१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Sunday, 29 September, 2024
२o८o कार्तिक १३ सोमबार १o:२७:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसम परिवर्तनका वेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १o:२७:oo

मौसम परिवर्तनको समयमा धेरै मानिसमा ज्वरो, रुघाखोकी, दम, टाउको दुख्नेलगायतका समस्या देखिन्छन् । चिसोबाट बच्नका लागि सतर्कताका उपाय अवलम्बन गर्न जरुरी छ । मुटु, दम, प्रेसर, सुगर, थाइराइडलगायतका दीर्घरोगी, वृद्धवृद्धा, गर्भवती र बालबालिकाको रोगप्रतिरोधी क्षमता वयस्कहरूको दाँजोमा कमजोर हुन्छ । 

जाडो सुरु भएसँगै धेरैमा फ्लुको संक्रमण देखिने गरेको छ । यस संक्रमणका कारण टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायत हुन्छ । कतिपय अवस्थामा यसले निमोनियाजस्ता स्वास्थ्य जटिलता पनि निम्त्याउन सक्छ । त्यसैले ब्याक्टेरियल र भाइरल इन्फेक्सन छुट्याउनलाई अस्पताल जानुपर्छ । ब्याक्टेरियल इन्फेक्सन भएमा लक्षणअनुसार चेकजाँच गरेर औषधि सेवन गर्नुपर्ने हुन्छ । अहिले जाडो बढ्दै गएकाले धेरै मानिस फोक्सो र घाँटीमा हुने इन्फेक्सन, पिनास जस्ता समस्या लिएर आउने गर्छन् । 

सतर्कताका उपाय 

  • मास्क लगाउने, साबुनपानीले हात धुने, खोक्दा रुमाल प्रयोग गर्ने वा हातको बाहुलाले छोपेर खोक्ने गर्नुपर्छ । पिनासको समस्या हुनेहरू धुलोबाट बच्नुपर्छ । 
  • यस मौसममा बच्चालाई कोल्ड डायरिया हुने जोखिम पनि रहन्छ । जाडोयाममा झाडापखाला देखिनुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये दूषित पानीको प्रयोग मुख्य कारण हो । अर्को कारण रोटा भाइरस पनि हो । यसबाट बच्नका लागि बालबालिकालाई रोटा भाइरसको खोप लगाउनुपर्छ ।
  • जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ । बाइकमा हिँड्नेहरूको छातीमा सीधा असर गर्ने भएकाले चेस्टगार्ड लगाउन जरुरी हुन्छ । रातको समयमा बालबालिका र वृद्धवृद्धालाई न्यानो हुने गरी राख्नुपर्छ । 
  • आवश्यक काम नपरी बाहिर हिँडडुल गर्नुहुँदैन । त्यस्तै, हुस्सु लाग्ने र शीत पर्ने मौसममा बिहान सबेरै मर्निङ वाकमा जानु पनि राम्रो हुँदैन । बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा रगत पम्प गर्न गाह्रो हुन्छ । यसले मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ । त्यसैले हल्का घाम लागेर न्यानो भएपछि मात्रै मर्निङ वाकमा जानु उपयुक्त हुन्छ । 
  • जाडोमा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न शरीर तथा पैतालालाई न्यानो बनाइराख्नुपर्छ । 
  • वयस्कहरूमा प्रतिरोधी क्षमता बढी हुन्छ । त्यही कारण बुढाबुढी र बालबालिकालाई चाँडो समात्ने र फ्लु देखिने हुन्छ, जस्तै– ज्वरो आउने, रुघा लाग्ने, एलर्जी, कोल्ड कफ । 

के गर्ने, के नगर्ने ?

  • न्यानो कपडा लगाउनुपर्छ । धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ । यसले विभिन्न समस्या निम्त्याउन सक्छ । झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खानुपर्छ । डिप फ्रिजमा राखिएका मासु तथा अन्य खाद्यान्नको प्रयोग कम गर्नुपर्छ । फ्रेस खानेकुरा खानुपर्छ । दूषित पानीबाट झाडापखालालगायत संक्रमण फैलने भएकाले उमालेको वा स्वच्छ पानी मात्रै पिउनुपर्छ । 
  • निरन्तर ज्वरो आएमा, सास फेर्न गाह्रो भएमा अर्थात् अक्सिजन लेभल घटेमा तत्कालै बिरामीलाई अस्पताल लैजानुपर्छ । 
  • तातो तथा झोलिलो सुप खानुहोस् । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्दछ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ भने ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ । तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्दछ । शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खानुपर्छ । भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ । 
  • व्यायाममा जोड दिनुपर्छ । जसले गर्दा शरीर फुर्तिलो बनाउन सहयोग गर्छ । जाडो मौसम सुरु भएसँगै शरीर नुहाउने समय परिवर्तन गर्नुपर्छ । रातको समय नुहाउनु हुँदैन ।