Skip This
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा कमी, राजस्वमा वृद्धि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 26 July, 2024
२o८o मङ्सिर १८ सोमबार १८:२६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा कमी, राजस्वमा वृद्धि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार १८:२६:oo

लुम्बिनी प्रदेशमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको देखिएको छ। प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयको गत त्रिवर्षीय तथ्यांक हेर्दा सुरुका दुई वर्षमा भन्दा आर्थिक वर्ष ०७९/८० मा दुर्घटना घट्दै गएको देखिन्छ।

कार्यालयका अधिकृत टुकराज पाण्डेका अनुसार प्रदेशमा आर्थिक वर्ष ०७७/७८ मा पाँच सय २६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७८/७९ मा पाँच सय ५१ जनाको मृत्यु भएको देखिन्छ। तर, आर्थिक वर्ष ०७९/८० मा भने यो संख्या चार सय ६२ मा झरेको छ।

तथ्यांकअनुसार सवारी दुर्घटनामा पनि कमी आएको छ। सुरुमा एक हजार २११, दोस्रो आ.व.मा एक हजार १६४ र तेस्रो आ.व.मा ८९२ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी क्रमशः १ हजार ८३, एक हजार १२३ र ७९९ जना गम्भीर घाइते भएका थिए भने क्रमशः २४, ३३ र ३२ वटा पशुचौपायाको मृत्यु भएको थियो।

राजस्वमा वृद्धि
यातायातका साधन चलाउँदा नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेहरूको संख्या बढ्नुका साथै राजस्वमा समेत वृद्धि भएको छ। आर्थिक वर्ष ०७७/७८ मा २ लाख ८६ हजार ३६९ सवारी कारबाहीमा परेका थिए। जसबाट १९ करोड ३२ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा २ लाख ८४ हजार ८ सय ९९ वटा सवारी कारबाहीमा परेकोमा २० करोड ८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको देखिन्छ। गत आर्थिक वर्ष ०७९/८० मा २ लाख ९६ हजार ३ सय ४५ वटा कारबाही भएको र २१ करोड ७१ लाख ७४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो। गत आर्थिक वर्षमा मात्र प्रदेशभर ३ लाख ५८ हजार ७६३ जनालाई ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको भए पनि सवारी कारबाहीमा पर्नेको संख्यामा भने न्यूनीकरण हुन सकेको देखिँदैन।

रोल्पामा साउनयता सातजनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पामा चालू आर्थिक वर्षमा मात्र सातजनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।

सातवटा सवारी दुर्घटनामध्ये चालकको लापरबाहीका कारण चारवटा, यान्त्रिक गडबडीका कारण दुईवटा र यात्रुका कारण एउटा दुर्घटना भएको प्रहरी सहायक निरीक्षक नारायण भण्डारीले जानकारी दिए। गत आर्थिक वर्षमा २७ वटा सवारीसाधन दुर्घटनामा परेकोमा १४ पुरुष, तीन महिला र एक बालक गरी १८ जनाको मृत्यु भएको थियो।

यातायात व्यवस्था कार्यालयको माग
यातायातसम्बन्धी सामान्य कामका लागि पनि दाङ पुग्नुपर्ने बाध्यता रहेको भन्दै सरोकारवालाहरुले रोल्पामै यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्ने माग गरेका छन्।

‘रोल्पामा यातायात कार्यालय नहुँदा सानो कामका लागि पनि दाङ पुग्नुपर्छ,’ रोल्पा जलजला यातायात प्रालिका यज्ञश्वर आचार्यले भने, ‘सवारी अनुमतिपत्र नवीकरण, पटकेलगायत सबै काममा बाहिर जानुपर्छ, त्यसको कुनै न कुनै संयन्त्र रोल्पामा हुनुपर्छ ।’

हिमताल यातायात प्रालिका सफल बुढामगरले पनि यातायातसम्बन्धी कुनै पनि सरकारी काम रोल्पामा नहुनु दुर्भाग्य भएको बताए।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एउटै प्रकृतिको सवारीसाधनमा फरक-फरक सिट क्षमताको अनुमति दिएर यातायात व्यवस्था कार्यालयले बेइमानी गरेको बताए। रोल्पामा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि पहल गरिए पनि सम्बन्धित प्रदेश मन्त्रालयले आनाकानी गरिरहेको आरोप लगाए।

प्रदेश यातायात मन्त्रालयका अधिकृत (आठौँ) टुकराज पाण्डेले भने प्रदेशको दुई ठाउँमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि प्रस्ताव गरिए पनि रोल्पाको विषयमा ध्यानाकर्षण भएको बताए। कार्यालय स्थापनाको कुरा मन्त्रिपरिषद्को निर्णयबाट हुने भन्दै उनले कार्यालय स्थापनाका लागि राजनीतिक तहबाट पनि दबाब दिनुपर्ने बताए।

लुम्बिनी प्रदेशअन्तर्गत उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयको आयोजना तथा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पा र घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाको व्यवस्थापनमा सोमबार रोल्पाको लिवाङमा आयोजित सवारीचालक सचेतना अभिवृद्धि कार्यक्रममा विभिन्न कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो।