Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७६ बैशाख १७ मंगलबार १०:५२:००
प्रदेश

कालिकोटको महावै गाउँपालिकाका  सबै कर्मचारी सरुवा

२०७६ बैशाख १७ मंगलबार १०:५२:००

समायोजनमा कर्मचारीले संघ र प्रदेश रोजेपछि कालिकोटको महावै गाउँपालिका कर्मचारीविहीन भएको छ । सरुवाको पत्र कुरेर बसिरहेका सहायक कम्प्युटर अपरेटरले कार्यालय प्रमुखको काम गरिरहेका छन् । महावैमा ३३ जना कर्मचारीको दरबन्दी छ । समायोजनमा परेर यहाँका कर्मचारी संघ र प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको त महावै नपुग्दै सरुवा भएको छ । ‘प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । उनी यहाँ नआउँदै बाटोमा नै सरुवा भयो,’ गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले भने । 

कर्मचारी समायोजनमा यहाँ आउन कसैले रोजेका छैनन् । नयाँ कर्मचारी नआएपछि सहायक कम्प्युटर अपरेटर लक्ष्मणबहादुर शाहीले नै सबै काम गरिरहेका छन् । ‘मेरो पनि संघमा सरुवा भइसकेको छ । सरुवाको पत्र नआउँदासम्म यहाँ छु,’ उनले भने । 

गाउँपालिकाले पनि सरुवाको पत्र कुरिरहेका सहायक कम्प्युटर अपरेटरलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । निमित्त प्रमुखको जिम्मेवारी दिइएको भए पनि आर्थिक अधिकार नदिँदा योजना तथा अन्य काम ठप्प भएको उनले बताए । ‘आर्थिक अधिकार नदिएको हुँदा उपभोक्ता समितिले काम गरेका योजना तथा अन्य योजनाका काम ठप्प छन्,’ शाहीले भने । 

महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले कर्मचारी अभावका विषयमा धेरै पटक मन्त्रालयलाई जानकारी दिएको बताए । तर, मन्त्रालयले वास्ता नगरेको उनको भनाइ छ । ‘कर्मचारी चाहियो भनेर कयौँपटक सिंहदरबार पुगे, केही सीप लागेन,’ अध्यक्ष सिंहले भने । नयाँ शैक्षिकसत्र सुरु भएको छ । कतिपय विद्यालयमा पठनपाठन हुन थालेको छ । तर, विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । लेखापाल नहुँदा गाउँपालिकाको आर्थिक कारोबार रोकिएकाले पाठ्यपुस्तक खरिद गर्न सकिएको छैन । 

आर्थिक अधिकार भएको कर्मचारी नहुँदा विद्यालयको खातामा पाठ्य पुस्तकको रकम हाल्न नसकिएको अध्यक्ष सिंहले बताए । आर्थिक कारोबार नहुँदा गाउँपालिकाले पनि पाठ्यपुस्तक खरिद गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । 

सबै काम अपरेटरकै भरमा
महावैका सबै काम सहायक कम्प्युटर अपरेटर लक्ष्मणबहादुर शाहीले नै गर्दै आएका छन् । ‘घटना दर्तादेखि सिफारिसलगायतका काम आफैँले गर्नुपरेको छ,’ उनले भने ।
त्यस्तै, गाउँपालिकामा आएका प्रधानमन्त्री रोजगार संयोजकसमेत अन्यन्त्र नाम निकालेर गएका छन् । त्यसको जिम्मेवारी पनि शाहीले नै गर्नुपरिरहेको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक १५ दिन मात्र गाउँमा बसे,’ उनले भने ।