१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o८:o८:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

राष्ट्रसंघ महासचिवलाई भुटानी शरणार्थीको पीडादायी सन्देश- ‘मर्दा पनि छोराछोरीले अनुहार हेर्न नपाउने भए’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o८:oo

झापामा भुटानी शरणार्थी दलबहादुर कार्की (१०५) स्वदेश फर्कने अडान राखेर छोराछोरीसँग तेस्रो देश पुनर्वास भएनन् । चार छोरी र दुई छोरा अमेरिका तथा अस्ट्रेलिया पुनर्वास भएको वर्षौँ भइसक्यो । श्रीमतीको मृत्यु भएको १५ वर्ष भयो । उनी अहिले एकजना छोरीको शरणमा शरणार्थी शिविरमा जीवन बिताइरहेका छन् । एउटी छोरी र उनका भाइको परिवार भुटानमै छ । उनी अहिले पनि भुटान फर्कन पाइन्छ भन्ने आसमा शिविरमै बसेका छन् । भुटानी शरणार्थी समस्या समाधानका लागि हुने अधिकांश आन्दोलनमा उनी सहभागी हुन्छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएको सन्दर्भमा उनलाई भुटानी शरणार्थी समस्या समाधान गर्न अपिल गर्ने उद्देश्यले आयोजना गरिएको र्‍यालीमा पनि कार्की सहभागी थिए । उनले राष्ट्रसंघ र नेपाल सरकारसमक्ष स्वदेश फिर्तीको माग उठाइदिन आग्रह गरेका छन् । ‘जीवनको अन्तिम क्षणसम्म आइपुग्दा पनि भुटान जाने सपना त्यागेको छैन । छोराछोरीले विदेश लान खोजेका थिए । म स्वदेश फर्कन्छु भनी युएनएचसिआरमा भनेर आएँ । अहिले शिविरमै छु,’ उनले भने, ‘अहिले हामी मान्छेजस्तो भएर बाँच्न पाएका छैनौँ । छोराछोरी बाहिर छन् । उनीहरूको माया धेरै छ । तर, त्योभन्दा धेरै देशको माया छ । हामीलाई भुटान फर्काउन पहल गरियोस् ।’

भुटानी शरणार्थी अग्निप्रसाद आचार्य (७०) दुई वर्षयता प्यारालाइसिसले थलिएका छन् । उनका दुई छोरा र चार छोरी अमेरिका पुनर्वास भएका छन् । उनी स्वदेश फर्कने अडान राख्दाराख्दै नेपालमै छुटे । शिविरमा दुई छोरी र श्रीमतीको सहारामा बस्दै छन्, अग्निप्रसाद । अहिले हिँड्डुल गर्न नसक्ने भएपछि उनी छोराछोरीसँगै पुनर्वास जाने योजनामा छन् । तर, पुनर्वास प्रक्रिया नै बन्द भएपछि अहिले पारिवारिक विछोडको पीडामा छटपटिएका छन्, उनी । ‘पहिला युएनएचसिआरले रासन दिन्थ्यो । गरेर खान पनि सकिन्थ्यो । त्यो वेला आफ्नै देश भुटान जाने अडान राखियो । अहिले रासन दिन छाड्यो । संस्था(युएनएचसिआर)ले पनि टुहुरोजस्तै बनायो । आफू पनि ओछ्यानमा थलिएँ,’ उनले भने, ‘अब छोराछोरी भएकै ठाउँ जाऊँ कि भनेको के–के मिल्दैन । जान पाइनँ ।’

पारिवारिक विछोडको पीडामा रहेका अग्निप्रसादलाई आफ्नो मृत्यु हुँदा छोराछोरीले अनुहार पनि हेर्न पाउँदैनन् कि भन्ने चिन्ता छ । ‘परिवार छिन्नभिन्न भयो । कोही अमेरिका छन् । हामी यता छौँ । उनीहरू भनेको वेला आउन पनि पाउँदैनन् । अब त मर्दा पनि छोराछोरीले अनुहारसमेत हेर्न नपाउने भए भन्ने चिन्ता लाग्छ,’ उनले भने, ‘धेरैको त्यस्तो भएको छ । शिविरमा एक्लै बसेका वृद्धवृद्धा मर्दा छोराछोरी अनुहार हेर्न पनि आइपुग्दैनन् । उनीहरूको अन्तिम संस्कार गर्न पैसा पठाउँछन् । मरेपछि पैसाको के मतलब ?’

भुटानी शरणार्थी शिविरकी चन्द्रमायाका वृद्ध श्रीमान् बिरामी छन् । स्वदेश फर्कने श्रीमान्को अडानले पुनर्वास नगएकी चन्द्रमायालाई अहिले दैनिक छाक टार्न मुस्किल छ । ‘कमाउने श्रीमान् हिँड्न सक्दैनन् । विदेशमा रहेका शरणार्थीले सहयोग गरेकाले नै बाँचिरहेकी छु । अब के हालत होला भन्ने डर लागेको छ,’ उनले भनिन्, ‘कमाउने मान्छे नै नभएपछि भुटान जाने रहर त्याग्यौँ । फेरि पुनर्वास पठाए तेस्रो देश जाने थियौँ ।’

राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आएको सन्दर्भमा सोमबार भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाको अगुवाइमा शिविरमा र्‍यालीको आयोजना गरिएको थियो । सुब्बाले राष्ट्रसंघले भुटानी शरणार्थीको समस्यालाई बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरे । झापाको दमक र मोरङको पथरी शनिश्चरेमा रहेको शिविरमा अहिले पनि ६ हजारभन्दा धेरै शरणार्थी रहेको भन्दै उनले दमकस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)को कार्यालय बन्द गर्नु उपयुक्त नभएको बताए । 

‘भुटानी शरणार्थीको समस्या समाधान भएजस्तै युएनएचसिआरले रासन सहायता पनि दिन छाड्यो । दमकको कार्यालय नै बन्द गर्‍यो । तर, भुटानी शरणार्थी समस्या समाधान भएको छैन,’ उनले भने, ‘एकजना शरणार्थी रहेसम्म समस्या समाधान भएको मानिँदैन । युएनएचसिआरले एकजना शरणार्थी रहेसम्म पनि छाड्न मिल्दैन थियो । यसमा संयुक्त राष्ट्रसंघका महासचिवज्यूको ध्यानाकर्षण होस् ।’ अहिले पनि भुटानी शरणार्थी समस्या कायमै रहेकाले शरणार्थी समस्या समाधानमा पहल गरिदिन राष्ट्रसंघ महासचिवलाई शिविर सचिव सुब्बाको आग्रह छ । 

शिविरका सचिव सुब्बाले शिविरमा दर्ताविहीन शरणार्थीको पनि ठूलो समस्या रहेको बताए । ‘दर्ताविहीन शरणार्थीले त मान्छेको दर्जा पनि पाएका छैनन् । उनीहरूको समस्या विकराल छ । निष्पक्ष छानबिन गरी वास्तविक शरणार्थीलाई तत्काल दर्ता गर्न आग्रह गर्छु,’ उनले भने, ‘शिविरको युवासँग विवाह गरेर आउने महिलाको हकमा पनि परिचयपत्र बन्न सकेको छैन । हाम्रा शिविरका चेलीले बाहिर विवाह गरेर गएपछि अहिले विभिन्न कारणले छुट्दा पनि ती महिलाहरू शिविरमा दर्ता हुन सकेका छैनन् । जसले श्रीमान् छाडेका शरणार्थी महिला विचल्लीमा छन् । यसतर्फ पनि नेपाल सरकार र राष्ट्रसंघको ध्यान जाओस् ।’