
नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठपर्व सुरु भएको छ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने छठपर्वको हेटौँडामा पनि सुरु भएको हो।
पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। पछिल्लो समय हेटौँडामा पनि विशेष महत्वका साथ मनाउन थालिएको छठपर्वको तयारी अन्तिम चरणमा पुगेको छठपूजा व्यवस्थापन समितिका सचिव नन्दलाल दास सिनोरियाले जानकारी दिए।
हेटौँडामा छठपूजाका लागि राप्ती नदीतटमा छठघाट निर्माण गरिएको छ। छठपूजालाई भव्य रूपमा मनाउन हेटौँडा– १ राप्तीतटमा ६ सय फिट लामो पण्डाल बनाइएको छ। सूर्यको उपासना गरी मनाइने छठपर्व शुक्रबारबाट सुरु हुँदै छ।
छठपूजा व्यवस्थापनका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्तालगायतको उपस्थितिमा छलफलसमेत गरिएको छ।
छठघाटस्थल राप्तीतटमा भएको छलफलले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि छठपूजालाई व्यवस्थित र सबै नगरवासीको सहभागितामा सम्पन्न गर्ने गरी वातावरण तयार गर्ने निर्णय भएको मधेशी सेवा समाज नेपाल मकवानपुरका कार्यवाहक अध्यक्ष एवं छठपूजा व्यवस्थापन समितिका संयोजक रवि रञ्जन गुप्ताले जानकारी दिए।
छठपर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको जोहो पनि गर्न सुरु गरिसकेका छन्। छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँस र माटोबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ।
यस वर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छ। छठको पहिलो दिन व्रतालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन्।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलाे र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ। यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्।
अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ। पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाउने प्रचलन छ।