मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Thursday, 19 December, 2024
नेपालगन्जको भेरी अस्पतालमा घाइतेको उपचार हुँदै । तस्बिर : रासस
शिवहरि घिमिरे काठमाडाैं
२o८o कार्तिक १९ आइतबार o६:१३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

केन्द्रबाट १८ विशेषज्ञसहित ४१ स्वास्थ्यकर्मी प्रभावित जिल्लामा

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o६:१३:oo

भूकम्पमा घाइते भएकाको उपचारका लागि डेडिकेटेड स्वास्थ्य जनशक्ति परिचालन गरी प्रभावित जिल्लामा उपचार व्यवस्था सहज पारिएको छ । प्रादेशिक र जिल्ला अस्पतालको जनशक्ति अभाव हुने भएपछि १८ विशेषज्ञ डाक्टरसहित ४१ स्वास्थ्यकर्मीको टोली शनिबार प्रभावित जिल्लामा पठाइएको हो ।

वीर अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको टोली रुकुमको चौरजहारीस्थित जिल्ला अस्पताल र जाजरकोट जिल्ला अस्पताल पुगेको छ । यो टोली घाइतेको अवस्थाअनुसार सबैखाले उपचारमा खटिएको छ । नेपाली सेनाले ६ विशेषज्ञ, वीर अस्पतालबाट तीन विशेषज्ञसहित एमबिबिएस चिकित्सक, सशस्त्र प्रहरी अस्पतालबाट चार विशेषज्ञ, नेपाल प्रहरी अस्पतालबाट पाँच विशेषज्ञ डाक्टरसहितको टोली परिचालन भएको छ भने अन्य एमबिबिएस, ल्याब टेक्निसियन र नर्सिङ स्टाफ पठाइएको छ ।

जटिल अप्रेसन पनि जिल्ला अस्पतालमै गर्ने वातावरण मिलाएका छौँ : डा. प्रकाश बुढाथोकी प्रवक्ता, स्वास्थ्य मन्त्रालय

ट्रमा, छाती, टाउको, सर्जरी गर्नुपर्ने बिरामीको अप्रेसनका लागि विशेषज्ञ डाक्टर र नर्सिङ स्टाफसहितको टोली पठाइएको छ । जसलाई जस्तो उपचार आवश्यकता छ त्यसैअनुसार उपचार गरिन्छ, जिल्ला अस्पतालमै जटिल अप्रेसन पनि गर्ने वातावरण मिलाएका छौँ ।

यसबाहेक नेपाली सेनाले उपत्यकाबाहिर रहेका आफ्ना अस्पतालबाट पनि जनशक्ति परिचालन गरेको छ । जसमा सुर्खेतबाट चारजना र नेपालगन्जबाट ६ जना विशेषज्ञसहितको स्वास्थ्य जनशक्ति टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ । उनीहरूसँगै उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसमेत प्रभावित जिल्लामा पुर्‍याइएको छ । पाँच सय केजीभन्दा बढी स्वास्थ्य उपचार सामग्री पठाइएको छ ।

त्यस्तै, भैपरी हुन सक्ने क्षति तथा आवश्यकतालाई मध्यनजर गर्दै भेरी अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतमा सयभन्दा बढी विशेषज्ञ डाक्टर जनशक्ति ‘ब्याकअप’ राखिएको छ । हाल भेरी अस्पताल र सुर्खेत अस्पतालमा गरी ९०–९० विशेषज्ञ चिकित्सक छन् । त्यसमध्ये आधा विशेषज्ञ टोली पनि दुई जिल्लामा परिचालन भइरहेका छन् । एमबिबिएस तथा नर्सिङ टिम जिल्ला तथा प्रादेशिक अस्पतालमै पर्याप्त हुने भएकाले कम संख्यामा केन्द्रबाट परिचालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित जिल्लातर्फ लागेका थिए । त्यस्तै, नेपाली सेनाको हेलिकोप्टर र नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमार्फत गएको स्वास्थ्यकर्मीको टोलीले जिल्ला अस्पतालबाटै उपचार सुरु गरेको छ । सरकारले ट्रमा तथा चोकपटकसम्बन्धी सबैखाले उपचारका लागि चाहिने सबैखाले मेडिकल उपकरण पनि पठाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार विशेषज्ञ डाक्टरको टोली रुकुम र जाजरकोट अस्पतालमा खटिएका छन् । कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई पनि प्रभावित जिल्लामा बोलाइएको छ । 

सबैखाले विशेषज्ञ डाक्टरको टोली प्रभावित क्षेत्रमा पुगेकाले बाँकी घाइतेलाई उपचारका लागि काठमाडौं ल्याउन नपर्ने डा. बुढाथोकीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा उपचार सम्भव भएन भने मात्रै संघीय अस्पतालमा ल्याइनेछ । तर, संघीय अस्पतालका विशेषज्ञ डाक्टरको टोली परिचालित भएकाले सम्बन्धित क्षेत्रमा उपचार सम्भव देखिने मन्त्रालयको दाबी छ । ‘हामीले ट्रमा, छाती, टाउको, सर्जरी गर्नुपर्ने बिरामीको अप्रेसनका लागि विशेषज्ञ डाक्टर र नर्सिङ स्टाफसहितको टोली पठाइएको छ,’ उनले भने, ‘जसलाई जस्तो प्रकारको उपचार आवश्यकता छ, त्यसैअनुसार उपचार गरिन्छ, जिल्ला अस्पतालमै जटिल अप्रेसन पनि गर्ने वातावरण हामीले मिलाएका छौँ ।’ उनले जिल्ला अस्पतालहरूले उपचार गर्न नसक्ने अवस्था भए पनि काठमाडौंबाट विशेषज्ञ डाक्टरसहितको टोली पठाइएको बताए । 

जिल्ला र प्रादेशिक अस्पतालमा १६८ घाइतेको उपचार हुँदै, अन्य आठजनालाई काठमाडौं ल्याइयो 
हाल नेपालगन्जस्थित भेरी अस्पतालमा ३०, प्रादेशिक अस्पताल सुर्खेतमा ३०, जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा १३, चौरजहारी अस्पतालमा ४१ र जिल्ला अस्पताल जाजरकोटमा ५४ घाइतेको उपचार भइरहेको छ । यीमध्ये १५ जति गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।

त्यस्तै, आठ घाइतेलाई काठमाडौं ल्याइएको छ । स्वास्थ्यकर्मीसहित राहत सामग्री बोकेर गएको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा उनीहरूलाई ल्याइएको हो । उनीहरूको त्रिवि शिक्षा अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

‘हामीकहाँ आउनुभएका घाइते सबैजसो खतरामुक्त हुनुहुन्छ, दुईजनालाई अलि बढी उच्च निगरानीमा राखेर उपचार गरेका छौँ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने, ‘उपचारमा समस्या छैन ।’ उनीहरूलाई पनि जिल्लामै उपचार गर्ने भनिए पनि समन्वय नभएकाले काठमाडौं ल्याइएको उनले बताए । 

भूकम्प प्रभावित क्षेत्रमा जाने आफन्तलाई काठमाडौं र पोखराबाट निःशुल्क बस सेवा 
भूकम्प प्रभावित जिल्लामा आफन्त भेट्न तथा उपचार गराउन जानेलाई काठमाडौं र पोखराबाट निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि काठमाडौं र पोखरा बसपार्कबाट आइतबार बिहान ८:०० बजे दुई बस छुट्नेछन् । ती बसमा घाइतेका आफन्तसँगै स्वास्थ्यकर्मी, उद्धारकर्ता तथा राहत लिएर जानेलाई चढाइनेछ । पहिलो चरणमा दुवै ठाउँबाट एक–एक बस सञ्चालन गर्ने पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताए । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रभावित क्षेत्रमा बस सेवा सहज बनाउन आह्वान गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भूकम्प प्रभावित जिल्लामा यातायात सेवा सहज बनाइने बताउँदै केही बसले आइतबारदेखि नै निःशुल्क सेवा दिने बताए ।