कहाँ कति क्षति ?
- बाढीपहिरोबाट निजी आवासतर्फ मात्र ३३ करोडको क्षति : दुई सय ४३ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त, ७२० घरमा आंशिक क्षति
- बाढीले १६ को ज्यान गयो, २१ बेपत्ता, सातजना घाइते
- पहिरो, भारी वर्षाले ५७ को मृत्यु : पहिरोका चार सय ५९ घटना हुँदा नौजना बेपत्ता, ५० घाइते त्यस्तै, भारी वर्षा (वर्षाका कारण घरलगायत संरचना भत्किँदा)मा १२ जना घाइते भए छन् ।
- १२३ ठाउँमा चट्याङ खस्यो, २९ को ज्यान गयो, ९९ घाइते
यो बर्खाका चार महिनामा बाढीपहिरो र चट्याङबाट ९२ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । वर्षा भने यसपटक औसतभन्दा कम भएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार पहिरोबाट ४५, चट्याङबाट २९, बाढीमा परी १६ र वर्षाका कारण भौतिक संरचना भत्किएर दुईजनाको ज्यान गएको छ । यस अवधिमा पहिरोका चार सय ५९, बाढीका एक सय ४२ र चट्याङका एक सय २३ गरी विपत्का आठ सय ९२ घटना रेकर्ड भएका छन् । गत वर्ष बाढीबाट १९, पहिरोबाट ९१, चट्याङबाट ६० र भारी वर्षा (वर्षासँगै भौतिक संरचना भत्किएर)बाट आठ गरी एक सय ७८ जनाको ज्यान गएको थियो । त्यसभन्दा अघिल्लो बर्खामा भने बाढीमा ४३, पहिरोमा ७९, चट्याङमा २७ र भारी वर्षामा परी १६ जनाले ज्यान गुमाएका थिए ।
ध्रुवबहादुर खड्का, प्रवक्ता राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
कम वर्षा हुन्छ भन्ने अनुमान थियो, वर्षा पनि कम भयो । तर, कहीँ धेरै र कहीँ कम वर्षा हुने प्रवृत्तिले पनि पहिरोबाट ज्यान गुमाउनेको संख्या घट्न सकेको छैन ।
प्राधिकरणका प्रवक्ता खड्काले यस वर्ष बर्खामा बाढीका घटना घटे पनि पहिरो र चट्याङमा भने तुलनात्मक रूपमा कमी आउन नसकेको बताए । ‘कम वर्षा हुन्छ भन्ने अनुमान थियो, वर्षा पनि कम भयो,’ उनले भने, ‘तर, कहीँ धेरै र कहीँ कम वर्षा हुने प्रवृत्तिले पनि पहिरोबाट ज्यान गुमाउनेको संख्या घट्न सकेको छैन ।’
यसपटक बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर र मुस्ताङ हुन् । मुस्ताङबाहेकका तीन जिल्लामा मात्र १४ जनाको मृत्यु भएको छ भने २८ बेपत्ता छन् । यी जिल्लामा ७० घर, ४३ पुल, २९ जलविद्युत् आयोजना र दुईवटा सरकारी भवन ध्वस्त भएका छन् । त्यस्तै, कागखोलाको बाढीले मुस्ताङको कागबेनी बजार बगर बन्दा ३१ घर पूर्ण र १६ घरमा आंशिक क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक मनसुनमा एक हजार तीन सय तीन मिलिमिटर अर्थात् औसत वर्षाको ८८.५ प्रतिशत मात्र पानी परेको छ ।
११ अर्बको भौतिक क्षति, सबैभन्दा बढी जलविद्युत्मा नौ अर्ब
यो बर्खामा भौतिक पूर्वाधार र निजी आवासतर्फ ११ अर्ब चार करोड ५० लाखको क्षति भएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी जलविद्युत् क्षेत्रमा नौ अर्बको क्षति भएको छ । सञ्चालनमा आइसकेका १३ जलविद्युत् आयोजना, निर्माणाधीन १७ जलविद्युत् र २७ वटा लघु जलविद्युत् गरी ५७ जलविद्युत्मा क्षति भएको हो । असार पहिलो साता पूर्वी नेपालमा आएको बाढीपहिरोले जलविद्युत्सहित भौतिक पूर्वाधारमा बढी क्षति गरेको छ । प्राधिकरणले भौतिक क्षतिको विवरण विषयगत मन्त्रालय र सम्बन्धित निजी संस्थाबाट लिएको हो ।
त्यस्तै, बर्खामा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा एक अर्ब २० करोड र २७ झोलुङे पुलमा १२ करोडको क्षति भएको छ । सडक, करिडोर र राजमार्गमा मात्र २९ करोडको क्षति भएको छ । खानेपानी संरचनामा आठ करोडको क्षति अनुमान गरिएको छ भने सिँचाइ आयोजनालगायत क्षेत्रमा तीन करोड ५० लाखको हानि भएको छ । बाढीपहिरो, चट्याङमा परी तीन सय २१ पशुचौपाया मरेका छन् भने एक हजार दुई सय ३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । तर, यो हानिलाई रुपैयाँमा केलाइएको छैन ।
त्यस्तै, बाढीपहिरोबाट निजी आवासतर्फ मात्र ३३ करोडको क्षति भएको छ । दुई सय ४३ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा सात सय २० घरमा आंशिक क्षति भएको तथ्यांक छ । यसपटक औसत मितिभन्दा एक दिन ढिलो ३१ जेठमा मनसुन भित्रिएको थियो । मनसुन देशभर फैलिएर सक्रिय हुन नौ दिन लागेको थियो । मध्य र पश्चिम तराई खडेरीमा रहँदा ताप्लेजुङ, पाँचथर र तेह्रथुममा बाढीपहिरोले वितण्डा मच्चाइसकेको थियो । तीन वर्षयताकै कम वर्षा (एक हजार तीन सय तीन मिलिमिटर) भएकामा मनसुन १३ दिन ढिलोगरी बाहिरिएको थियो ।
सबैभन्दा बढी मानवीय क्षति लुम्बिनी प्रदेशमा
यस वर्षको बर्खामा बाढीपहिरो र चट्याङबाट लुम्बिनी प्रदेशमा मात्र २० जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कोशी प्रदेशमा १९, बागमतीमा १८, गण्डकीमा १४, कर्णालीमा ११, सुदूरपश्चिममा ६ र मधेसमा चारजनाले ज्यान गुमाएका छन् । मानवीय क्षतिका हिसाबले लुम्बिनी बढी प्रभावित रहे पनि समग्रमा कोशी प्रदेश विपत्बाट प्रभावित भएको छ । कोशीमा बाढीपहिरो र चट्याङका दुई सय ४० घटना भएकामा २५ जना बेपत्ता छन् । त्यस्तै, बागमतीमा तीन र कर्णालीमा एकजना बाढीपहिरोमा परी बेपत्ता भएका छन् ।