१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु

नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३२:oo

नवजात शिशुको मृत्युदर घटाउने सरकारी लक्ष्यमा चुनौती देखिएको छ । एक वर्षमा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको छ । 

घटना १ : सिँजा गाउँपालिका– ६ रुगागाउँकी १७ वर्षीया संगीता रोकाया र १८ वर्षीय जंगे रोकायाले जन्माएको नवजात शिशुको गत वर्ष जेठ महिनामा मृत्यु भयो । नौ महिना नपुग्दै सात महिनामा शनीगाउँ स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा शिशु जन्मिएको थियो । संगीताले ग्रामीण भेगको बर्थिङ सेन्टरमा बच्चा जन्माइन् । बच्चाले दूध चुस्न नसकेपछि तत्कालै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज रमेश रावलले बताए । महिना नपुग्दै बच्चा जन्मेकाले एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखेपछि सुविधासम्पन्न अस्पताल रिफर गरेकाे थियाे । ‘प्रजनन क्षमता परिपक्व नभएका आमाबाट महिना नपुग्दै बच्चा जन्मियो,’ शनीगाउँ स्वास्थ्य चौकीकी अनमी पुनम रोकायाले भनिन्, ‘सानो पाठेघर भएकाले महिना नपुग्दै कमजोर बच्चा जन्मियो । जन्मिएको बच्चाले दूध चुस्न नसकेपछि रेफर गरे पनि अभिभावकले भोलि सदरमुकाम खलंगाको अस्पतालमा लैजाने भन्दै घर लिएर गए । सदरमुकाम खलंगाको अस्पतालमा लैजान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्सको पनि व्यवस्थापन गरेको थियो । तर, अभिभावकले भोलि लैजाउँला भन्दै घरमै लगे । जन्मेको २४ घन्टामै बच्चाको मृत्यु भयो ।’ 

घटना २ : कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १९ वर्षीया आइसा उपाध्यायले आठ महिनामै बच्चा जन्माइन् । हाँडसिँजा स्वास्थ्य चौकीको प्रसूतिगृहमा उनले नवजात शिशुलाई जन्म दिएकी थिइन् । स्वास्थ्य चौकीकी अनमी प्रिया आचार्यका अनुसार जन्मिँदै बच्चा कमजोर थियो । सानै उमेरमा बच्चा जन्मिएको र गर्भावस्थामा आमालाई पोषणयुक्त खाना नपुगेका कारण महिना नपुग्दै कमजोर बच्चा जन्मिएको प्रिया बताउँछिन् । बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरिएको थियो । स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार उपचारकै क्रममा अस्पतालमा बच्चाको मृत्यु भयो ।

घटना ३ : तिला गाउँपालिका– ८ जुम्लाकोटकी २२ वर्षीया आइसरा रावतले जुम्लाकोट प्रसूतिगृहमा १४ माघ ०७९ राति बच्चा जन्माइन् । जन्मेको ११ घन्टापछि घरमै बच्चाको मृत्यु भयो । ‘बच्चा नर्मल नै जन्मेको हो,’ स्थानीय स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले भने, ‘बच्चा जन्मेपछि टाउकोमा फोका निस्केको, नाकबाट रगत बगेको, छिटोछिटो श्वास फेर्ने र दूध चुस्न सकिरहेको थिएन ।’ त्यसपछि बच्चालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रिफर गरियो । तर, अभिभावकले शिशुलाई अस्पताल नलगेपछि बच्चाको घरमै मृत्यु भएको इन्चार्ज जिसीले बताए । ‘त्यतिवेला हिउँद महिनामा हिउँ परिरहेको थियो,’ जिसीले भने, ‘धेरै टाढा दुर्गमबाट अस्पताल जान अनुकूल वातावरण पनि थिएन । अभिभावकले बच्चालाई अस्पताल लैजान सकेनन् र घरमै मृत्यु भयो ।’ 

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा सुविधासम्पन्न प्रसूतिगृह नहुनु, अशिक्षित र अटेरी अभिभावकका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको तथ्यांकहरूले देखाउँछ । 

आर्थिक वर्ष ०७९/८० मा जुम्लामा मात्रै २९ जना नवजात शिशुको मृत्यु भएको तथ्यांकले देखाउँछ । जन्मेदेखि सात दिनभित्र २३ जना र जन्मेको आठदेखि २८ दिनभित्र पाँचजना नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा छ । यस्तै, जन्मेको सात दिनभित्र एकजना नवजात शिशुको स्वास्थ्य संस्थाबाहिर घरमा मृत्यु भएको तथ्यांक रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए । 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार ०७९/८० को तथ्यांकअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ को तथ्यांकले पनि नवजात शिशुको मृत्युदर २१ नै देखाएको थियो ।

‘सबैभन्दा बढी बालबालिकाको मृत्यु एक महिनाभित्र नै भइसक्छ । त्यसभित्र पनि ४८ घन्टाभित्र झन्डै ८५ प्रतिशतको हाराहारीमा मृत्यु हुने देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ । नवजात शिशुको कुल मृत्युको ३१ प्रतिशत मृत्यु श्वासप्रश्वास र मुटुसम्बन्धीको रोगबाट हुन्छ । त्यसैगरी, गर्भ तथा प्रसूतिको जोखिमका कारण ३५ प्रतिशत र बाँकी संक्रमण, जन्मजात समस्या, अकस्मात् मृत्यु, शीतांग हुनुलगायत कारणले मृत्यु हुने गरेको पाइएको छ । 

नवजात शिशुको मृत्युको कारण बन्दै आएका प्रमुख रोगहरूमा निमोनिया, झाडापखाला, दादुरा, कुपोषणलगायत रोग हुन् । दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारको नीति छ । सोहीअनुरूप सरकारले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकताभित्र राखेर वर्षौँदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तैपनि नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन ।
 

ad
ad