१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धुलो दूध तथा बटर उद्योग निर्माण अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३७:oo

हेटौँडा उपमहानगरपालिका– १०, नागसोतीको सिसौघारीमा निर्माण गरिएको धुलो दूध तथा बटर उद्योगको काम अन्तिम चरणमा पुगेको छ । एक वर्षमा सक्ने गरी प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत प्रदेश दुग्ध विकास बोर्डको लगानीमा काम सुरु भएको उद्योग निर्माण तीन वर्षमा सम्पन्न हुन लागेको हो । किसानले उत्पादन गरेको दूध नबिकेर ‘मिल्क होलिडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दूध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम भने बाँकी नै रहेको छ । 

सञ्चालनमा भने अझै केही समय लाग्ने
उद्योगले उत्पादन थाल्न अझै केही समय लाग्ने भएको छ । प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटाले उद्योग निर्माण पक्षले भौतिक काम र सामान्य परीक्षण थाले पनि धुलो दूध उत्पादन परीक्षण गर्न र हस्तान्तरणको काम बाँकी नै रहेकाले उद्योगबाट तत्कालै उत्पादन थालिहाल्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘उद्योग स्थापना भएर मात्रै भएन । गुणस्तरीय उत्पादन परीक्षण पनि हुनुपर्‍यो । धुलो दूध उत्पादन परीक्षणको काम बाँकी नै छ । यस्तै, निर्माण कम्पनीले उद्योग बोर्डलाई हस्तान्तरण गर्नुपर्‍यो । त्यसपछि मात्रै उद्योग सञ्चालनमा आउँछ ।’ आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा पानीको प्रयोगबाट परीक्षण थालिएको उद्योग निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले जानकारी दिए ।

उनले केही दिनमै धुलो दूध उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्ने बताए । उनले भने, ‘मेसिनमा पानी, ग्यास र हावा राखेर पालैपालो परीक्षण गरिरहेका छौँ । केही दिनभित्र दूध हालेर धुलो दूध र बटर उत्पादन परीक्षण गरेपछि उद्योग बोर्डलाई हस्तान्तरण गर्छौँ । त्यसपछि उद्योग नियमित सञ्चालनको जिम्मेवारी बोर्डको हो ।’

उपाध्यक्ष सापकोटाले उद्योग कसरी चलाउने भन्नेबारे पनि बोर्डमा छलफल भइरहेको जानकारी दिए । उनले उद्योग सञ्चालनको मोडालिटी र जनशक्ति व्यवस्थापनको काम बाँकी रहेको बताए । उनका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उद्योगको लागत बढेर झन्डै ४७ करोड पुगेको छ । उनले उद्योगले दैनिक ५० हजार लिटरभन्दा बढी दूध खपत गर्ने र पाँच मेट्रिकटन धुलो दूध उत्पान गर्ने जानकारी दिए । उद्योग सञ्चालन हुँदा बागमती प्रदेशसहित मधेश प्रदेश, गण्डकी र कोशी प्रदेशका केही जिल्लाका गरी झन्डै २५ हजार किसान लाभान्वित हुने उपाध्यक्ष सापकोटाको दाबी छ ।

ad
ad