
काठमाडौंमा हुने सम्मेलनमा स्वदेशी–विदेशी दुई सयभन्दा बढीको सहभागिता
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७औँ सम्मेलन सोमबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ । परिसंघ, एसिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ–संघहरूको छाता संस्था हो । ‘चेम्बर्स अफ कमर्स हेल्पिङ बिजनेस गेट सेट फर द फ्युचर’ मुख्य थिम रहेको सम्मेलन २० र २१ कात्तिकमा हुँदै छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने सम्मेलन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले होटेल हायातमा उद्घाटन गर्ने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मुख्य वक्ता रहेका छन् भने अर्थमन्त्री डा. प्रकाशरण महत, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासघका पूर्वअध्यक्ष एवं क्यासीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम र महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्बोधन गर्नेछन् । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यावसायिक नेताहरू र नेपालका उद्यमी व्यवसायीहरू, सरकारी प्रतिनिधिसमेत गरी दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।
सम्मेलनबाट नेपालमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार–व्यवसाय सञ्जाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महŒवपूर्ण विषयमा दुुई दिनसम्म एसिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधि र नीति–निर्माताले विचार विमर्श गर्नेछन् । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै कात्तिक २१ गते समापन गरिनेछ ।