१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको थाहामा ‘थाहा महोत्सव’ सुरु 

नागरिकले विकास र समृद्धि खोजेका छन्ः मुख्यमन्त्री जम्कट्टेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५५:oo

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा बिहीबारबाट ‘थाहा महोत्सव’ सुरु भएको छ । थाहा नगर उद्योग वाणिज्य संघको आयोजना सुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ। महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे। महोत्सवको उद्घाटन गर्दै उनले मेलाले उत्तरी मकवानपुरको कृषि, पर्यटन र व्यापारको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा मुख्यमन्त्री जम्कट्टेलले अबको बहस विकास र समृद्धिका मुद्दामा केन्द्रित हुनुपर्ने बताए। नागरिकले विकास र समृद्धि खोजेको उनको भनाइ थियो । उनले जनताको चाहनाअनुसार सरकारहरूले काम गर्नुपर्ने उल्लेख गर्दै वर्तमान अवस्थामा व्यवस्था परिवर्तन र बहसभन्दा पनि विकास र समृद्धिका मुद्दामा छलफल केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासको लागी काम गर्न आवश्यक छ । हामीले त्यसको सुरुवात गरिसकेका छौँ । पछिल्लो समयमा आएको आर्थिक मन्दीलाई नियन्त्रण गर्न र आर्थिक विकासलाई गति दिन उत्पादनमा जोड आवश्यक छ । त्यसका लागि बागमती सरकारले आफ्नोतर्फबाट प्रदेशमा काम गरिरहेको छ,’ उनले भने ।

मुख्यमन्त्री जम्कट्टेलले विकास र समृद्धिका मुद्दामा एकजुट भएर हिँड्न पनि सबैलाई आह्वान गरे । प्रदेश सरकारले कृषि क्षेत्रको रूपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागू गर्ने तयारी गरिरहेको जानकारी दिए । यसका लागि स्थानीय तहहरूको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनको भनाइ छ । 

उनले समुदायमा आधारित उत्पादन मोडलअनुसार सरकारले स्थानीय र प्रदेश सरकारसँग कृषक, निजी क्षेत्र र सहकारीहरूलाई जोड्ने र कृषि उत्पादनको वृद्धिसँगै त्यसको बजारीकरणमा पनि सहयोग गर्ने दाबी गरे। मुख्यमन्त्री जम्कट्टेलले देशमा हुने यस्ता मेला महोत्सवले पनि देशमा उत्पादन भएका वस्तुहरूको बजारीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

१० दिनसम्म चल्ने महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवर्द्धनलगायत गरी दुई सय ५० वटा स्टल रहेका थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए ।