१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format ११:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

द्रुत बसको सेवा खुम्चियो, १० बस मात्रै सञ्चालनमा 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

डेढ महिनाअघि २५ वटा बसबाट शुभारम्भ भएको द्रुत बसको सेवा खुम्चिएको छ । १५ वटा बस बाहिरिएसँगै अब १० वटा बसले मात्रै सर्वसाधारणलाई द्रुत सेवा दिने भएका हुन् ।

सरकारले ३ असोज (संविधान दिवस)देखि भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सुरु गरेको थियो । पर्याप्त सडक पूर्वाधार नभएको र सरकारले सहजीकरण नगरिदिएको भन्दै १५ वटा बस बाहिरिएका हुन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने १५ नबाहिरिएको बताए ।

ती बस दसैँमा घर गएकालाई काठमाडौं फर्काउनमा प्रयोग भइरहेको उनले जानकारी दिए । उनका अनुसार द्रुत बसलाई व्यवस्थित गर्न डेडिकेटेड लेनमा तोकिएको समयमा डोरी बाँध्ने, ट्राफिक व्यवस्था सहज पार्नेलगायत तयारी भइरहेको छ । उनले दुई–तीन दिनभित्रमा २५ वटै द्रुत बस तोकिएको रुटमा सञ्चालन हुने बताए ।

‘द्रुत बस सेवाअन्तर्गतका बस बाहिरिएका छैनन् । तत्काल संख्या कम भएको मात्रै हो,’ उनले भने, ‘दसैँका वेला करिब १३ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए, उनीहरू फर्कने क्रम बढ्दो छ, त्यसैले बसहरू यात्रु ओसार्न लामो रुटमा चलेका छन्, कुनै–कुनै बस भाडामा पनि प्रयोग भएका छन् ।’

सुरुदेखि नै द्रुत बसको सेवा सुस्त
विनापूर्वतयारी सुरु गरिएको द्रुत बस ट्राफिक व्यवस्थापन सहज नहुँदा समयमै गन्तव्यमा समेत पुग्न सकेका थिएनन् । अन्य सवारीसाधनले बाटो छेकिदिँदा द्रुत बसले पाइला–पाइलामा सास्ती खेप्दै आएका थिए । सरकारले यी बसलाई ट्राफिक लाइट वा अन्य ट्राफिक नियम नलाग्ने बताए पनि त्यसअनुसार ट्राफिक सहजीकरण नभएको बस व्यवसायीको आरोप छ । यसअघि पनि सरकारले सुरु गरेको रात्रिकालीन बस सेवा यस्तै पूर्वाधार र संरचना निर्माण नहुँदा बन्द भएका थिए । 

द्रुत बस सेवा बन्द नगर्न यातायातविज्ञको सुझाव
यातायातविज्ञ आशिष गजुरेलले द्रुत बस सेवालाई बन्द गर्न नहुने बताउँदै यसमा सरकारको ध्यानाकर्षण गराए । ‘बन्द गर्नु समस्याको समाधान होइन, ठूला र आधुनिक सहरमा यस प्रकारको बस सेवा चाहिन्छ,’ उनले भने, ‘बरु, यातायात व्यवसायीका माग सम्बोधन गर्ने र पूर्वाधार व्यवस्थित बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।’

द्रुत बस सेवामार्फत ४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्ने दाबी गरिएको थियो । तर, अव्यवस्थित सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन कमजोरीका कारण पहिलो दिनबाहेक कुनै दिन ती बस समयमा पुगेनन् । सरकारले सहयोग नगरेको भन्दै यातायात व्यवसायीहरूले यस रुटमा बस चलाउन आनाकानी गर्दै आइरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्षबाट पूर्वाधार र ट्राफिक व्यवस्थापनमा पुग्दो सहयोग नगरेको बताए । ‘यस्तो बस सेवा सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गरिदिनुपर्छ, अन्य बसजस्तै भयो भने यस्तो बस सेवा सञ्चालन गर्नुको अर्थ छैन,’ उनले भने । 

सरकारले ३ असोजदेखि बिहान ९–११ र बेलुकी ४–६ बजेसम्म यस प्रकारको बस सेवा सञ्चालन गरेको थियो । तर, यो समयमा अत्यन्तै सवारी चाप हुने र यस प्रकारको बसले गर्दा थप ट्राफिक जाम बढ्ने भन्दै आलोचना हुँदै आएको छ । कतिपयले यस प्रकारको बस सेवा दिनभर पनि सञ्चालन हुन आवश्यक रहेको धारणा राख्दै आएका छन् ।