेर बसिरहेका छन्,’ उनले भने, ‘स्थानीयको माग पनि त्यही छ, यसलाई हटाउन मिल्छ, यो पुरातात्विक भवन होइन ।’