
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँसराइ रोक्न तीनवटै सरकार सजग हुनुपर्ने बताएका छन्।
मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण सहर र तराई क्षेत्रमा बसाइँसराइको चाप बढेको उल्लेख गर्दै वेलैमा व्यवस्थापन गर्न नसकिए समस्या निम्तने बताए।
‘बसाइँसराइ व्यवस्थापन गर्ने काम राज्यको कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन। यसमा राज्यका तीनवटै सरकारको सहकार्य आवश्यक छ। जनसंख्या व्यवस्थापन बहुसरोकारवाला मुद्दा हो। यसको समाधान सहकार्यका माध्यमबाट गर्नुपर्छ,’ मन्त्री बस्नेतले भने।
सहरी क्षेत्रमा जनसंख्याको चाप थेग्नै नसकिने गरी बढ्नु भविष्यका लागिसमेत चिन्ताको विषय भएकोले यसको समाधानमा अहिलेदेखि नै सरोकारवाला लाग्नुपर्नेमा उनको जोड थियो।
चिकित्सा शिक्षा पढ्न नपाएर पनि धेरै युवा जनशक्ति विदेश पलायन भइरहेको दाबी गर्दै मन्त्री बस्नेतले निकट भविष्यमै चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपालभित्रै पढ्न पाउने वातावरण बताउने बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले नेपालीको औसत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको उल्लेख गर्दै यी विषयमा पनि चासो दिनुपर्ने बताइन्।