
देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पैसा फिर्ता नपाएका निक्षेपकर्तालाई उजुरीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आह्वान गरेको छ। ब्युरोले सो सहकारीका सञ्चालकहरू पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सिआइबीले सोमबार सूचना जारी गरी उजुरी गर्न भनेको हो। सिआइबीको सूचनामा भनिएको छ, ‘देउराली बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्लाभित्रका सहकारीका सेवा केन्द्रहरूका निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरूले जाहेरी दरखास्त पेस गरेकामा उल्लेखित कसुरउपर मुद्दा दर्ता गरी यस ब्युरोबाट अनुसन्धान कार्य भइरहेकाले काठमाडौं र भक्तपुर जिल्लाभित्रका सेवा केन्द्रहरूमा निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरूउपर प्रमाणसहित यस ब्युरोमा यथाशीघ्र रितपूर्वकको जाहेरी दिनुहुन सूचित गरिएको छ।’
सिआइबीले सो संस्थाका अध्यक्ष काभ्रेको चौँरी देउराली स्थायी घर भएका रवीन्द्र चौलागाईंलाई सिआइबीले गत १६ असोजमा पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीका साथै सांगठिक अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। सिआइबीले गत साता संस्थाका थप दुईजनालाई पनि पक्राउ गरेको छ।
व्यवस्थापक दीपक केसी तथा कर्जा समिति संयोजक राजेन्द्र खत्रीलाई पक्राउ गरेको हो। खत्री चौलागाईंकै आफन्त हुन्। सञ्चालक समिति र कर्मचारीलाई प्रभावमा पारेर चौलागाईंले सहकारीमा संगठित रूपमा ठगी गरेको आधारमा सिआइबीले संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो।
संगठित अपराधमा अभियुक्तलाई प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ। सो ठगीमा धेरैजनाको मिलेमतो रहेको प्रहरी अधिकारी बताउँछन्।
ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाडौंको न्युरोड र भक्तपुरको सूर्यविनायकमा शाखा कार्यालय छन्। जहाँ कम्तीमा २० हजारभन्दा धेरै सर्वसाधारणको करिब दुई अर्ब फसेको र पीडितहरूबाट जाहेरी आउने क्रममा जारी रहेको सिआइबीले जनाएको छ।
देउराली सहकारीमा समस्या सुरु भएको दुई वर्ष भइसकेको छ। सहकारीका अध्यक्ष चौलागाईंविरुद्ध गत वर्षदेखि नै ललितपुर प्रहरीमा उजुरी परे पनि प्रहरीले सकेसम्म मिलाउने प्रयास गर्यो। चौलागाईंले ठूला निक्षेपकर्तालाई आफ्नो कम्पनीमा रहेको जग्गा दिने आश्वासनमा फकाउँदै आएका थिए। तर, लामो समयसम्म पनि समस्या समाधान नभएपछि बागमती प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयले कारबाहीका लागि सिआइबीलाई पत्राचार गरेको थियो।
फरार रहँदै आएका चौलागाईंलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो। लेखापरीक्षणविना नै चौलागाईंले लामो समय संस्था चलाउँदै आएका थिए। सर्वसाधारणको निक्षेप उनले घरजग्गाको व्यापारमा लगाएका थिए। घरजग्गा व्यापार खस्किएसँगै सहकारीले सर्वसाधारणको पैसा फिर्ता दिन नसकेको हो।
संस्थाको पैसामा खरिद गरेको जग्गा उनले बैंकमा समेत धितो राखी कर्जा निकालेका थिए। जसकारण केही बैंकहरूसमेत उनको कर्जाका कारण समस्यामा पर्ने अवस्था देखिएको छ। संस्थाका सञ्चालकहरूको सम्पत्ति प्रहरीले रोक्का राखिसकेको छ।