Skip This
नेविसंघ कञ्चनपुरमा विवाद : चटौतविरुद्ध पण्डितलाई पनि अध्यक्षकै जिम्मेवारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १२ आइतबार
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o कार्तिक १२ आइतबार १३:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघ कञ्चनपुरमा विवाद : चटौतविरुद्ध पण्डितलाई पनि अध्यक्षकै जिम्मेवारी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o कार्तिक १२ आइतबार १३:o१:oo

०५९ सालमा फुटेर ०६३ सालमा एकीकरण भए पनि नेपाली कांग्रेसभित्र अझै दुई धार स्पष्ट देखिन्छन्। त्यसको असर पार्टीको भ्रातृ संगठन नेविसंघमा पनि देखिन्छ। पार्टी जुटे पनि नेविसंघ कञ्चनपुर १७ वर्षदेखि जुट्न सकेको छैन। कहिले नेतृत्वविहीन त कहिले दुई–तीन अध्यक्ष हुने परम्पराले जिल्लामा नेविसंघ टुटफुट र गुटमै गुज्रिरहेको छ। जिल्ला नेतृत्वसहित पदाधिकारी विस्तारको विषयलाई लिएर संगठनमा पुनः विवाद उत्पन्न भएको छ।

नेविसंघ नेतृत्वविहीन रहेको कञ्चनपुरमा गत ०७९ माघ दोस्रो सातातिर केन्द्रीय समितिले रमेश चटौतलाई अध्यक्षको जिम्मेवारी दिएको थियो। नेतृत्वको जिम्मेवारी पाएका चटौतले ३ कात्तिक ०८० मा पदाधिकारीसहित ८५ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गरे। संस्थापन पक्षका चटौत नेतृत्वमा जिल्ला कार्यसमिति विस्तार भएपछि कोइराला पक्षका नेविसंघ नेता कार्यकर्ताहरूले नरेश पण्डितलाई अध्यक्षको जिम्मेवारी दिएका छन्। कोइराला पक्षका विद्यार्थी नेता, कार्यकर्ताहरूको १० कात्तिकमा पार्टी कार्यालयमै भएको भेलाले पण्डितलाई अध्यक्ष घोषणा गरेको हो।

नरेश पण्डित समूहका नेता–कार्यकर्ताहरूले रमेश चटौतलाई तीन महिनाका लागि अध्यक्ष बनाएर जिल्ला अधिवेशनको जिम्मेवारी दिए पनि उक्त जिम्मेवारी पूरा गर्न नसक्दा आफूहरूले जिल्ला भेला गरेर अध्यक्ष घोषणा गरेको बताएका छन्। भेलासँगै कोइराला पक्षका नेविसंघका आठ केन्द्रीय सदस्यले पण्डितलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

सो समूहले जारी गरेको विज्ञप्तिमा नेविसंघमा लागेका क्रियाशीललाई अलग्याएर व्यक्तिकेन्द्रित संगठन विस्तार गरेकाले अध्यक्षको जिम्मेवारी पण्डितलाई दिएको उल्लेख छ।

नेविसंघ समानान्तर समितिका अध्यक्ष पण्डितले गत वर्ष राजनीतिक सहमतिका आधारमा चटौतलाई अध्यक्षको जिम्मेवारी दिएको बताउँदै अहिले पदाधिकारी र सदस्य चयन प्रक्रियामा एकलौटी गरेकाले आफ्नो नेतृत्वमा संगठन विस्तार हुने बताए। ‘रमेश चटौत नेतृत्वको नेविसंघ तीन महिनाका लागि मात्रै थियो। त्यो पनि जिल्ला भेला गराउने उद्देश्यले गराएको थियो। तर, उहाँले एकलौटी रूपमा पदाधिकारी र सदस्य चयन गरेपछि यो अवस्था आएको हो,’ पण्डितले भने।

यता, केन्द्रीय समितिबाट कञ्चनपुर नेविसंघ अध्यक्षको जिम्मेवारी पाएका रमेश चटौतले नरेश पण्डित नेतृत्वमा घोषणा गरिएको कार्यसमिति पूर्ण अवैधानिक भएको बताएका छन्। उनले भने, ‘केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुरूप म अध्यक्ष हुँ। सोहीअनुरूप मेरै नेतृत्वमा स्ववियु निर्वाचन लडेर केहीमा जितेका छौँ। पार्टीका सबै पक्ष र नेविसंघसँग सल्लाह गरेरै पदाधिकारी सदस्य बनाइएको हो। यो त निहुँ खोज्ने र संगठन भाँड्ने काम मात्रै हो।’

नेताहरूले गुटगत राजनीति गर्दाको परिमाणस्वरूप नेविसंघ कञ्चनपुरमा किचलो भएको नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश दत्त भट्ट बताउँछन्। नेविसंघ विधानअनुरूप अधिवेशन र कहिलेकाहीँ राजनीतिक सहमतिबाट पनि नेतृत्व चयन गर्नुपर्ने भए पनि कञ्चनपुरमा दुवै विषय कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।

नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले नेविसंघभित्र देखिएको विवाद निरूपणका लागि पार्टीले आवश्यक पहल गर्ने बताए। ‘नेविसंघमा विवादै छैन, केही असन्तुष्ट, व्यक्तिवादी सोच भएका मानिसले यसमा भाँडभैलो गरिरहेका छन्,’ उनले भने, ‘अहिले नेविसंघ जिल्लामा उत्पन्न विवाद निरूपणका लागि पार्टीले आवश्यक कदम चाल्न तयार छ।’