
मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
बिहीबार दुम्सीडाँडाबाट हेटौँडातर्फ जाँदै गरेको ना.२ह ५१७४ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ३०–३५ फिट तल खस्दा अटोमा सवार सातजना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते भएकाहरूमध्ये मकवानपुरगढी गाउँपालिका- ७ सुकौराका २३ वर्षकी मनिता मोक्तान, उनकी छोरी दुई महिनाकी जानुका जिम्बाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए ।
यस्तै, घाइते भएका मकवानपुर गढी गाउँपालिका- ७ का २९ वर्षका कृष्णबहादुर योञ्जन, उनकी छोरी आठ वर्षकी सारोक्षा योञ्जन, २६ वर्षकी दिलमाया योञ्जन, २२ वर्षकी हिरामाया योञ्जन र २२ वर्षका विकाश योञ्जन मोक्तान हेटौँडा अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।