Skip This
डेढ महिना अगावै कञ्चनपुरमा धान खरिद सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Monday, 12 May, 2025
कञ्चनपुरको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्दै । तस्बिर : माेहन विष्ट/नयाँ पत्रिका 
मोहन विष्ट कञ्चनपुर
२o८o कार्तिक १६ बिहीबार १४:५२:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

डेढ महिना अगावै कञ्चनपुरमा धान खरिद सुरु

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार १४:५२:oo

सरकारले कञ्चनपुरमा धान खरिद सुरु गरेको छ। सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि कञ्चनपुरमा धान खरिद सुरु गरेको हो। यस वर्ष गत वर्षभन्दा डेढ महिना अगावैबाट धान खरिद सुरु गरेको छ। 

गत ०७९ मा २९ मंसिरदेखि धान खरिद गरेको थियो, भने यस वर्ष ०८० मा १५ कात्तिकदेखि नै धान खरिद सुरु गरेको छ। गत वर्षभन्दा यस वर्ष धानको समर्थन मूल्यसमेत वृद्धि भएको छ। प्रतिक्विन्टलमा दुई सय ३१ रुपैयाँ वृद्धि भएको छ। गत वर्ष दुई हजार नाै सय ६७ रुपैयाँ र यस वर्ष तीन हजार एक सय ९८ रुपैयाँमा खरिद भइरहेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख राजु मोक्तानले किसानले उत्पादन गरेको धान खरिद सुरु गरिएको बताए। पहिलो दिन १६ जना किसानले ल्याएको धान खरिद गरिएको बताए। कार्यालय प्रमुख मोक्तानले प्रतिकिसानको अधिकतम ३० क्विन्टल खरिद गरिने बताए।
 
यस वर्ष वास्तविक किसानको पहिचान र उत्पादिन धान खरिदका लागि सम्बन्धित वडाबाट सिफारिससहितका किसान पहिचान आवश्यक कागपत्र सहिद धान खरिद गर्न लागिएको बताए। ‘धान खरिदको सीमा निर्धारण केन्द्रीय कार्यालयबाटै भएको हो,’ उनले भने, ‘गत वर्षभन्दा यस वर्ष धान सफा र राम्रो छ।’ 

जिल्लाको दक्षिणी क्षेत्रका किसानको सुविधाका लागि बेलौरी पूर्वतिरका किसानको सुविधाका लागि झलारीमा अस्थायी प्रकृतिको धान खरिद डिपो राख्नका लागि केन्द्रसँग माग गरिएको बताए। 

‘किसानलाई धान बेच्न ढुवानीमा सहजताका लागि हामीले शाखा कार्यालय महेन्द्रनगरसहित दुई स्थान झलारी र बेलौरीमा समेत खरिद डिपोका लागि प्रस्ताव अघि सारेका छौँ,’ कार्यालय प्रमुख मोक्तानले भने, ‘माथिबाट स्वीकृत भएर आएपछि दुवै स्थानबाट धान खरिद गर्छौँ।’ किसानलाई बैंकमार्फत रकम भुक्तानी गरिनेछ। 

यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएको छ। गत वर्ष १४ हजार क्विन्टल लक्ष्य तोकिए पनि तीन हजार मात्रै खरिद गरेको थियो। गत विगतका वर्षहरूमा धान ढिलो गरी खरिद गरेपछि किसान मारमा परेका थिए, यस वर्ष डेढ महिनाअगाडि नै धान खरिद सुरु भएपछि किसान बिचौलियाबाट बाँच्ने अपेक्षा लिएका छन्। 

भीमदत्त नगरपालिका– १० सुकासालका युवा किसान उर्वादत्त जोशीले विगतका वर्षभन्दा यस वर्ष सरकारले किसानले उत्पादन गरेकाे धान समयमै खरिद गरेको बताए। 

‘धान खरिद गर्ने ठीक समयमै सरकारले हामी किसानको धान खरिद गरेको छ,’ उनले भने, ‘धान खरिद प्रक्रियामा वडाबाट सिफारिससहितको ढिलासुस्ती देखिएको छ।’ 

जोशीका अनुसार वडाबाट सिफारिस ल्याउँदा एक सय १० रुपैयाँ शुल्क तिनुपर्ने, काँटा एउटै भएकाले पालो कुर्नुपर्ने, गुणस्तर मापनका लागि वैज्ञानिक उपकरण यन्त्र नभएको बताए। जोशीले किसानले उत्पादन गरेको धान सीधै स्थानीय स्तरबाटै खरिद गर्नुपर्ने सुझाव दिएका छन्। 

भीमदत्त नगरपालिका- १२ ऐरीका किसान युवा डिल्लीराज पन्तले यस वर्ष सरकारले समयमै धान खरिद सुरु गरेपछि किसानलाई सुविधा भएको बताए। 
‘विगतका वर्षहरूमा ढिलो गरी धान खरिद गरेपछि किसानले उत्पादन लगत्तै गल्ला व्यवसायी एवं बिचौलियालाई सस्तोमै बेच्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यस वर्ष सरकारले समयमै धान खरिद गरेपछि हामी किसान बिचौलियाबाट र सस्तोमै धान बेच्नबाट जोगिएका छौँ, सरकारले खरिद गर्ने धानको मूल्यसमेत पाएका छौँ।’ 

भीमदत्त नगरपालिका– ७ हल्दुखालका स्थानीय किसान उत्तम बोहाेराले किसानले उत्पादन गरेका धान बेच्नका लागि वडाबाट सिफारिस माग्दासमेत शुल्क तिर्नुपर्ने बाध्यता राखेर किसानलाई मारमा पारेको बताए। 

‘धान बेच्ने सीमा पनि तोकिएको छ,’ उनले भने, ‘यसबाट बढी धान उत्पादन गर्ने किसान मारमा पर्छ।’ हल्दुखालकै अर्का किसान नारायण केसीले किसानलाई सुविधा दिनुको साटो स्थानीय सरकारले सिफारिसकै शुल्क तोकेर मारमा पार्ने काम गरेको बताए। 

किसानले स्थानीय सरकारले धान ढुवानीमा सुविधा ल्याउनुको साटो सिफारिसकै शुल्क लिइरहेको भन्दै किसानप्रति स्थानीय सरकार उत्तरदायी नभएको गुनासो पोखिरहेका छन्।