
नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिस लगानी भित्र्याउने मुख्य उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन आयोजना गरिएको छ।
२१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धिको सय वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन आयोजना गरिएको बेलायतस्थित नेपाली राजदूतावास जनाएको छ।
विशेषगरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टसमेतको सहयोगमा लगानी सम्मेलन आयोजना गरिएको हो।
सिटी अफ लन्डनको मेनसिन हाउसमा अक्टोबर ३१ (कात्तिक १४ गते मंगलबार) हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी हुनेछन्।
नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधिमण्डलले नेपालको जलविद्युतलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ।
उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरू, सम्बन्धित सरकारी निकायहरू एवं संस्थागत वित्तीय स्राेतहरू उपलब्ध गराउने संस्थाहरूलाई समेत निमन्त्रणा गरिएको छ।