१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
स्याङ–जिन वे
२०८० मङ्सिर ११ सोमबार १०:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भन्सारदर घटाउनु अमेरिकाका लागि फाइदाजनक

Read Time : > 2 मिनेट
स्याङ–जिन वे
२०८० मङ्सिर ११ सोमबार १०:१४:००

सन फ्रान्सिस्कोमा हालै सम्पन्न शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच केही महत्वपूर्ण विषयमा सहमति भएका थिए । विशेषतः दुई मुलुक परस्पर सैन्य सञ्चार पुनः सञ्चालन गर्न सहमत भएका छन् । यसले आकस्मिक द्वन्द्वको सम्भावनालाई कम गर्नेछ । यसबाहेक चीनले विशिष्ट रसायन निर्यातमा प्रतिबन्ध लगाउन थप कदम चाल्ने प्रतिबद्धता जनाएको छ । यी विशिष्ट रसायनमा फेन्टानिलको उत्पादन गर्न आवश्यक शक्तिशाली सिन्थेटिक ओपियोइड पर्छन् । स्मरण रहोस्, फेन्टानिललाई अमेरिकामा हुने मृत्युको प्रमुख कारण मानिएको छ । तर, यति हुँदाहुँदै पनि महत्वपूर्ण मानिएको भन्सारदरको मामिलामा भने प्रगति देखिएको छैन ।

सन् २०१८ मा तत्कालीन ट्रम्प प्रशासनका वेला चीनबाट आयातमा हुने भन्सारदरमा उल्लेखनीय वृद्धि गरिएको थियो । अर्थात् भन्सारदर ३ प्रतिशतबाट २१ प्रतिशतमाथि पुर्‍याइएको थियो । यसअघि अमेरिकामा यो स्तरको भन्सारदर दोस्रो विश्वयुद्धका समयमा मात्रै थियो । यस कदमले व्यापार नीतिमा महत्वपूर्ण परिवर्तनलाई प्रतिनिधित्व गर्‍यो जसले आर्थिक मुद्दा र दुई राष्ट्रबीचको व्यापार असन्तुलनलाई सम्बोधन गर्ने आक्रामक दृष्टिकोण झल्काउँछ । नतिजा चीनले पनि प्रतिशोध साँध्यो, जहाँ ८ प्रतिशत भन्सारदरलाई १९ प्रतिशतमा पुर्‍याइयो । यसका साथै चीनले अन्य मुलुकका लागि भन्सारदर घटाउँदा चिनियाँ बजारमा अमेरिकी मालवस्तुले थप प्रतिस्पर्धा गर्नुपरेको थियो । 

सन् २०१९ को अन्त्यमा ट्रम्प र सीले ‘फेज वान’ सम्झौता गरे जसले भन्सारदरलाई स्थिर बनायो । यो सम्झौता बाध्यकारी प्रकृतिको थियो जसले अन्य साझेदारसँगको व्यापारिक सम्बन्धलाई कमजोर पार्दै चीनलाई अमेरिकाबाट आयात बढाउन बाध्य पार्ने खालको थियो । यसमा विश्व व्यापार संगठनद्वारा निर्धारित नियम उल्लंघन गर्ने रणनीति समावेश थिए । अन्ततः चीनले आफ्नो खरिद प्रतिबद्धता पूरा गर्न सकेन । जे भए पनि सन् २०२० मा विश्व व्यापार संगठनभित्रको एक प्यानलले ट्रम्प प्रशासनले लगाएको शुल्क संगठनका नियम पालना गर्ने अमेरिकाको कानुनी जिम्मेवारीसँग नमिलेको ठहर गर्‍यो ।

अमेरिकाले ट्रम्पकालीन भन्सारदर यथावत् राख्दा अन्तर्राष्ट्रिय व्यापार प्रणाली कमजोर हुन्छ र मुलुकका घरधुरी र फर्मलाई क्षति पुग्छ

भन्सारदर यथावत् राख्ने अमेरिकी आग्रहले नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई कमजोर मात्रै नबनाई दुवै मुलुकका घरधुरी र फर्मलाई क्षति पनि पुर्‍याउँछ । ट्रम्पको भन्सारदर वृद्धिभन्दा एक वर्षअगाडि सन् २०१७ मा अमेरिकामा पाँच खर्ब ६ अर्ब डलरबराबरको आयात चीनबाट भएको थियो जुन कुल आयातको करिब २२ प्रतिशत हो ।

यस मामिलामा भएका प्रत्येक गम्भीर अध्ययनले भन्सारदरबाट बढेको शुल्कको लागत अमेरिकी उपभोक्ताको थाप्लोमा परेको थियो । ट्रम्पले लागू गरेका भन्सारदर हटाउँदा अमेरिकाको घरायसी उपभोग लागत करिब ०.५ प्रतिशतले घट्नेछ किनभने आयातीत सामानले घरायसी उपभोग लागत करिब १२ प्रतिशत पुगेको छ ।

यति मात्रै होइन, चीनको करिब ४० प्रतिशत निर्यात पार्ट्स, कम्पोनेन्ट्स र कच्चा पदार्थ पर्छन्, तसर्थ ट्रम्पकालीन भन्सारदर हटाउँदा अमेरिकी सेवाप्रदायक एवं उत्पादनकर्ताको खर्च पनि घट्न सक्छ । नतिजा, अमेरिकी उत्पादन र सेवा उपभोगमा आमअमेरिकीको खर्च घट्नेछ ।

यसका अतिरिक्त अप्रत्यक्ष प्रभाव पनि छन् । चिनियाँ आयात सस्तो हुँदा अन्य उत्पादकका लागि प्रतिस्पर्धात्मक दबाब पनि बढ्नेछ जसले मेक्सिको, भारत, भियतनाम र अमेरिकासमेतको उत्पादनलाई सस्तो बनाउनेछ । यी सबै कारकलाई एक ठाउँमा ल्याउने हो भने आमअमेरिकीको जीविका लागत करिब १ प्रतिशतले घट्नेछ । अर्को भाषामा भन्ने हो भने, अमेरिकी घरधुरीको वार्षिक आय दुई खर्ब ५० अर्ब डलरले बढ्नेछ जुन सन् २०२२ मा अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतबराबर हो । 

ट्रम्पकालीन भन्सारदर हटाउँदा अमेरिकी फर्मलाई पनि लाभ हुनेछ । अमेरिकी मालवस्तुमा चीनले बढाउने भन्सारदर जहिल्यै प्रतिशोधका रूपमा आउने गर्छ, तसर्थ त्यसलाई हटाउँदा चीनले पनि आफ्नातर्फबाट गरेको भन्सार वृद्धि घटाउने सम्भावना धेरै हुन्छ । यसले चीनमा अमेरिकी मालवस्तुको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि ल्याउनेछ, अर्थात् रोजगारीमा वृद्धि हुनेछ । त्यसैगरी, अमेरिकी निर्यातकर्ता मात्रै नभई तिनका कच्चा पदार्थ आपूर्तिकर्तालाई समेत लाभ हुनेछ । 

रोजगारी र आयमा हुने यो वृद्धिले अमेरिकी मतदातालाई सघाउनेछ र यसलाई बाइडेनले राजनीतिक रूपमा प्रयोग पनि गर्न सक्छन् । हालैको एक मत सर्वेक्षणमा १४ प्रतिशत अमेरिकी मतदाता मात्रैले बाइडेन राष्ट्रपति भएपछि आफ्नो आर्थिक स्थिति राम्रो भएको जनाएका छन् । र, करिब ७० प्रतिशतले बाइडेनको नीतिले अमेरिकी अर्थतन्त्र थप बिग्रेको वा कुनै परिवर्तन नभएको जनाएका छन् । यीमध्ये करिब आधा मतदाताले बाइडेन आएपछि अमेरिकी अर्थतन्त्रले ‘निकै’ चोट खेपेको जनाएका छन् । 

रिपब्लिकन पार्टीका अधिकांश मतदाता बाइडेनको नीति मन पराउँदैनन् र आधाभन्दा कम डेमोक्र्याटले मात्रै बाइडेनको नीतिले अर्थतन्त्रलाई उकासेको ठान्छन् । यो आँकडा राष्ट्रपतिका लागि खतराको घन्टी हुनुपर्छ । बाइडेन अर्को वर्ष निकै विवादास्पद चुनावको सामना गर्दै छन् । सो चुनावमा जीविकाको लागत मतदाताको प्रमुख आर्थिक चासो हुनेछ । चासो नदिनुका पछाडि बाइडेन रिपब्लिकनलाई आफू चीनप्रति नरम भएको देखाउन चाँहदैनन् । तथापि, उनले आमअमेरिकीलाई ट्रम्पकालीन भन्सारदर हटाउँदा अमेरिकी घरधुरी र व्यवसायलाई लाभ हुन्छ भनेर मनाउन सक्नुपर्छ । यदि यसो गर्न सकिँदैन भने त्यो बाइडेनको नेतृत्वको असफलता ठहरिनेछ । 
(स्याङ–जिन एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट