
दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका वेला हमासको हमलामा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो। योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुईजनाको शव पहिचानको क्रममा रहेको छ।
इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ। डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका छन् भने अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन्। साथै, अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ। (रासस)