मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
२०८० मङ्सिर ३ आइतबार १०:४४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जुम्लाको गिडीदह पुग्ने पदमार्ग निर्माण

Read Time : > 1 मिनेट
२०८० मङ्सिर ३ आइतबार १०:४४:००

जुम्लाको सबैभन्दा ठूलो गिडीदह (ताल) पुग्न पदमार्ग निर्माण गरिएको छ । तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडीताल समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा छ । पहाडै–पहाडको खोँचमा रहेको ताल जंगलले ढाकिएको छ भने मानवबस्तीदेखि निकै टाढा पाटन क्षेत्रमा ६ महिना हिउँ जम्ने गर्छ ।

गुमनाम यो तालमा गत वर्ष असोजमा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको नेतृत्वमा पहिलोपटक स्थानीय सरकारको टोली पुगेको थियो । भविष्यमा धेरै पर्यटक भित्र्याउने लक्ष्यसहित पदमार्गलगायत पर्यटन प्रवर्द्धनको काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाले बताए । ‘दह–किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर पदमार्ग निर्माण गरिएपछि सहज भएको छ ।

‘गाउँपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर पदमार्गको काम गरेका छन्,’ उनले थपे, ‘१० दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो । अब आन्तरिक र बाह्य पर्यटक गिडीदह पुग्न कुनै समस्या छैन ।’

स्थानीय युवा कौरव पाण्डेको नेतृत्वमा गिडीदहमा धर्मशालादेखि पाटनसम्म पर्यटन पदमार्ग निर्माण गरिएको हो । पालिकाले आन्तरिक स्रोतबाट सात लाख २५ हजार रकम पदमार्ग निर्माणका लागि विनियोजन गरेको थियो ।

तातोपानी–४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहको अवस्था अध्ययन गरेर गएको छ । टोलीले तालमै र्‍याफ्टिङ गरेको थियो । लम्बाइ, चौडाइ र उचाइ नाप्ने कामसमेत सकिएको छ । टोलीले गिडीदहमा पाइने जीवदेखि तालवरिपरि भेटिएका हरेक वस्तुको अध्ययन गरेको जनाइएको छ ।  

‘तालमा नयाँ प्रजातिको जीव भेटिएकाले ल्याब टेस्ट गर्न देशबाहिर पठाइएको छ । त्यसैले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेको छ,’ वडाध्यक्ष रोकायाले भने । पदमार्गको बीचमा आवासदेखि खानपानको व्यवस्था गर्नसमेत पहल भइरहेको उनले बताए । ताल निकै नीलो र गहिरो छ । भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले विसं ०३०/३१ सालतिर सो तालसम्म जाने प्रयास गरेका थिए ।

तर, पदमार्गसमेत नहुँदा उनी पुग्न सकेनन् । करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ ।

त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ । तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामकरण भएको ठानिन्छ । जो गिडी खोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ, त्यो तालबाट बगेर आएको पानी किसानका खेतसम्म पुग्छ । गिडी तालआसपास बजेडी, लसुनवारी, ठाकुरज्यू, विष्टज्यू, नाना हांक, ठूला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौडलगायतका दुई दर्जन पाटन छन् । यो तालको छेउछाउमा ठाकुरज्यू दह, विष्टज्यू दह, नदै दह, शंख, पाले दह, राक्षस दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दहजस्ता दर्जनौँ अन्य स–साना दहसमेत छन् । 

गिडीदहआसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पक्षी पाइन्छन् । कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पक्षीसमेत यसै क्षेत्रमा पाइन्छन् । यार्चागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, शिलाजितजस्ता सयौँ प्रकारका जडीबुटी पनि पाइन्छन् ।