१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोप सम्मेलनमा राष्ट्रसंघीय महासचिवले उठाए नेपालको चासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१५:oo

प्रधानमन्त्री प्रचण्डले भने– नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढ्यो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा नेपालमा हिमनदी पग्लेको विषयलाई विश्वसामु उठाएका छन् । विश्वका एक सय ८० मुलुकका ५० हजार प्रतिनिधिमाझ दुबईमा आयोजित कोप–२८ उद्घाटन समारोहमा अन्टार्टिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमै उठाएर विश्वको ध्यानाकर्षण गराएका हुन् । 

‘केही दिनअघि अन्टार्टिकाको बरफमा थिएँ । केही समयअघि नेपालको पग्लिरहेका हिमनदीमाझ थिएँ,’ कोप–२८ उद्घाटन सम्बोधनको सुरुवातमै महासचिव गुटेरेसले भने, ‘यी दुई ठाउँ धेरै टाढा छन्, तर संकटमा एकताबद्ध छन् । ध्रुवीय बरफ र हिमनदीहरू हाम्रो आँखाअगाडि हराउँदै छन्, जसले भूस्खलन र बाढीबाट बढ्दो समुद्रमा विनाश निम्त्याइरहेको छ ।’

महासचिव गुटेरेस एक महिनाअघि ११ देखि १५ कात्तिकसम्म नेपाल भ्रमणमा आएका थिए । त्यस क्रममा उनले एभरेस्ट र अन्नपूर्ण बेसक्याम्पको भ्रमण गरेका थिए भने जलवायु परिवर्तनबाट प्रभावित स्थानीय बासिन्दासँग पनि कुराकानी गरेका थिए । 

कोप–२८ सम्मेलनमा महासचिव गुटेरेसले हिउँ पग्लिने विषयलाई रोग भन्दै थपे, ‘यो हाम्रो मौसमलाई घुँडा टेक्ने रोगको एउटा लक्षण मात्र हो । रोग त तपाईं विश्वव्यापी नेताहरूले मात्रै निको पार्न सक्नुहुन्छ ।’

महासचिव गुटेरेसले नेपालको हिउँ र जलवायु संकटबारे सम्बोधन गरेपछि दुबईमै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कोप–२८ का लागि शनिबार सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरका रूपमा प्रयोग गर्ने बताएका छन् । कोप–२८ उद्घाटनपछि आयोजित अर्को कार्यक्रमलाई शुक्रबारै उनले सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको जानकारी दिए । ‘उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको पुष्टि भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

सरकारले जलवायु परिवर्तनको विषयलाई निकै महत्व दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ‘वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि गम्भीर छु । जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा बिस्तारै स्थापित हुनेछ,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रचण्डले जलवायु परिवर्तनको विषयलाई सरकारले निकै महत्व दिएको बताए । औद्योगिक राष्ट्रहरूले कार्बन उत्सर्जन कम गर्ने विषयमा आफ्नो धारणा राखिरहेका छन् भने औद्योगिक राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरूले भने क्षतिपूर्तिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा राखिरहेका छन् । नेपालले यतिवेला जलवायु परिवर्तनमा विश्व समुदायको चुनौतीपूर्ण समस्याका रूपमा रहेको कुरा प्रस्टसँग राख्न लागेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

मोदी र क्युबाका राष्ट्रपतिसँग भेट
दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । साइडलाइन भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत १७ कात्तिकमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगबारे चासो राखेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा दुईपक्षीय हितबारे छलफल भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुईपक्षीय हितबारे कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल १३ मंसिरमा दुबई प्रस्थान गरेको हो । प्रधानमन्त्री आइतबार स्वदेश फर्किंदै छन् ।
 

ad
ad